गोसाइँकुण्ड मेलामा १५ हजार बढी तीर्थयात्रु पुर्याउने लक्ष्य

२८ श्रावण २०७५

banner

रसुवा । यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ।

मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ। नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ।

कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ।

यसैबीच गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि प्राथमिक उपचार स्थान तय भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार धुञ्चेदेखि माथि पाँच स्थानमा स्वास्थ्य शिविर राखिनेछ।

गोसाइँकुण्डमा हिमालय उद्धार संघ, बुद्ध मन्दिरमा सक्षम नेपाल गैसस, लौरी विनायकमा पाटन स्थास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणलाई प्राथमिक उपचारको जिम्मा दिने तय भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने यात्रु उकालो लाग्ने प्रवेशद्वार मिनी गोसाइँकुण्डमा स्वास्थ्य परामर्श दिने कार्यक्रम तय भएको बताएको छ।स्वास्थ्य शिविर सञ्चालन गर्ने सबै निकायले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा काम गर्नुपर्ने व्यवस्था गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख शिवप्रसाद बडालले जानकारी दिए।

तीर्थमा आउने यात्रुलाई यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। समुद्र मन्थन गर्दा निस्केको कालकूट विष पिई प्राणीजगतलाई बचाएर नीलाद्री पर्वतमा विराजमान शंकर गोसाईँको दर्शन जीवनमा एक पटक भए पनि दर्शन गर्ने धार्मिक मान्यता रहिआएको पण्डितले बताएका छन्।

गोसाइँकुण्ड समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा पर्छ। विस्तारै विस्तारै हिडी ग्लुकोज पानी प्रशस्त पिउन, खाली पेट नराख्न, थोर थोरै खान, टाउको दुखेमा भिक्स लगाउन र अदुवा, लसुन र कागती चपाउँदै जान समितिका पूर्वउपाध्यक्ष बाबुराम श्रेष्ठले यात्रुलाई सुझाव दिए।

यात्राका क्रममा भेटिएका रङ्गीबिरङ्गीका फूल नचलाउन पनि सुझाव दिइएको छ। गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिन्छ। चन्दनबारीबाट उकालो लागेपछि हिन्दू यात्रुले जय शम्भो र बौद्ध धर्म मान्नेले ॐ गोसार्इँकुण्ड ली ल्हा झ्याली निमा भन्दै हिँड्छन्।

त्यस्तै लामा झाँक्री आआफ्ना बाजा र झ्याम्टा बजाई नाच्दै कुण्ड पुग्ने चलन रहिआएको स्थानीय बासिन्दा किप्पा छिरिङ तामाङले जानकारी दिए।

कुण्डमा पुगी डुबुल्की मारेपछि सबै थकाई समाप्त भई नयाँ अनुभूति प्राप्त हुने तीर्थबाट फर्केका यात्रु बताउँछन्। कुनैकुनै यात्रुले एक हप्तासम्म लौरीविनायकमा बास लिने गर्छन्।

हरेक वर्ष गङ्गादशहरामा १० दिन र जनैपूर्णिमाका समयमा पाँच दिन विशेष मेला लागे पनि विसं २०७२ को भूकम्पपछि दैनिक रुपमा सरदर ३० देखि ४० यात्रु गोसाइँकुण्ड जाने गरेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए।

हिमालयपुत्री पार्वती विराजमान गतलाङको पार्वतीकुण्डमा पनि जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको गतलाङका कामीगारा तामाङले बताए।

गोसाइँँकुण्डपछि पार्वतीकुण्ड पुग्ने र दुवै कुण्डको जल धैबुङस्थित कालिका मातालाई चढाई घर पुग्ने यात्रुलाई जिन्दगीको उत्तराद्र्धमा सुखका साथ अगाडि बढ्न सहज हुने पुरोहित टङ्कप्रसाद ढकालले बताए।रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »