१७ वर्षीया खेलाडीको चमत्कारः एउटै खेलमा तोडियो क्रिकेट इतिहासका २ विशाल विश्वरेकर्ड

३१ जेठ २०७५

banner

एजेन्सी। १७ वर्षीया खेलाडीको तुफानी ब्याटिङले क्रिकेट इतिहासका २ ठूला विश्वरेकर्ड एकैपटक तोडिएका छन् । न्यूजिल्याण्ड र आयरल्याण्डबीच भएको महिला वन डे सिरिजको तेस्रो वन डे मा न्यूजिल्याण्डकी खेलाडी अमेलिया केरले तुफानी ब्याटिङ गर्दै नटआउट २३२ रन बनाइन् । यससँगै उनले २ ठूला विश्वरेकर्ड तोडेकी छिन् । 

केरले महिला एकदिवसीयमा सर्वाधिक व्यक्तिगत स्कोरको २१ वर्ष पुरानो विश्वरेकर्ड तोडिन् । यसअघि महिला एकदिवसीयमा अस्ट्रेलियाकी बेलिन्दा क्लार्कको नाममा सर्वाधिक व्यक्तिगत स्कोरको रेकर्ड थियो । क्लार्कले १९९७ मा डेनमार्कविरुद्ध २२९ रन बनाएकी थिइन् । केरले हिजो भएको खेलमा यो रेकर्ड तोड्दै महिला एकदिवसीयमा सर्वाधिक स्कोरको रेकर्ड आफ्नो नाममा लेखाइन् । 

यही खेलमा केरले वन डे मा दोहोरो शतक बनाउने सबैभन्दा कम उमेरकी खेलाडी पनि बनेकी छिन् । उमेरको यो रेकर्डमा भने उनी महिला–पुरुष दुवै क्रिकेटमा सबैभन्दा कान्छी हुन् । उनले मात्रै १७ वर्ष २४३ दिनमै वनडेमा दोहोरो शतक बनाएकी हुन् । डबलिनमा हिजो भएको खेलमा न्यूजिल्याण्डले पहिले ब्याटिङ रोजेको थियो । न्यूजिल्याण्डले केरको दोहोरो शतक लेघ केसपेरकको शतकको मद्दतमा ४४१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको आयरल्याण्ड १३५ रनमै अलआउट भयो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »