स्मरण : बाबाको त्यो १ सय रुपैंया

२५ श्रावण २०७५

banner

भूमिराज पिठातोली

तिहारको दिन, घरमा बिहानैदेखि खानेकुराका बिभिन्न परिकारहरु पाक्दै थिए। ग्रामीण भेगमा खानेकुराका परिकारहरु सेल (स्थानीय भाषामा बाबर), तरकारी (दुई/तीन थरीका मिक्स नभएका फर्सी, गान्टे मुला, आलु/मुला, काँक्राको तरकारी), अचारमा पनि दुई/तीन थरीका स्थानीय अचार, चटनी लगायतका परिकारहरु पाक्दै थिए। घरमा पनि रमझम छाएको थियो।

आज भन्दा १६ वर्ष अगाडिको कुरा हो। भाइटिकाको दिन। फुपू तथा दिदीहरु चारैतिरबाट आउँदै थिए। सबैसंग खुसीका कुराहरु साँटिदै थिए। फुपू दिदीहरुले ल्याएका फलफूल चकलेटले हामी बालबालिकामा खुशी भने निकै चुमेको थियो। ती चकलेट खाँदै गाउँमा सबैलाई चकलेट चपाएको देखाउँदै थियौं।

बालकको सोचाई र आशा समय अनुसार एउटै हुँदो रहेनछ। एउटै चकलेट खान ५ सेकेन्ड समय पनि नलाग्ने चकलेटको रस निकाल्दै चुस्दै गथ्र्यौं जसले आधासम्म पनि चकलेट खाएको अरुलाई देखाउँदै थियौं। त्यो खूशी त्यो बेलाको उच्च थियो। मुखभित्र खानेकुरा चपाएको देखेर अरु बालबालिका पनि पछाडी लाग्ने समय पनि त्यही थियो।

समाजमा हुँदा खाने र हुने खानेलाई अलग्गै चिन्न सकिन्थ्यो र अहिले पनि त्यसरी नै चिन्न सकिन्छ। केही समय अगाडी लाहुरेको परिवारलाई हुने खाने परिवार भनेर सम्मान गरिन्थ्यो भने हिजो आज शिक्षकको परिवारलाई हुने खाने परिवार भन्दै सम्मान गरिन्छ। निजामती सेवा तर्फ खासै न्युन हुन्छन्। शिक्षक भने अलि बढी नै हुन्छन्।

बालबालिकामा शिक्षकको सन्तान भनेर यसरी चिनिन्थे की उनीहरु आफ्ना आमाबुवालाई सामान्य नेपाली शब्द बुवा आमा भन्दैनथे। उनीहरु त यसैलाई अंग्रेजी रुपान्तरण ‘ड्याडी मम्मीको’को संज्ञा दिएरै बोलाउने गर्दथे। अरु सामान्य परिवारका बालबालिका भने आमा बुवा नै भनेर बोलाउने गर्थे, आज पनि त्यस्तै छ। त्यसै शब्दले नै अधिक फरक देखाउँथ्यो । त्योसंगै लवाइ खवाइ पनि।

त्यसैवर्ष तिहारको दिन बिहानदेखि रमझममा सबैलाई खुसी नै थियो। तर त्यो बेला मेरो ‘चकचक तथा चोर्ने’ बानीले गर्दा सबैको खुसीमा पनि बाबालाई मेरो कारणले पीडा थपिएको थियो। सायद मैले बाबालाई सम्झनामै पहिलो पीडा दिए हुँला। 
आर्थिक अभावका कारण सधैं पीरलो पर्ने परिवारमा बाबाको त्यो सानो सय रुपैंया चोर्दा बाबालाई कति पीडा भयो होला ? त्यो अहिले सम्झना पनि गर्न सकिन्न। बिहानदेखिको बाबाको मुहारमा भएको खुसीमा एक्कासी दरार उत्पन्न भयो।

मेरो चोर्ने बानी पनि त्यो दिन फरक थियो। अरु बेला चोरेको पैंसा कहिल्यै बच्दैन/फर्कदैन थ्यो। खानेकुरा किनेर खाइन्थ्यो। बेलुका चोरे बाफतको सजाय (राम धुलाई) कुटाई हुने गथ्र्यो। चोरेको दिनमा कुटाई खाएपछि रातभर जबसम्म निन्द्रा लाग्दैन तबसम्म रुने त्यसपछि रुदैमा सुत्ने गरिन्थ्यो।

चोरेको दिनमा हुने दैनिक बढी जसो त्यस्तै हुन्थ्यो। त्यो दिन भने अलि फरक थियो। भाइटिकाको दिनमा बाबाले बहिनीहरुलाई दक्षिणा दिन भनेर राखेको त्यो सय रुपैंया बाबाको कोटको खल्तीबाट बिहानै चोरी सकेको थिएँ मैले।

दिउँसोको करिब २ बजेतिर बाबाको अनुहार निलो कालो भएको प्रष्टै देख्न सकिन्थ्यो। मलाई थाहा भैसक्यो की बाबा रिसाउनु भएको छ भनेर। त्यो दिन बाबाले मलाई कुट्ने अवस्था थिएन। किनकी घरमा पाहुनाहरु धेरै थिए। यदि मलाई बाबाले पिट्नु भयो भने पाहुनाको अपमान हुने भन्ने डर थियो।

त्यो पैसा मलाई चोरेको भन्ने बाबालाई थाहा भैसकेको थियो। त्यसैले त्यो दिन मलाई फकाउन बाहेक अन्य विकल्प थिएन। झलझल याद आउँछ। बाबाको अपमान हुन सक्ने अवस्थाको आँसु मेरो अगाडी तेर्सिएका थिए। अनि बाबाले नै ‘तँलाई यस्तो किनीदिन्छु, उस्तो किनी दिन्छु त्यो पैसा दे।’ भनेर फकाएपछि लुकाएको त्यो १०/१० को नोट गरी सय रुपैयाँ फिर्ता गरे। त्यसपछि बाबाको मुहारमा हराएको सुनको गाग्री फेला परे जस्तै भयो।

त्यो निम्न अवस्था अहिले मध्यममा पुगेको छ। त्यो बेलाको सय रुपैंया भनेकै पनि हजार रुपैंया जस्तै लाग्थ्यो। त्यसैमा अधिकाशं परिवार सय रुपैंया भन्दा पनि कम हुने थिए। त्यो पनि बम्मैया (लाहुरे) हरुसंग बाहेक अरु परिवारसंग त्यो पनि हुँदैनथ्यो।

गाउँघरमा आयश्रोत खासै कसैको थिएन। कसैले कतैबाट १० रुपैंया ल्याएको भएपनि त्यसको अति नै सुरक्षा हुने गथ्र्यो। बाकसको नाममा फाटो कपडैकपडामा बेरेर घरमुलीबाट लुकाइन्थ्यो। त्यो अवस्था सोच्दा साँच्चिकै कुनै देशको कथा जस्तै लाग्छ होला कतिपयलाई।

त्यसको केही वर्षपछि विकास निर्माणको नाममा कुलो नहर खन्ने योजना आयो। त्यो बेला नहर खनेपछि पैसा पाइने भन्ने संकेत के देखियो त्यसपछि काम गर्नसक्नेहरु लागि परे। कुनै परिवार खाली नभएर काममा जुटे।

विकास निर्माणका नाममा त्यो बेला नी भ्रष्टाचार व्याप्त हुन्थ्यो तर ठेकेदारले के कति खायो भन्ने कुरा मतलब नगरेर दिनको ३० रुपैंया ज्याला पाएपनि हर्षित हुन्थे। पैसा पाएको दिनमा त प्रायः सबै आकासिन्थे खूशीले। रौनक नै फरक हुन्थ्यो। कसले कति पैसा पाए। कुन परिवारमा कति पैसा गयो सबैलाई जानकारी हुन्थ्यो। त्यसपछि कसले कतिसम्म बचाउँछ भन्ने पनि सबैलाई थाहा हुन्थो। अहिले पनि त्यो समाजको हालत केही फेरबदल भए पनि उस्तै छ तर राज्यको नजरमा भने सुगम क्षेत्र घोषणा भयो।

आर्थिक अवस्था, संस्कार र समाज अनुसार चल्नैपर्ने हुँदा प्रायः सबै परिवारलाई उस्तै थियो। त्यसै माथि हाम्रो परिवार पनि निम्न वर्ग मध्येको एक थियो। सबैमा तिहार तथा अन्य चाँडपर्वका बेला हर्षितका चाङ्गहरु फैलिने गर्थे भने, हाम्रो जस्तै परिवारमा गार्जिएनलाई चाँडवाँडको बेला छट्पटाहट जस्तै हुन्थ्यो।

त्यो स्वभाबिक पनि हो। खुसी एउटै कुरामा मात्र हुँदैन्। खुसीसंगै आउने अन्य सामाजिक पीडाले पर्वलाई पनि खासै रमाइलो हुन दिदैन्। त्यो हुँदा खाने परिवारको प्रमुख समस्या हो।

‘गरिबीले पलाएको खूशी पनि टाढिन्छ’ भने जस्तै विभिन्न भेगीय समाजका आ–आफ्नै संकटले त्यो अवस्था निम्त्याउँछ। किनकी आर्थिक अवस्थाले नीति नियम भन्दैन। नैतिकताको आधारले मात्रै चल्नुपर्ने संकेत देखाउँछ। उक्त समाज महंगीको जालोमा फसेको पनि वर्षौं भइसकेको अवस्थामा कतिपयले नून नपाएर पनि छट्पटाउनु पर्ने अवस्था सिर्जित हुँदै आयो। अन्नबालीसंग नून साट्नुपर्ने अवस्था भएको समाज हाल राज्यको नजरमा सुगम नै भयो।

विविध कुराले अपर्याप्त भएको समाजलाई सिंहदरवारले कल्पनाको आधारमा सुगम घोषणा गर्नुले त्यो क्षेत्रका जनतालाई थप पीडा र मनोबल घटाएको जस्तै भएको छ। एउटै पाकेट नूनको पचासौं पर्ने, त्यो ल्याउन पनि दिनभर हिड्नुपर्ने, त्यस्ता सामाजिक अनैकौं समस्याले गुर्जिएको क्षेत्रलाई राज्यले सहजै सुगम क्षेत्र घोषणा गर्नु पक्कै पनि जनताप्रति राज्य उत्तरदायी नहुनु जस्तै हो।

प्रतिक्रियाका लागि : jbhumiraj803@gmail.com

Leave a reply

HTML Tags are not supported

Post My Comment »