एनआरएन विज्ञ भेला: नेपालको विकासमा डायस्पोरा विज्ञताको प्रयोग गर्ने प्रतिवद्दता

३ अषाढ २०७५

banner

गुणराज लुइटेल 

सान फ्रान्सिस्को, अमेरिका । एनआरएन केन्द्र (आइसिसी) को पहल र एनआरएन अमेरिकाको सहभागितामा पहिलो पटक यहाँ उत्तर अमेरिका क्षेत्रीय स्तरको विज्ञ भेला एवं छलफल शनिबार सम्पन्न भएको छ। विभिन्न सात फरक विधामा संचालित सो भेलामा तीन दर्जन जति विषय विज्ञता सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए। 

भेलामा अमेरिका र क्यानडाका विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। सात विषयहरुमा शिक्षा र विकास, विकास टेक्नोलजी र बिग डेटा, ग्रामीण विकास तथा प्लानिंग, कृषि तथा कृषि अर्थनीति, पर्यटन तथा राष्ट्रिय स्रोत परिचालन, स्वास्थ्य प्रविधि तथा विज्ञान जस्ता विषयमा कार्यपत्र प्रस्तुत भए। 

एनआरएनले एक्सपर्टहरुको डाटाबेश तयार गर्नु पर्ने त्यसो भए सांच्चिकै जरुरी परेको बेला उनीहरुलाई सदुपयोग गर्न सकिने सुझाव धेरैले दिएका थिए। 

सो सभा समाप्त भएपछि प्रेस वक्तब्य दिंदै एनआरएन आईसीसीका प्रवक्ता भुषण घिमिरेले बक्तब्य जारी गर्दै सभा एेतिहासिक रुपमा सफल भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो।

भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो। नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो। 

नेपालमा संक्रमणकालिन अवस्थाको अन्त्य भई नयाँ राजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र समाजिक विकासका योगदान दिने छ।

विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षतालाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसंग मिलेर अर्को बृहत सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रुपमा यो सम्मेलन आयोजना गरिएको हो। 

सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए। 

प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको थियो। 

सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा. अर्जुन कार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरु डा. हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता रहेको थियो। 

कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो। एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो।

कार्यक्रममा अमेरिका, क्यानडा, बेलायत, जापान, मलेसिया, जमर्नी, रसिया, साइप्रस लगायतका देशहरुबाट सहभागिता रहेको थियो। एनआरएनए अमेरिकाका अध्यक्ष डा। केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागी भएका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »