बलात्कारीलाई नमरुन्जेलसम्म जेलमै राख्ने कानून बनाउँदै ओली सरकार

२४ श्रावण २०७५

banner

काठमाडौँ । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ।

बलात्कारीलाई आजीवन कारावास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिएकी छन्।

समाजमा महिला र बालिका माथि बलात्कारको घटना बढ्दो रुपमा देखिएपछि बलात्कारीलाई आजीवन कारावास सजायको व्यवस्थासहित कानून संशोधन गर्न लागेको उनले बताइन्।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री थापाले बलात्कारको सजाय सम्बन्धमा कानूनमा हुन लागेको संशोधनबारे जानकारी दिँदै १० वर्ष मुनिका बालिका, क वर्गका अपांग महिला तथा ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई बलात्कार गर्नेलाई आजीवन कारावास हुने गरी कानूनमा संशोधन गर्न लागेको बताएकी हुन।

समितिको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदले बलात्कारीलाई कडाभन्दा कडा कानून ल्याई सजाय गर्न माग गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए।

बैठकमा अधिकांश सांसदले समाजमा महिला र बालिका असुरक्षित बन्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

मालिकमाथि बलात्कार र बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनाएको उल्लेख गर्दै महिला सांसदहरुले बलात्कार नियन्त्रण गर्न बलात्कारीको लिङ्ग छेद्न गर्ने, फाँसी दिने वा आजीवन कारावास गर्ने जनदबाव आइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए।

सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले कडा सजाय र कानूनले मात्र बलात्कारका घटना रोकिन गाह्रो हुने बताउँदै बलात्कार घटना रोक्न नागरिकस्तरमा जनचेतना बढाउनुपर्ने तथा स्थानीय सरकार बलियो र प्रभावकारी हुनुपर्नेमा जोड दिए।

बलात्कारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन भएमा समाजमा विकृति फैलाउने घटना नियन्त्रणमा आउन सक्ने विश्वास व्यक्त गरे। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको भावी कार्ययोजनाका सम्बन्धमा पनि छलफल भएको थियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष