अनुभूतिः माइजू विहीन मेरो मावलीघर

२४ श्रावण २०७५

banner

प्रतिनिधिमुलक तस्विर

लीलानाथ घिमिरे

बितेको साता हामीले निकै सकसपूर्ण अवस्था गुजार्यौं। माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाइ माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो। अनेक प्रयासका बाबजूद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं। उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो। मेरो ९९ वर्षको मावली हजुरबुबा सहाराबवहीन हुनुभयो। हामी भान्जाभान्जी मावलमा माइजूबवहीन भयौं।

राजधानीको नख्खुस्थित मेडिसिटी अस्पतालमा मेरी माइजू सीता पौडेलको उपचारका क्रममा मैले भोगेको पीडाले मेरो मस्तिष्कभरि धेरै प्रश्नहरु उब्जाइ दिएका छन्। यी प्रश्न पाठकहरुसमक्ष बहसका लागि छाड्नुअघि घटनाको तथ्यमा यहाँहरुलाई पुर्याउन चाहन्छु।

सानुबुबा राधाकृष्ण घिमिरेले मंगलबार एकाबिहानै फोन गरेर माइजूलाई मस्तिष्क रक्तश्राव भएकाले सिन्धुलीबाट काठमाडौं ल्याउन हेलिकप्टरको ब्यवस्था गर्न सकिन्छ कि भनेर मलाई सोध्नुभयो। मैले साथीहरुको सम्पर्क खोज्न थालेँ। अन्नपूर्ण पोष्टमा काम गर्ने मेरा मित्र मनोज बस्नेतमार्फत सिम्रिक एयरमा सम्पर्क गरेँ। सिम्रिकको हेलिकप्टर लुक्ला गएको रहेछ। त्यसपछि सेनाको हेलिकप्टरका लागि प्रयास गर्न साथी डण्ड गुरुङलाई भने। 

माइजू एकाबिहानै बेहोस भएर ढल्नु भएछ। उहाँलाई घरबाट मानिसले बोकेर कमला नदी तारियो। त्यसपछि एम्बुलेन्समा राखेर सिन्धुली अस्पतालसम्म ल्याइयो। मामा रामचन्द्र र भाइ लक्ष्मण माइजूको साथमा हुनुहुन्थ्यो। लक्ष्मणसँग माइजूको अवस्थाबारे जानकारी लिँदै यता हेलिकप्टर खोज्न प्रयास गरिरहेँ। उता लक्ष्मणलाई पनि जिल्ला अस्पतालका चिकित्सकको सम्पर्कमार्फत कुनै उपाय लगाउन सकिन्छ कि भनेर लगाइरहेँ।

हाम्रो सिन्धुली सडक सञ्जालले जताततैबाट जोडिए पनि स्वास्थ्य उपचार सेवाको दृष्टिले अत्यन्तै दुर्गम जस्तै छ। सदरमुकाममा सामान्य अस्पताल छ। जटिल रोगको उपचार गर्न राजधानी आउनै पर्छ। नजिकै हवाइ सेवाको सुविधा पनि छैन।

धेरै प्रयासपछि साथी डण्डले ग्राण्डी अस्पतालको हेलिकप्टर लान सकिने बताउनु भयो। सिन्धुली अस्पतालका चिकित्सकमार्फत पनि मेडिसिटी अस्पतालबाट हेलिकप्टरको बन्दोबस्त भएछ। हामीले नेपालका चर्चित ब्यवसायीले खोलेको, सुविधा सम्पन्न, भर्खरै स्थापना भएको र निकै चर्चामा रहेको मेडिसिटीकै हेलिकप्टरलाई प्राथमिकता दियौं।

माइजूलाई अस्पताल ल्याइयो। यता सबैलाई खबर गरेँ। अप्तालमा जम्मा भयौं । माइजूको अवस्था नाजुक थियो। उहाँ अचेत हुनुहुन्थ्यो। आकस्मिक सेवामा राखेर उपचार सुरु भयो। अस्पतालको उपचारमा हामीलाई पूर्ण भरोसा थियो। उपचार सफल हुनु, नहुनुमा भगवानको भरोसा। हामी अस्पताल प्रांगणमा जम्मा भएर माइजूको स्वास्थ्य लाभको कामना गरिरह्यौं। हामीले धैर्यता गुमाएका थिएनौं। माइजू निको भएर फर्कने आश जिवितै थियो।

माइजू मेरा लागि आमापछिको आमा जत्तिकै हुनुहुन्छ। मैले मावलमै बसेर एसएलसीसम्मको शिक्षा लिएँ। म ५ वर्षको हुँदादेखि माइजूकै काखमा हुर्किएँ । बाल्यबस्थादेखि किशोराबस्थासम्म उहाँले मातृवास्तल्य प्रदान गर्नुभयो। उहाँले घरबाट टाढा मामाघरमा बस्दा आमाको कमी महसुस हुन दिनु भएन। मेरो खानपान, शिक्षादीक्षामा उहाँले आफ्नो छोरालाई जत्तिकै हेरचाह गर्नुभयो । कतिपय अबस्थामा आफ्नो छोरालाई भन्दा बढी। सायद भान्जो भएको नाताले पनि हुनसक्छ।

माइजूको यस्तो अबस्थाले मन बेचैन थियो। मामाको बेचैनी झन् खपिनसक्नु थियो। उहाँ बुढेशकालमा माइजूले मृत्युलाई जित्ने आशमा टोलाइ रहनु भएको थियो। भाइबहिनी मामाका छोराछोरी को मलिन अनुहारले मेरो धैर्यतालाई चुनौती दिइरहेका थिए। सबैलाई सम्हाल्ने मेरै जिम्मेवारीजस्तै लागिरहेको थियो। मआफैं सम्हालिन नसक्ने अबस्थामा थिएँ। माइजूको उपचारमा कुनै कमि हुन नदिन सानुबुबा राधाकृष्ण र ज्वाईं माधव दौडधुुपमा हुनुहुन्थ्यो। 

अन्ततः चिकित्सकले माइलुलाई आइसियुमा राखेर उपचार गर्ने भए। हामीलाई आइसियुका चिकित्सकले उहाँको क्रिटिकल अवस्थाबारे जानकारी गराए। उहाँको उपचारका लागि चाल्नु पर्ने कदमबारे जानकारी गराए। उपचारका लागि गर्नु पर्ने झण्डै १५ वटा विधिमा हाम्रो मञ्जुरी खोजे। माइजूको त्यस्तो अबस्थामा हामीले यो गर, त्यो नगर भन्ने अबस्थै थिएन। भाइ बैकुण्ठले छोराको नाताले सबै प्रकारका उपचारका स्टेपमा मञ्जुरी दिएर हस्ताक्षर गर्यो।

माइजूको उपचारमा प्रशिद्ध चिकित्सक गोपालरमण शर्मालगायतको समुख सक्रिय रह्यो। सानुबुबा, म, भाइ बैकुण्ठलगातले उहाँलाई भेटेर माइजूको अबस्थाबारे जिज्ञासा राख्यौं। उहाँले उहाँ शकुशल फर्कने सम्भावना ७० प्रतिशत रहेको भन्दै हामीलाई ढाडस दिनु भयो। उहाँले विरामीको अबस्थामा अलिकति सुधार आउने वित्तिकै सल्यक्रिया गर्ने बताउनु भयो। 

मेडिसिटीको उपचार खर्च हाम्रो पहुँचमा थिएन। पाँचे तारे स्तरको सुविधा भनिएको अस्पतालको शुल्क पनि त्यही अनुसारकै थियो। यद्यपि माइजूको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं। मावली भाइहरु आफैं बन्धकी बसेर पनि माइजूको उपचार गर्न तयार थिए। 
माइजूको बुधबार पनि सल्यक्रिया भएन। उहाँको अबस्था स्थिर रहेकाले गर्न नसकिएको चिकित्सकले बताए। बिहीबार सल्यक्रिया गर्ने आस्वासन दिए।

दुई दिनको प्रयासपछि चिकित्सकले उहाँलाई बचाउन नसकिएको घोषणा गरे। भाइले मलाई अस्पताल जाँदै गर्दा बाटोमै दुखद खबर सुनायो। मलाई असैह्य पीडा भयो। गाडीमै डाँको छोडेर रुन थालेँँछु। मलाई अरु यात्रुले सान्त्वना दिए। सम्हाले । माइजूलाई गुमाउनु पर्दाको पीडा थामिसक्नु हुने कुरै भएन। तैपनि सम्हालिने प्रयास गरेँ।

गाडीबाट झरेर दगुर्दै अस्पताल पुगेँ। अस्पताल पुग्दा मामा, भाइबहिनीको रोदन थामी नसक्नु थियो। कसरी थामिनुहोस् मामा। बुढेसकालमा जीवनसाथी गुमाउनुको पीडा अरुले कसरी महसुस गर्न सक्छ ? उता हजुरआमा गुमाएर एक्लो हुनु भएको १०० बर्ष पुग्नु भएको हजुरबुबाको अबस्था के होला ? उहाँ माइजूलाई आफ्नी आमा भन्नुहुन्थ्यो। उहाँलाई बुढेसकालमा चिसोतातो सोध्ने माइजूमात्रै हुनुहुन्थ्यो। यस्तो अबस्थामा बुहारी गुमाउनु पर्दाको पीडा यहाँ शब्दमा बर्णन गर्नै सकिँदैन। अस्पतालमा कोकोहोलो थियो। मआफैं बिक्षिप्त थिएँ। अरुलाई सम्हाल्न गाह्रो भइरहेको थियो।

आफूलाई सम्हालेर अन्तेष्टिको तयारी गरियो। आर्यघाट बुक गरियो। आफन्तहरु जम्मा हुँदै जानु भयो। शव बाहनको ब्यवस्था गरियो। हामी अस्पतालले कति खेर हामीलाई माइजूको पार्थिव शरीर उपलब्ध गराउँछ भन्ने प्रतीक्षामा थियौं। 

चिकित्सकसँग कुरा गर्न मआफैं आइसियुमा गएँ। त्यहाँ माइजुलाई सामान्यभन्दा पर्दाले बारेर राखिएको थियो। हेरें, माइजूको अनुहार चहकिलो छ। स्वासप्रसावस नियमित जस्तै छ। अक्सिजनको मात्रा ९८ देखाइरहेकको छ। उहाँ मस्त निन्द्रामा रहनु भएको जस्तै लाग्छ। उहाँले हामीलाई छाडेर जानु भएको अनुभूति हुँदै भएन। त्यसपछि चिकित्सकलाई जिज्ञासा राखेँ। उनले भेन्टिलेटरले स्वासप्रस्वास गराइरहेकाले हटाउनासाथ उहाँले आफैं स्वास फेर्न नसक्ने बताए। होला भन्ठाने। चिकित्सकलाई कसरी विश्वास नगर्नू !  ‘हामीलाई कति खेर विदाइ गर्नु हुन्छ?’ चिकित्सकलाई मेरो प्रश्न। 

‘तपाईंहरु तयार हुनुस्। तपाईंहरुले भन्नासाथ हामी पठाउँछौं,’ उनको उत्तर थियो, ‘अब अन्तिम पटक अनुहार हेर्न कोही आफन्त आउन चाहनुहुन्छ भने ल्याएर देखाइ दिनुस्।’ 

त्यसपछि मैले आफन्तहरु सबैलाई एकएक गरि हेर्न पठाएँ। कसैले विश्वासै गर्दैन, अब माइजू हुनुहुन्न भनेर।  हामी विल तिर्न गयौं। काउन्टरले आइसियुबाट बिल नआएको बतायो। हामी पुनः आइसियु पुग्यौं। त्यहाँका चिकित्सकले भने, ‘माइजूले आँखा हेर्नु भयो।’ उनीहरुले माइजू निको हुने आश अझै जिवितै रहेको बताए। खुशीको सिमै रहेन। सीमा हुने कुरै भएन। अन्तेष्टि गर्न लागेको ब्यक्ति जिवितै रहेको खबर सुन्दा कसलाई खुशी नलाग्ला ?

त्यसपछि आइसियुबाट उहाँलाई सिटिस्क्यान गर्न लगियो। त्यतिखेर सबै आफन्तले हेर्न पाए। उहाँको आँखा खुल्लै थियो। सिटिस्क्यान गरेर फर्काउँदा उहाँका आँखा बन्द थिए। भाइ बैकुण्ठ आमालाई हेर्न आइसियुमा गयो। उसले आमालाई झक्झक्याएर बोलाएछ। ‘आमाले मेरो बोली सुनेर आमाले आँखा हेर्नु भयो,’ भन्यो। एकै छिनमा अस्पतालमा खुशियाली छायो। अस्पताल आएका आफन्त विहानैदेखि अन्नपानीविना बसिरहेका थिए। सबै खाजा, पानी खोज्नतिर लागे। 

अस्पतालले त्यसपछि पुन माइजूको उपचार सुरु गर्यो। हामीले आशा जिवितै राख्यौं। अस्तालको मिटर तीब्र गतिमा दौडिरहेको थियो । माइजू सकुशल फर्कने आशमा हामी उहाँको उपचारका  सबै उपाय गरिरहेका थियौं।

माइजूको सुस्वास्थ्यको कामना गर्दै उहाँका छोरा, छोरी, बहिनी, ज्वाईं, मलगगायतले अस्पताललाई छाडेनौं। यस्तो अबस्थामा अस्पतालले माइजूको मृत्यु सम्बन्धि चिचित्सकले दिएको खबर हामीमाथि भद्दा मजाक लागेको थियो। तैपनि पुन उपचार सुरु भएकाले हामी आशावादी थियौं। 
त्यसपछि थप दुई दिन अस्पताल राख्दा पनि माइजूको अबस्थामा सुधार आएन। त्यसपछि उहाँलाई हामीले आफन्तहरु चिकित्सक रहेको अन्य अस्पतालमा सार्ने निधो गर्यौं। 

सिन्धुलीका समाजसेवी उज्ज्वल थापालाई अन्य कुनै अस्पतालमा आइसियुको ब्यवस्था गर्न सकिन्छ कि भनेर सम्पर्क गरेँ। उहाँ सिन्धुलीबाट आउने हरेक विरामीको उपचारमा सघाउन सधैं तम्तयार भएर बस्नुहुन्छ। मेरो आग्रह सन्नासाथ उहाँ तुरुन्तै अस्पताल आउनु भयो। उहाँले काठमाडों मेडिकल कलेजमा आइसियुमा बेडको ब्यवस्था मिलाउनु भयो।  अर्को दिन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पनि बेड मिल्ने भयो। सानिमाको घर नजिकै भएकाले हामीले शिक्षण अस्पतालमै सार्ने निधो गरेउँ। 

मेडिसिटीका चिकित्सकले त्यहाँसम्म लैजान सहयोग गरे। माइजूलाई एक दिन इमर्जेन्सीमा राखेर आइसियुमा सारियो। त्यहाँ चिकित्सकले निकै प्रयास गरे। अन्ततः माइजुले साँझ हामीलाई छाडेर देहत्याग गर्नुभयो। 

माइजूको ब्रेन ह्यामरेजको पीडा हामीले यही साता नजिकका तीन जनामा देख्यौं। मेरै नजिकको मामाको छोरा २३ वर्षीय पौडेलको मस्तिष्क रक्तश्राब भएपछि शल्यक्रिया गरेको नवौं दिनमा निधन भयो । पुत्रशोकको पीडामा रहनु भएका मामा केदार पौडेल आफैं छोराको काजक्रिया गर्न कोरामा बस्नु भयो। यस्तै पीडा सिन्धुलीको तीनपाटनका कोइराला परिवारलाई परेको थियो। त्यहाँका ३६ वर्षीय गोबिन्द कोइरालाको पनि मस्तिष्क रक्तश्राबकै कारण काठमाडौंमा उपचार गर्दा गर्दै निधन भयो।  पछिल्लो समय मस्तिष्क रक्तश्राबको घटना निकै बढेको देखियो। पीडा भोग्नेलाई मात्र थाहा हुने रहेछ । हामीमाथी ठूलो बज्रपात परेको छ यतिखेर। 

माइजूको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर भाइहरुलाई सिन्धुलीको कमलामाई–१० मा काजक्रियाका लागि लिएर गयौं। त्यहाँ ९९ बर्षका हजुरबा माइजू सकुशल फर्केर आउने आशमा बाटो हेरेर बस्नु भएको थियो। केही बर्षअघि हजुरआमा गुमाएर एक्लो जिवत विताइरहनु भएका हजुरबाबालाई तातोचिसो सोध्ने सहारा एकमात्र माइजू हुनुहुन्थ्यो। ‘मैले आज आमा गुमाएको छु,’ हजुरबुबाले डाँको छाड्दै भन्नुभयो, ‘अब म सराहाबिहीन भएँ ।’ सताब्दी पुरुष बन्न लाग्नु भएको हजुरबाबाको बुढ्यौलीले चिम्सा भइसकेका आँखामा आँशु देख्दा हाम्रो मन थामिने कुरै भएन । प्रकृतिको नियम सबैले स्वीकार्नै पर्छ । हामी मावलमा माइजूबिहीन भएर टोलाउँदैछौं।

Leave a reply

HTML Tags are not supported

Post My Comment »