किमले स्वीकारे ट्रम्पको भ्रमण निम्तो

३० जेठ २०७५

banner

बीबीसी । उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-उनले स्वीकार गरेको जनाएको छ।

सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए। किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ।

वाशिङटनस्थित हाम्रा संवाददाता भन्छन्, भ्रमणको निम्तोका समर्थकहरूको विश्वास छ, यो दुई देशबीचको सम्बन्ध थप विकसित गर्ने अवसर हो।

तर केही आलोचकहरूको चिन्ता छ, त्यो उत्तर कोरियाली नेताका लागि प्रचारबाजीको अर्को मौका हुनेछ। दुवै नेताले प्रशन्नतापूर्वक एक अर्काको निम्तो स्वीकारेको केसीएनएले जनाएको छ।

शिखर बैठकपछि पहिलो पटक प्रकाशित किमको प्रतिक्रियाको एक अर्कालाई उत्तेजित बनाउने र शत्रुतापूर्ण देखिने किसिमका सैन्य गतिविधि तत्कालै रोकिनुपर्ने बताएका छन्।

उनले दुवै देशले वैमनस्य उत्पन्न नगराउने प्रतिबद्धता जनाउनुपर्ने र त्यसलाई सुनिश्चित गर्न कानूनी र संरचनागत कदमहरू चाल्नुपर्ने धारणा पनि राखेको केसीएनएले जनाएको छ। युद्ध खेल पनि भनिने अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास दक्षिण कोरियामा स्थानीय फौज र त्यहाँ तैनाथ अमेरिकी सैनिकको संलग्नतामा आयोजना हुने गरेको छ।

दक्षिण कोरियामा झण्डै ३० हजार अमेरिकी फौज तैनाथ छन् र प्रशान्त माहासागरको गुवाममा अवस्थित सैनिक अखडाबाट समेत ठूलो स्तरको अभ्यासका लागि अमेरिकी फौज झिकाउने गरिएको छ।

उत्तर कोरियाले त्यसलाई आफूविरुद्ध हमला गर्ने तयारीका रूपमा व्याख्या गर्ने गरेको छ भने सोलले त्यो प्रतिरक्षात्मक प्रकृतिको अभ्यास भएको उल्लेख गर्ने गरेको छ। राष्ट्रपति ट्रम्पले ती अभ्यास रद्द गर्दा ठूलो परिमाणमा रकम जोगिने बताएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »