क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षा चुनौती बढ्यो

२५ श्रावण २०७५

banner

नेपालगञ्ज । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउँछन्। नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन्। 

कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन्। 

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ। कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन्। 

“क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो” जेलर लामिछानेको भनाइ छ। 

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ। अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ। 

नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ। यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ। १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष