प्रतिनिधिसभा बैठक : बाढी पहिरोदेखि गोविन्द केसीसम्मको चर्चा

२८ अषाढ २०७५

banner

फाइल फोटो

काठमाडौं। सांसदहरुले मुलुकभर अबिरल बर्षासँगैको बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल प्रभावितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संभावित बाढी पहिरोको क्षति न्युनीकरणका लागि पूर्व तयारीको साथै प्रभावितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।  

सांसद अमन लाल मोदीले विपत व्यवस्थापन कार्यलाई चुस्त दुरुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए। बाढी आएपछि मात्रै बाढी र डुबानको चर्चा हुने गरेको भन्दै उनले पूर्व तयारीको साथ विपत व्यवस्थापनमा ध्यान दिनुको साथै तत्काल राहतको व्यवस्था गर्न माग गरे।

सांसद महेश बस्नेतले गएरातिको अबिरल बर्षासँगैको बाढी पहिरोबाट भक्तपुरमा मानवीय क्षति पुग्नुको साथै ठूलो बस्ती डुबानमा परेको र पशुचौपायको क्षति भएको भन्दै तत्काल बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए। 

सांसद रामसहायक प्रसाद यादवले बाढी पहिरोका कारण कयौ सडकखण्ड अवरुद्ध भएकाले परीक्षा केन्द्रसम्म पुग्न कठिन भएकाले शिक्षक सेवा आयोगको परीक्षाको मिति सार्न सरकारसंग माग गरे। 

सांसद प्रेम सुवालले सरकारले पूर्व तयारी अपनाउन नसक्दा भक्तपुरमा गएरातिको बाढीबाट ३ जनाको मृत्यु भएको भन्दै सरकार पूर्व तयारी र सावधानीमा असफल भएको टिप्पणी गरे। 

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार तानाशाही बन्दै गएको भन्दै सरकारका अधिनायवादी क्रियाकलापबाट जनता नतर्सने टिप्पणी गरेका छन्। 

सांसद प्रदिप गिरीले जनतालाई तर्साएर शासन गर्न उद्धत सरकार तानाशाही बन्दै गएको टिप्पणी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अकारण अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएर जनतालाई तर्साउन खोजेको आरोप उनले लगाए। सरकारका यस्ता क्रियाकलापले जनता नतर्सने चेतावनी पनि उनले दिए। 

चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि छलफल हुँदै गर्दा पार्टीको व्हीप अनुसार संसदमा पक्ष र विपक्षमा सांसदहरु देखिएको भन्दै उनले सांसदहरुलाई पार्टीका सदस्य मात्रै नभएर सिंगो देशका जनताको जिम्मेवार प्रतिनिधि बन्न आग्रह गरे। 

सांसद दिलेन्द्र प्रसाद बढुले संस्कृतको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी लगाएर सरकारले बन्दक बनाएको भन्दै आपत्ति जनाए।  सरकारको यो कदमको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि चर्चाको विषय बनेको र सम्मेलनबाट  प्रधानमन्त्रीलाई पत्राचार भएको जानकारी गराउँदै उनले उपकुलपति कोइरालालाई त्यसतर्फ पठाउने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

उनले महाकालीको पानीको स्तर खतराको विन्दुबाट माथि उठेको भन्दै संभावित क्षतिलाई मध्यनजर गर्दै तत्काल पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराए।

नेकपाका सांसद मोहन बानियाँले डाक्टर गोविन्द केसीले कानुन हातमा लिने काम गरेको आरोप लगाए। उनले डाक्टर केसी जुम्लामा गएर अनसन बस्नु बेमौसमी बाजा भएको टिप्पणी गरे। 

सांसद राजेन्द्र प्रसाद लिंङदेनले नेपालबाट ठूलो परिमाणमा सम्पत्ति बाहिर जाने काम भएको भन्दै त्यसको छानविन गरि सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए। 

संसदमा रहेका ४ दललाई उपेक्षा गर्दै संसदीय सुनुवाई समिति गठन गरिएकोमा आपत्ति जनाउदै उनले दलहरुलाई निषेध गर्ने क्रियाकलाप बन्द गर्न माग गरे। 

सांसद नरबहादुर धामी कन्चनपुर जिल्लाको शुक्ला फाँटा बन्यजस्तु आरक्षण विस्तारका क्रममा विस्थापित जनताको अहिले सम्म पनि उचित व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।  २०३७ साल माघ देखि समस्या समाधानका लागि २९ वटा आयोग गठनभएको र ती आयोगले आफ्ना मान्छेलाई अन्य स्थानबाट ल्याएर संख्या बढाउने काम मात्रै गरेको र वास्तविक विस्थापित जनतामाथि खेलवाड गरेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। 

सांसद हरिनारायण प्रसाद रौनियारले पर्सा र रौतहटको सिंचाईको मुख्य आधार बनेको नारायणी नहरमा पानी सप्लाईको व्यवस्था गर्न माग गरे। उनले अस्थायी शिक्षकको माग सम्बोधन गर्न पनि माग गरे।

Leave a reply

HTML Tags are not supported

Post My Comment »