नेकपाको नियमावली पारित, भातृ संगठन एकताकाे बाटाे खुल्याे

२७ अषाढ २०७५

banner

फाइल फोटो

काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी–नेकपाको सचिवालय बैठकले पार्टी नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै भातृ संगठन एकताकाे बाटाे खुलेकाे छ। कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ। पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई तीब्रता दिने गरी नियमावलीमा आधारित भएर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

पार्टीका नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दलले तयार पारेको सो नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ। दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रीय समिति बनाउने व्यवस्था गरिएको छ। जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ। 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो। एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ। 

यस अघि बसेको सचिवालय बैठले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गने जिम्मेवारी दिइएको थियो। कार्यदलमा वामदेव गौतम , रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल रहेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »