गोपनीयता राख्न फोनमा एप कसरी प्रयोग गर्ने

५ भाद्र २०७५

banner

बीबीसी । नेपालमा स्मार्ट्फोन र इन्टर्नेट प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गएको छ। सबैले व्यक्तिगत प्रयोजनका लागि हातेफोनमा सम्पर्क नम्बर, एसएमएस र तस्बिर आदि गोप्य तथा संवेदनशील विवरणहरू सङ्कलन तथा सङ्ग्रह गर्छन्।

तर इन्टर्नेट जडित फोनमा हालिएका विभिन्न एपहरूबाट त्यस्ता सामग्री चुहिने र गोपनीयता भङ्ग हुने सम्भावना बढेको सूचनाप्रविधिका विज्ञहरूले बताएका छन्। ट्रुकलर, सिङ्क मी, सीएम सेक्युरिटीजस्ता कतिपय एपले कुनै मोबाइल नम्बर राख्दा त्यो कसको भन्ने बताइदिन्छन्।

नचिनेका नम्बरबाट आएका कल कसले गरेका हुन् त्यो चिनाउने र स्प्याम कल रोक्ने सुविधा दिएर प्रयोगकर्तालाई आकर्षित गरिराखेका केही एपहरूले अर्कातर्फ उनीहरूलाई थाहै नहुनेगरी निजी र संवेदनशील सूचना भण्डारण गर्छन्।

नियमनकारी भनिएका निकायका अधिकारीहरू चाहिँ प्रयोगकर्ताहरू सचेत हुनुजत्तिको भरपर्दो तरिका अरू नरहेको बताउँछन्।

एपहरू राख्ने बेलामै त्यसको विकासकर्ताहरूले प्रयोगकर्तालाई विभिन्न शर्तहरू राखेका हुन्छन् जसलाई उनीहरूले प्रायः राम्रोसँग नपढीकनै तिनलाई स्वीकार गर्ने हुँदा एप बनाउने कम्पनीले त्यसको फाइदा उठाउने गरेको विज्ञहरू बताउँछन्।

प्रयोगकर्ताले कल्पना नै नगरेको एपले समेत अनुमति लिएरै थुप्रै गोप्य विवरण लिइराखेको हुनसक्छ। कुनै एक व्यक्ति सचेत नभइदिँदा उससँग भएका अन्य व्यक्तिका विवरणहरू पनि चुहिनसक्छन् र उनीहरूको गोपनीयता भङ्ग हुनसक्छ।

साइबर सुरक्षाबारे विशेषज्ञता भएका सरोज लामिछाने भन्छन्, मैले गोप्य राख्नुपर्ने कुरा मेरो हातमा अब रहँदैन। अरू कसैको हातबाट समेत मेरा गोप्य सूचनाहरू चुहिन सक्ने भए। विज्ञहरूका अनुसार सबैभन्दा एपको प्रकृति र उद्देश्य केलाइसकेपछि मात्र त्यसलाई प्रयोग गर्नुपर्छ।

जस्त, कुनै पात्रो वा टर्चलाइटको एपले उसले दिने सेवामा कसैगरी आवश्यक नपर्ने कल लग, एसएमएस वा क्यामराको लागि समेत अनुमति माग्छ भने त्यसमा प्रयोगकर्ताले दुई पटक सोच्नुपर्ने उनीहरूको सुझाव छ।

एपहरूबाट गोप्य सूचना चुहिने सम्भावनासँग जुझ्नु राष्ट्रिय कानुन तथा निकायहरूको वशमा नहुने सरकारका एकजना वरिष्ठ अधिकारी स्वीकार्छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, एपहरू जहाँबाट पनि अप्लोड र सञ्चालन गर्न सकिने भएकाले त्यो कुनै देशको नियमनभित्र पर्दैनन्। त्यसैले राष्ट्रिय कानुनले गर्नसक्ने काम निकै कम हुन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ जसमध्ये झन्डै डेढ करोड फोनबाट इन्टर्नेट प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँछ।

पछिल्ला समय फेसबुकबाट दशौँ लाख प्रयोगकर्ताका डेटा दुरुपयोग भएको थाहा भएपछि यस विषयलाई झन् बढी चासोका साथ हेरिएको छ।

डेटा सुरक्षाका लागि युरोपेली सङ्घ (ईयू) एउटा राम्रो उदाहरण हो। ईयूले आफ्ना सदस्य राष्ट्र सबैलाई सहयोग पुग्नेगरी आफ्नो डेटा सुरक्षा र गोपनीयताका नीति बनाएर कार्यान्वयनमा ल्याएको छ।

सामाजिक सञ्जाल र डेटा सुरक्षाबारे अनुसन्धान गरेका विज्ञ विवेक पौडेलको सुझाव छ, 'ठूला बहुराष्ट्रिय कम्पनीले प्रयोगकर्ताका डेटा समेत बेचेर मुनाफा गरिराखेका भए पनि उनीहरूले त्यसको हिस्सा बाँड्दैनन्। कानुन निर्माणमा सार्क देशहरू मिलेर जाँदा फलदायी हुन्छ।'

त्यसरी जाँदा उनीहरूले लिइसकेका डेटामा समेत आफ्नो पहुँच र नियमन सम्भव हुने विज्ञहरूको भनाइ छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »