
काठमाडौं। सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेका हुन्। उनले जैविक खेतीको उत्थानका लागि विषाधि नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री खनालले विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेको मलको गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको विकासमा पनि सरकारले जोड दिने नीति लिएको स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा जैविक खेती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा जैविक खेतीको उत्थानका लागि प्रदेश नम्बर ६ लाई मुख्य केन्द्र बनाएर सरकारले विभिन्न अभियान संचालन गर्ने योजना पनि अघि सारे। मन्त्री खनालले रसायनिक मलको आयातमा रोकावट गरेर अघि बढे नेपालमा जैविक खेतीले ठूलो लाभ दिने उल्लेख गरे।
मन्त्री खनालले नेपालमा कृषि उत्पादन बढाउन लगानी बढाउनुपर्ने पनि स्पष्ट पारे। नेपालमा हाल कृषि क्षेत्रमा कुल बजेटको २ दशमलव ९ प्रतिशत मात्रै लगानी हुने गरेको छ । मन्त्री खनालले सरकारले कृषि उत्पादन बढाउन लगानीमा बढाउँदै लैजाने नीति लिएको पनि बताए।