लघुकथा : 'चित्त'

२२ अषाढ २०७५

banner

  • शारदा पौडेल

"बहिनी म नेपाल जाँदैछु । बाबा आमालाई केही सामान पठाउनु  छ भने भन्नू है । म लगिदिन्छु --- दाइ (घरका छिमेकी) ले  भनेँ। खास त केही छैन दाइ । बुबा आमाले हामीलाई सामान पठाउनभन्दा तँ आफैँ आइज । सामान केही पनि पठाउन पर्दैन भन्नुहुन्छ। -- मैले भनेँ ।

फेरि दाइ जाँदा केही पनि लगिदिनुभएन भनौली भनेर मात्रै भनेको । पठाउँछ्यौ भने लगिदिन्छु क्यारे । कर चाहिँ गर्दिन --  पुनः उहीँ कुरा दोहोरिन आयो । "  हुन्छ त नि दाइ , बुबा आमालाई भन्दापनि सानी भदै छ । मलाई के पठाइदिनुहुन्छ फूपू भनिरहन्छे । एकजोर कपडा किन्छु लगिदिनुहोस् न त "-- मैले भनेँ ।

सहजै हुन्छ भन्नुभयो । केही दिनमा कपडा किनेँ र लगिदिएँ। अझै छ भनेँ ल्याऊ । अप्ठ्यारो नमान - फेरि जोड दिँदै भन्नुभयो। " नाइँ दाइ , यत्ति नै हो । भदै सानी भएर मात्रै नत्र म आफैँ जाँदा लग्ने थिएँ। ल ल ढुक्क भएर बस । पर्सि बिहान त तिम्री भदैले कपडा लगाएर तिमीलाई देखाउँछे। केही छिन बसेँ । राम्रोसँग जानु दाइ भन्दै आएँ ।

दाइ नेपाल पुग्दाको दिन म काम विशेष केही टाढा जानू पर्यो । इन्टरनेटको समस्याले घरतिर  खास कुराकानी हुन सकेन । केही हप्तापछि फर्केर आउँदा कुराकानी त भयो तर भदै ठुस्स परी । के भो नानी ? प्रश्न गरेँ ।

"  के हुन्थ्यो , सामान नपठा भन्दा पठाउँछेस् । उसको चित्तबुझ्दो भएन । सानो भो । कलर पनि राम्रो मानिन "-- आमाले भन्नुभयो । "  खै खै कपडा देखाऊ त नानी ,- मैले भनेँ । ऊ ठुस्स पर्दै ल्याउँदै थिई । कोही बच्ची बोले झैँ लाग्यो ।" को  रहेछ मनमनै सोचेँ ।

केही छिनमा मेरै भदैसँगै तिनै दाइकी छोरी देखा परी । झस्याङ भएँ । मेरी भदैले देखाएका कपडा मैले पठाएका थिएनन् ।  त्यसैले भदैलाई भनेँ -" नानू तिम्रो साथीको टिसर्टको कल्लरमा हेर त के लेखेको छ ? "

उसले तत्कालै हेरी र भनी --" मेरी लभ्ली भदै तिमीलाई उपहार।"

Leave a reply

HTML Tags are not supported

Post My Comment »