कृषि उद्यमशीलतामा ‘ब्याक टू स्क्वायर वन’

२८ अषाढ २०७५

banner

नारायण घिमिरे

अस्ति भर्खर जस्तो लाग्छ, गोरखाबाट बसाइँ आएको माइला दाइको परिवारले हाम्रो घरभन्दा पर पाखोको धयेरी, पाती र असुरोको घारी फाँडेर घैयाबारी बनाएको। चार/पाँच कक्षामा पढ्दै गर्दा हामी माइला दाइको त्यही घैयाबारीमा खरबुजो चोर्न जान्थ्यौँ। हामीलाई एक त खरबुजो भेट्टाउनै गाह्रो पर्थ्यो, भेट्टाए पनि लुकाएर जंगलतिर लगी खानै मुस्किल।

हामी पटकपटक खरबुजा चोर्न गएका थियौँ। जब एक दिन माइला दाइले धान नमाडी खरबुजो खाएको पुरस्कार भनी हामी चार जनालाई चौतारोमा बोलाएर एक पोका माला मिठाई टक्राए, तब खरबुजोको खोजीमा दाइको घैयाबारी कुदने क्रम पनि रोकियो।

जुगजमाना फेरिएको छ। खरबुजो टिमका हामी दुई जना सात समुद्रपारि क्यानडामा छौँ। एक जना काठमाडौँमा वरिष्ठ व्यापारी छन् भने अर्का एक जना नेपाल सरकारका उच्च अधिकारी। बसोबास सात समुद्रपारी रहे पनि मेरो मनचाहिँ किन–किन गाउँघरतिरै घुमिरहन्छ।

हिजो आज मलाई के लाग्न थालेको छ भने हाम्रो परम्परागत कृषिले घैया धान र मकै हुने पाखोबारीको उत्पादनले ‘कस्ट अफ लिभिङ’ धान्ने विकल्प दिन सकेन। बरु अब त्यो घैया धान र मकै फल्ने बारीलाई तीतेपाती, धयेरी, धतुरो र असुरो बारी बनाएर किसानलाई कृषि पेसाबाट आर्थिक स्वावलम्बन गराउन सकिन्छ। त्यतातिर लागे मलेसिया र जापानमा जस्तै कृषक कृषि पेसामै आत्मनिर्भर हुने र कृषिमा युवा उद्यमीको मन बसाउन सकिन्थ्यो कि भन्ने तानाले गाँजेको छ।

हाम्रा रैथाने जडीबुटी र कृषिजन्य उपजहरुको हालको विश्व बजारको माग र पूर्तिलाई केलाएर हेर्दा तीतेपाती बुद्ध चियाका रुपमा र क्लिनिङ स्यानिटाइजरका रुपमा अमेरिकाको हवाईमा व्यावसायिक भइसकेको भेटिन्छ। यसको बजार माग र कभरेज दिन दुई गुना, रात चार गुणा बढिरहेको अवस्था छ।

खुला र सदुपयोग नभएका रुखो सिम जग्गामा हुने सानो बुटो हुने धयेरी वास्तवमै अति मूल्यवान् औषधिको अर्को स्रोत हो। यसको फूल आयुर्वेदिक औषधिका धेरै फर्मुलामा जान्छ भने यो आफैँ घरको गमलामा लगाइने महँगो नर्सरीको बिरुवा हो। परम्परागत रुपमा गाउँमा पखाला लाग्दा र शरीरमा इलेक्ट्रोलाइट घटेर डिसेन्ट्री हुँदा यसको उपयोग अत्यधिक गरिन्थ्यो।

अल्सरको छिटो निको गर्ने तरिका थियो धयेरीको फूल। दाँत दुख्दा कुल्ला (गार्गल)का रुपमा प्रयोग गर्न र निधारमा चिट्चिट पसिना आउने र टाउको दुख्दा शीतलपन लिन धयेरीको फूलको रस लेपन र सेवन सामान्य मानिन्थ्यो। धयेरीको बोक्रा कुष्ठरोगको औषधी मात्र थिएन, धेरै तिर्खा लाग्दा र रगत सफा नभएर फोहोरी खटिरा नआवोस् भनी सेवन गर्ने चलन थियो।

यसको जराको धूलो हड्डी भाँचिँदा प्रयोग हुने गर्थ्यो। हाम्रो गाउँघरमा नरोपे पनि आफैँ उम्रने र झाडी बनाउने असुरोको आफ्नै प्रकारको उच्च वाणिज्यिक मूल्य (कमर्सियल भ्यालु) छ। पाकिस्तानमा यसलाई मधुमेयको पूरक (डाइबेटिक सप्लिमेन्ट)का रुपमा निकै लामो समयदेखि प्रयोग हुँदै आएको छ।

हाम्रा पाखाभित्तामा फाँडफुँड पारी फाल्दा पनि जबर्जस्ती उम्रने जब्बर प्रकृतिको रिट्ठाको गेडा भारत हुँदै नर्थ अमेरिकासम्म पुगेको छ। यो अहिले क्यानडामा साबुन र स्याम्पूको सट्टा विलासी स्नानमा प्राकृतिक साबुन बेरी सोपका नाममा प्रयोग भइरहेको छ।

अर्थात् आधुनिक खानपानको ‘एन्टी–क्यान्सर पिल्स’ बनेको र संसारकै आजसम्मको उत्कृष्ट ‘इम्युन बुस्ट’को सारथिको पहिचान बनाएको बेसार होस् वा रिट्ठा, हलेदो र अदुवा, तिनै घैयाबारीमा खेती गरी मनग्ये आम्दानी लिन सकिने कृषिउपज हुन्।

सानो छँदा घरमै जोडिएको धारोमा पानी नहुँदा म बिहान–बिहान मुख धुन घरमाथिको फल्दी खोलाको धारामा जान्थेँ। धतुरो खाँदा जिब्रो र ओठ सुन्निने कहानी आमाको मुखबाट सुनेको थिएँ। मलाई जहिल्यै बाटो छेउको खोल्सोमा कतै धतुरो छोइएला र शरीर सुन्निएला भन्ने डर हुन्थ्यो।

त्यो धतुरोलाई सबै जना शिवजीको बुटी भन्थे। जब हामी शिवजीको नाम लिन्छौँ, गाँजा, धतुरो र रुद्राक्षको प्रसंग आउँछ। सात सयभन्दा बढी औषधिजन्य प्रयोजन पाइएकाले गाँजा संसारभर वैधानिक हैसियत पाउने क्रममा छ। पछिल्लो समय क्यानडाले त्यसलाई कानुनी मान्यता दिइसकेको छ भने भारतमा पनि यसको आन्तरिक गृहकार्य भइरहेको छ।

गाँजाजस्तै धतुरो पनि नेपालमा जताततै पाइने वनस्पति हो। वास्तवमा धतुरो बिष नै हो। यो बिषालु हुनुको कारण यसमा पाइने अल्कालोइड जस्तै स्कोपालामाइन, हायोस्क्यामाइन, एट्रोपाइन आदिले गर्दा हो। धतुरो उम्रँदा र जंगलमा हुर्कंदा कीराहरुले यसलाई नखाऊन् भनी यो बिरुवाले प्राकृतिक रुपमै आफूभित्रै रिपेलेन्टका रुपमा यी अल्कलोइड बनाएर सञ्चिती गर्छ।

बिषादी बनाउने कम्पनीहरुले त्यसलाई लिएर जैविक कीरा नियन्त्रण गर्ने औषधि बनाउने गर्छन्। आयुर्वेदले मात्र खाना र औषधितिर ध्यान दिएको छ। त्यसैले यसको रस कपाल झर्ने समस्या निदानमा र कपालमा चाया कम गर्ने रसायनका रुपमा मात्र उल्लेख गरेको छ।

धतुरोको गेडाबाट निक्लने तेल कपाल झर्न रोक्ने उच्च कोटीको औषधीमा प्रयोग हुन्छ। परम्परागत रुपमा धतुरोको पातलाई सेकेर बनाइएको लेपलाई आङ मर्केको र दुखेको ठाउँमा लगाइन्थ्यो। यो पेनकिलर थियो र हो पनि। दमको बेला र हड्डी मर्कंदा यसको प्रयोग हुन्छ। परम्परागत रुपमा महिला गर्भवती हुँदा फिस्टुलाको समाधानका साथै शरीर सुन्निएर पिप जम्ने हुँदा पनि धतुरोको गेडाको लेप लगाइन्थ्यो।

धतुरोको गेडाबाट निक्लने तेलमा हायोस्क्यामाइन र एट्रोपाइन धेरै हुन्छ। त्यसलाई मानिसको दिमाग परिवर्तन गर्ने हेलुसिनेटिङ ड्रगका रुपमा चिनिन्छ। धतुरो बिषादी हुने हुनाले यसलाई दुई डेसिग्रामभन्दा बढी नहुने गरी मानव प्रयोजनका लागि सप्लिमेन्ट बनाउने गरिएको छ।

युनाइटेड स्टेट्स फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (यूएसएफडीए) ले पनि धतुरोलाई भखरै तोके अनुरुप प्रयोग गर्न सकिने स्वीकृत सूची (एप्रुभ लिस्ट) मा राखेको छ।

अब कुरा गरौँ मूलाको। यो हाम्रो शरीरको आन्तरिक (जैविक) घडीको चक्र सञ्चालनमा सहयोगी हुन्छ। मिलाटोनिङ हाम्रो प्राकृतिक रुपमै हाम्रो शरीरमै पाइने हर्मोन हो। अर्थात् शरीरको आन्तरिक घडीको चक्र सञ्चालन गर्ने हर्मोन। जब अँधेरो हुन्छ, हाम्रो शरीरले धेरै मिलाटोनिङ उत्पादन गर्छ अनि हामीलाई निद्रा पर्छ।

उज्यालो हुँदा शरीरले मिलाटोनिङको उत्पादन घटाउँछ अनि हाम्रो निद्रा छ्याङ खुल्छ। मानिस दृष्टिविहीन हुँदा प्रकृतिले शरीरमा उत्पादित मिलाटोनिङको लेबल फिल गर्न सक्षम बनाउँछ। दिउँसो र रातीको अनुभूति गर्न सफल बनाउँछ। आन्तरिक घडी कन्ट्रोल गर्ने मिलाटोनिङको कमीले मानिस छिट्टै निदाउन नसक्ने, बिहान उठ्न र आँखा खोल्न नसक्ने आदि हुन्छ।

मानिसहरु अल्जाइमर, सिजोफेर्निया, डिमेन्सिया, अटिजम, फोक्सोको रोग, मेमोरी–लस आदिमा मिलाटोनिङ खाने गर्छन्। त्यसलाई सेन्थेटिक प्रक्रियाबाट बनाइएको हुन्छ। हाम्रा गाउँघरमा पाइने मूलामा प्रति ग्राम ६ सय ५७ पिकोग्राम मिलाटोनिङ हुने गर्छ।

त्यसैले आयुर्वेदले लेक्टिक फर्मेन्टेड मूलालाई धेरै राम्रो स्थान दिएको छ। खाना र अचारका रुपमा मूला खानु फलदायी मानिनुको वैज्ञानिक कारण निकै पछि बुझिए पनि आयुर्वेदले डाइबेटिक, ज्वरो, चिसो, कफ, दम, घाँटी दुख्दा र एलर्जी हुँदा नियमित ताजा मूला खान सल्लाह दिएकै हो। 
अनादिकालदेखि नै मानिसले दैनिक २५/५० एमएलजति मूलाको रस सेवन गरेको तथ्य पाइएको छ।

पछि गएर ‘मूला खाई वन पस, अदुवा खाई सभामा पस’ भन्ने लोकोक्तिका कारण त्यो चलन ओझेलमा पर्यो। मूलाको डकार गन्हाउने र अदुवाले मुखमा बासना दिने भएकाले हामी कस्मेटिक फाइदातिर मात्रै लम्कियौँ। २५/५० एमएल मूलाको रस पिउँदा जतिको लाभ न काँचो मूला चपाउनुमा छ, न त अचार खाएर जिब्रो फड्कार्नुमा। जे होस्, यसको गुण पक्डेर मूलाको व्यवसाय गर्न सक्दा निकै फाइदाकारी हुनेछ।

समग्रमा प्राविधिक दृष्टिकोणबाट के भन्न सकिन्छ भने, समय क्रममा नेपाल नेपालकै रैथाने लगभग सात हजार मेडिसिनल (औषधीय) र एरोमेटिक (सुगन्धित) प्लान्टको व्यावसायिक हब हुन सक्छ। जति सक्दो चाँडो हाताहाती प्रतिफल लिन सकिने अवस्थामा पुर्याउन भने मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ।

त्यो अवसरको संघार इनोभेटिभ इन्कुबेटरहरुलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गरेपछि मात्र खुल्छ।

घिमिरे क्यानडानिवासी खाद्य वैज्ञानिक हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »