वर्षाका कारण नेपालका कैयौँ भागको भारतसँग सम्पर्क विच्छेद

२८ अषाढ २०७५

banner

काठमाडौँ । असार तेस्रो साताको अविरल वर्षाका कारण सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास क्षेत्रमा रहेको नेपाल-भारत जोड्ने अस्थायी काठेपुल र महाकाली नदीमाथि बनाइएको तुइन बगेका छन्।

नदीमा पानीको सतह बढेका बेला पुल र तुइन बगेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। नदी तर्न नसक्ने भएपछि म्लिङ, राप्ला, सुन्सेरा, धौलाकोट, हुती लगायतका स्थानहरू सम्पर्क विच्छेदको अवस्थामा छन्।

व्यास गाउँपालिका-२ दुम्लिङका स्थानीयवासी प्रभात बुढाथोकीले यातायात नहुँदा हिँडेर नै विभिन्न स्थानमा जानु परेको बताए। बुढाथोकीले भने, आवतजावत गर्न त भारतबाट सम्भव नै छैन। तुइन पनि छैन, पुल पनि छैन, नेपाल भएर नै तीन दिन लगाएर आउनुपर्छ।

उनका अनुसार अहिले कोही बिरामी परेमा तीन दिनसम्म बोकेरै ल्याउनुपर्ने स्थिति सिर्जना भएको छ।

भारतीय बजारसँग सीमा जोडिएको कारण उक्त क्षेत्रका स्थानीयवासीमा दैनिक उपभोग्य सामाग्री भण्डारण गर्ने चलन नभएकाले झन् समस्या परेको उनीहरू बताउँछन्।

भारतीय सञ्चारमाध्यम र भारतीय अधिकारकर्मीहरूका अनुसार भारतको नज्याङ, मालिपा, बुँदीलगायत गब्र्याङमा भारतीयसँगै कतिपय नेपाली नागरिकहरू फसेका छन्।

अस्थायी काठेपुल बगाएको क्षेत्रका स्थानीयवासी लगायत भारतमा फसेका नेपाली नागरिकको उद्धारको पहल भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

उनले दीर्घकालीन समाधानका लागि पक्की पुल बनाउने विषयमा बिहीवारको हुने नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठकमा भारतीय पक्षसँग छलफल गर्ने बताए।
भारततर्फका केही स्थानमा फसेका नेपालीको उद्धार भइसकेको भारतीय अधिकारीहरूले जानकारी दिएको उनले बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »