क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इंगल्याण्डमाथि संघर्षपूर्ण जित

२७ अषाढ २०७५

banner

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो । खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ ।

अब क्रोएसियाले बलियो टोली फ्रान्ससँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेल आगामी आइतबार नेपाली समयअनुसार पौने ९ बजे सुरु हुनेछ । यसअघि फ्रान्स बेल्जियमलाई १–० ले पराजितगर्दै फाइनलमा पुगेको टोली हो ।

उता विश्वकपको तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिड्ने भएका छन् । दुवैबीचको खेल आगामी शनिबार नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ । 

संघर्षपूर्ण जितमा मान्जुकिज नायक

क्रोएसियाले इंगल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको हो । यस जितमा क्रोएसियन फरवार्ड मारियो मान्जुकिज नायक बने ।

खेलमा एक–एकको बराबरी भइरहेको अवस्थालाई चिर्दै मान्जुकिजले अन्तिम समयमा निर्णायक गोलगर्दै क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याउन मदत गरे ।

खेलमा इंगल्याण्डले सुरुवाती पाँचौ मिनेटमा एक गोलको अग्रता लिएको थियो । इंगल्याण्डका केइरान ट्रिपिएरले डिबक्स बाहिरबाट हानेको फ्रि किक आकर्षक गोलमा परिणत भएको थियो ।

तर दोस्रो हाफमा क्रोएसिया खेलमा फर्कन सफल भयो । क्रोएसिया इभान पेरिसिकको गोलबाट एक–एकको बराबरीमा फर्किएको थियो । खेलको ६८ औं मिनेटमा सिमे भ्राजिल्कोको क्रास पासमा इभानले देब्रे खुट्टाको प्रहारमा गोल गरेका हुन् ।

प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेट १–१ कै बराबरीमा टुंगियो । त्यसपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

दुवै टोलीले गोलका कैंयौ अवसर सृजना गरेका थिए । तर क्रोएसिया भाग्यशाली सावित भयो । अतिरिक्त समयको खेल सकिन १० मिनटे बाँकी रहँदा मारियो मान्जुकिजले गोल गर्न सफल भए । उनले बराबरी गोल फर्काउने इभान पेरिसिकको पासमा आकर्षक गोल गरेका थिए ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »