साहित्यकार रामकुमार पाँडे र प्रकाश माइलाको ‘हजार हाइकु’ विमोचन

२३ अषाढ २०७५

banner

काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकु सङ्ग्रह ‘हजार हाइकु’ विमोचन गरिएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त हाइकु संग्रह विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापा, प्रा.डा. खगेन्द्रप्रसाद लुँइटेल, दामोदर पुडासैनी र महेश पौडेलले संयुक्त रुपमा कृतिको बिमोचन गरेका हुन्।

विमोचन पुस्तक माथि समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए। यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए।

वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले भने, ‘दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएकोले कृति उत्कृष्ट हुने संकेत देखिएको छ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए।

कार्यक्रम कृति प्रकाशक एवं शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। २६२ पृष्ठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »