श्रीमति भन्छिन्, अब पनि नेपाल फर्केर संगै बस्ने योजना नबनाए म यसै भन्न सक्दिन

२४ अषाढ २०७५

banner

  • बिनेश खनाल

ओमन । सुर्खेतका दिपेन्द्र डांगी (नाम परिवर्तन) ले १८ वर्षकै उमेरमा लभ म्यारिज गरे। विवाह गर्ने ताका उनको श्रीमतिले भर्खर १६ वर्षमा पाईला टेक्दै थिइन्।

सानैमा विवाह गरेर पारिवारिक अल्झनमा बांधिएका दिपेन्द्र  कक्षा १२ को परिक्षा दिएर विदेश हिंडेका रहेछन् । त्यत्ति वेला उनको बाध्यता थियो विदेस हिंड्नु पर्ने,किनभने घरमा आर्थिक आर्जन गर्ने कोहि थिएनन। मध्यम वर्गीय किसानी परिवारमा जन्मेका दिपेन्द्र घरमा जेठा छोरा थिए। परिवारका विविध समस्याहरुलाई पैसा कमाएर सुल्झाउने सपना वोकेर सन् २०१३ मा उनी ओमन छिरेका रहेछन् ।

दिपेन्द्रलाई बिदेश पठाउन उनै प्रेम सम्बन्धमा रहेर विवाह गरेकी श्रीमतिले नै साथ दिएकि थिइन्। उनको श्रीमति आफैले जिन्दगी लाई सुखी र सुमधुर गराउन केही वर्ष बिदेश बस्यो भने सम्भव रहेको निचोड निकाल्दै वैदेशिक रोजगारमा जान प्रेरित गरेकी थिइन्। त्यसै अनुरुप दीपेन्द्र ओमन आएका रहेछन्।

दिपेन्द्र विदेश हिंड्ने वेला श्रीमतिले कक्षा ९ मा पढ्थिइन । ओमनमा उनी राम्रै काममा परेका थिए।श्रीमान टाढा हुँदा नरमाइलो लागे पनि विवाह पछि २ महिना मात्रै संगै बसेकि उनलाई शुरुका दुई वर्षमा त्यत्ति धेरै विछोडको पीडा भने महशुस भएन । सायद त्यो वेला उनी स्कुल पढ्ने भएको भएर होला। स्कुले जीवनमै उनी भुलिरहेकी थिइन्।  दीपेन्द्रको खासै याद आएन।

यसरी दुई वर्ष वित्यो दीपेन्द्र नेपाल विदामा गए,त्यत्ति वेला उनको श्रीमतिले भर्खर एसएलसि पास गरेर कक्षा ११ मा पढ्दै थिइन्। विवाह गरेर राम्रोसँग हनिमुन सम्म मनाउन नपाएका उनिहरु यतिवेला नेपालका लुम्बिनी,पोखरा,मनकामना,मुक्तिनाथ, ईलाम लगायत उत्तर प्रदेस भारतका केही स्थानमा समेत राम्रोसँग घुमफिर गरे। उनिहरु एक-अर्का प्रती अझ धेरै घुलमिल भए। दिपेन्द्रको विदा दुई महिनाको मात्रै भए पनि उनिहरुका लागि यो समय अविस्मरणीय पल बन्यो। किनभने नयाँ -नयाँ ठाउँहरुमा जिन्दगीका रंगिन पलहरु संगै विताउने मौका पाए।

दिपेन्द्र दुई महिनाको विदा पछि ओमन फर्किए। पहिलो पटक विदेश आउंदा जस्तो जोश थिएन उनमा। तर के गर्नु बाध्यता, नफर्केर पनि नहुने, मन गरुँगो बनाउदै फर्किएका थिए। उता श्रीमतिलाई पनि  पहिलाको भन्दा अहिले निकै गाह्राे भयो विछोड हुँदा। धेरै घुलमिल हुँदै २ महिना श्रीमानको साथमा विताएका ती रंगिन पलहरु सधै उनको आंखामा झलझली आउन थाले। घरको काम,सासु ससुराको कचकच त्यसैमा श्रीमान साथमा नहुनुको पीडाले गर्दा उनको पढाई प्रती ध्यान जान छोड्यो। उनलाई ११ र १२ कक्षामा  विषय लागे। अन्ततः उनले पढ्न छोडिन।

यसरी दिपेन्द्रका ओमनमा अरु दुई वर्ष विते । फेरि नेपाल गए विदामा । दुई वर्स बिछोड पछीको मिलनले उनिहरु निकै खुशी भए । श्रीमती चाहन्थिन अब श्रीमान फेरि विदेस  नफर्कियोस भन्ने । तर दीपेन्द्रको भने अझै केही वर्ष विदेसमा नै बस्ने सोंच थियो। थप केही अरु पैसाको जोहो गरेर पछि नेपालमा केही ब्यवसाय गर्ने योजना थियो उनको । श्रीमतिले पढाई छाडिसकेको हुनाले यतिवेला उनिहरुले सन्तानको अपेक्षा राखेका थिए। श्रीमान श्रीमति दुवैको ईच्छा अनुरुप बच्चा बनाउने योजनामा जुटे।

यसरी  दीपेन्द्रको यसपटकको विदा पनि सकियो,फेरि ओमन फर्के । श्रीमतिको बच्चा जन्माई आमा बन्ने अत्यन्तै चाहना थियो । दिपेन्द्र पनि बच्चा भए पछि श्रीमति भुल्ने वाटो हुने र सन्तान पनि एकपटक बनाउनै पर्ने भएकोले बच्चाको धेरै आश गरेका थिए । तर उनिहरुले सोंचे जस्तो भएन । बच्चा बसेन। श्रीमतिले चिन्ता गर्न थालिन्। बच्चा नबस्नुको कारण के होला भन्ने कुराले निकै पिरोलिएर तनावमा पर्दै गईन्।

त्यसैमाथि घरमा सासु ,छिमेकी सवैले किन सन्तान नबनाएको हो,के भएको छ तिमीहरुलाई,के हेरेर बसेका तिमिहरु,कि तँ बच्चा जन्माउन योग्य नभएर हो जस्ता कुराहरु सोधपुछ गर्दै झन् अरु तनाव दिन थाले। जुन कुराको फर्काउन लाई उनीसंग कुनै जवाफ थिएन। बच्चा जन्माउन तँ योग्य छैनस कि क्या हो भन्दा वेला वेलामा उनलाई आफू सांच्चिकै योग्य नभएको जस्तो लाग्थ्यो। उनी सव कुरा फोन मार्फत श्रीमानलाई सुनाउंथिन । दीपेन्द्रले घरमा र छिमेकीले गर्ने कुनै पनि कुराको वास्ता नगर्न भन्थे। धेरै सम्झाउंथे ,चिन्ता नगर्न भन्थे। सान्त्वना दिंदै खानपिनमा राम्रोसँग ध्यान दिन लगाउथें।

यसरी तनावै तनावमा उनको श्रीमतिले दिनहरु विताई रहिन । विभिन्न समस्याहरु झेल्दै दिपेन्द्रको पर्खाइमा दिनहरु गन्दै बसिन । यता ओमनमा श्रीमानको काम,र कमाई भने राम्रै थियो। उनलाई थप केही वर्ष बस्न मन थियो कमाई राम्रो हुँदै गएको हुनाले। त्यसैले गत अक्टोबरमा फेरि कम्पनी संग थप १ महिना छुट्टी माग्दै जम्मा ३ महिनाको लागि विदामा नेपाल गए। पहिला सन्तान नभएको हुनाले आफुहरुमा केहि खराबी छ कि भन्ने लागेर नेपालगंजका केही मेडिकल लगायत काठमाडौको ओम अस्पतालमा चेक जाँच गराए। तर चेक जाँच पछिको रिपोर्ट हेरेर डाक्टरहरुले त्यस्तो खासै कुनै समस्या नभएकोले बच्चा हुने बताए।

खाडिमा लामो समय बस्दा उचित खानपिनको सन्तुलन नमिल्ने हुँदा पनि कसैमा यस्तो समस्या देखिने भएकोले लामो समय साथमा बसेर हेर्न सल्लाह दिए।

बिदा दुई महिना संकिदा पनि महिनामारी रोकिएन । डाक्टरले दिएका केही भिटामिन युक्त औसधिहरु सेवन गर्दै गरेकोले बच्चा बस्ने आश थियो उनिहरुमा । यसपालीको विदा पनि सकियो । श्रीमतिले नफर्किन विन्ती गर्दागर्दै पनि दीपेन्द्र तेस्रो महिनामा महिनामारि रोकिने र बच्चा बस्ने आश्वासन दिंदै फेरि ओमन फर्किए । तर तेस्रो महिनामा पनि महिनामारी भयो । उनिहरुको आशा निराशामा परिणत भयो । यो कुराले दीपेन्द्र भन्दा उनकी श्रीमतिलाई धेरै चोट पुग्यो । धेरै चिन्ता गर्न थालिन् ।

उनको श्रीमतिलाई सानैमा प्रेम गरेर विहे गरेकोमा पछुतो लाग्न थाल्यो ।एक अर्का विना  बांच्न नसक्ने भएर वाल्य अवस्थामानै परिवार त्यागेर विहे गरे पनि अहिले यसरी अलगअलग बस्नु परेकोले उनको मन साह्रै विग्रन थाल्यो । विवाह गर्नु नै गल्ती भएको ठान्थिन । दुनियाँका कुरा सुन्दा सुन्दै  उनी दिक्क भैसकेकि थिइन् । गाउँका बुद्धिजिविहरु भन्नेले नै नराम्रो व्यवहार गर्ने ,गिद्दे नजर लगाउने,नानाथरी कुरा गर्ने ,बच्चा नहुनुमा बुढाको कमजोरी हुनपर्छ अब तिमिले केही सोंच्न पर्छ भन्दै नकारात्मक कुरा सुनाउदा रहेछन् उनलाई । समाजका केही राम्रा भनाउदा व्यक्तिहरुले नै यस्ता कुरा गर्दा उनलाई असहय हुंदो रहेछ ।उनले यी सवै कुरा श्रीमानलाई वताउथिन ।

अहिले यता दीपेन्द्र लाई पनि अत्यन्तै तनाव परेको छ। वारम्बार श्रीमतिले त्यस्ता कुरा सुनाउंदा तनाव हुने नै भयो। मनिलो अनुहार गराउँदै दिपेन्द्रले भने " आज भोलि सधै जसो मेरि श्रीमतिले भन्ने गर्छिन् , ६ वर्ष भयो हजुर विदेश बस्न थालेको,अब पनि नेपाल फर्कैर संगै बस्ने योजना नबनाए, जे पनि हुन् सक्छ, प्लिज मेरो समस्या बुझ्ने प्रयास गर्नुस् बुढा " । दिपेन्द्रले बुझ्न सकेका छैन उनले भनेको जे पनि हुन सक्छ भन्ने कुरा । के हुने हो उनलाई चिन्ता पर्न थालेको छ ।  "मन आत्तिन्छ कतै आवेसमा आएर केही नराम्रो निर्णय त गर्नै होइन उसले भनेर "आंखामा आंशु झार्दै उनलेे भने।

श्रीमतिले पटकपटक यस्तो भनिरहंदा उनले पहिला कहिलेकाही श्रीमतिले भन्ने गरेको  "जिन्दगी देखि दिक्क लागिसक्यो मर्न मन छ" कुरा सम्झन्छन् । उनलाई डर लाग्छ कतै त्यस्तो गर्ने त होइन भनेर । अहिले दीपेन्द्रले पैसा सवथोक होइन भन्ने कुराको महशुस गरेका छन् । श्रीमतीको रोदन बुझेर अब आउने दसैंमा ओमनको बसाई लाई सधैका लागि विट मार्दै दीपेन्द्र नेपाल जादैँछन् । नेपाल गएर ठ्याक्कै यहि गरेर बस्छु भने बारे केहि नसोचेका उनले श्रीमतिकै खुशीका लागि जान लागेको बताए ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »