महिला फुटबल एसियाली छनोटः पहिलो चरणको खेल मङ्गलबारदेखि

डिसी नेपाल
२१ चैत २०७९ १७:५४

काठमाडौं। पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन्।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालको समूहमा भियतनाम छ। सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए। छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए।

फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ।

प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए।

यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो। नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन्। वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *