पर्यटकहरु भित्र्याउँदै चितवन राष्ट्रिय निकुञ्ज

८ श्रावण २०७५

banner

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आउनेहरुको संख्या दिनानु दिन बढ्दै गएको छ। गत आर्थिक वर्षमा एक लाख ५२ हजार ६७१ जना पर्यटक भित्रिएका छन्।

आर्थिक वर्ष २०७३/०७४ भन्दा यो १२ हजार ६९३ ले बढी हो। उक्त वर्ष एक लाख ३९ हजार ९७८ पर्यटक निकुञ्ज भित्रिएका थिए। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२/०७३ मा भन्दा २०७३/०७४ मा ५२ हजार ५७८ जना बढी पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। आव २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए।

निकुञ्जका अनुसार गत आवमा नेपाली ३४ हजार ५०, सार्क मुलुकका १९ हजार ६९६ र विदेशी ९८ हजार ९२५ जना पर्यटकले जंगल सफारी गरेका थिए। तीमध्ये पुरुष ८१ हजार ७९० र महिला ७० हजार ८९१ रहेका थिए।

आर्थिक वर्ष २०७३/०७४ मा नेपाली ३६ हजार ५३, सार्क मुलुकका १५ हजार ९०६ र विदेशी ८८ हजार १९ पर्यटकले निकुञ्ज घुमेका थिए। तीमध्ये महिला ७० हजार ११७ र पुरुष ६९ हजार ८६१ रहेका थिए।

अर्यालका अनुसार आव २०७२/०७३ मा नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६ र विदेशी ५० हजार १९३ जनाले मात्रै निकुञ्ज घुमेका थिए। तीमध्ये महिला ४५ हजार ५७ र पुरुष ४२ हजार ३३४ रहेका थिए।

हालसम्म सबैभन्दा बढी पर्यटक आव २०७१/०७२ मा निकुञ्ज आएका थिए। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सो वर्ष एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए।

घिमिरेका अनुसार निकुञ्जमा संकलन हुने तथ्यांकमा जंगल र डुंगा सफारिमा जाने पर्यटकको मात्रै आउने गर्दछन्।

यसअघि सफारी गरिसकेर पनि सौराहा आउने पर्यटकको संख्या थप ५० हजारभन्दा बढी रहेको उनले बताए। यद्यपि नारायणगढ–मुग्लिन सडकका कारण लक्ष्यअनुरुप पर्यटक आउन नसकेको व्यवसायीको भनाइ छ।

राजश्वमा वृद्धि

चितवन राष्ट्रिय निकुञ्जले गत आवमा रु २४ करोड ८१ लाख ९९ हजार ९९८ राजश्व संकलन गरेको छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पर्यटक शुल्कसहित अन्य शुल्कहरुबाट सो राजश्व संकलन भएको हो।

अघिल्लो आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको थियो। आव २०७२/०७३ मा रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो। राजश्व संकलनमा क्रमशः बढ्दै गएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष