कविता - भुइँमान्छेको प्रश्न

१९ भाद्र २०७५

banner

कसले अँठ्यायो       
बुद्धको छातीमा बसेर    
त्यो किशोरी लालीगुराँसको घाँटी    
जुन गुँरास   
दिनभरि सगरमाथाको गीत गाएर     
फर्किरहेको थियो  पाठशालाबाट ।    
कसले चुँडाल्यो त्यो चौबन्दीको तुना   
 जुन चौबन्दी   
साग बेच्ने केटीले लगाईरहेकी  थिई ।    
कसले छिनाल्यो डन्डीबियो खेलिरहेको किशोरको शीर
जसमाथि मुस्कुराइरहेको थियो    
गोरखाली ढाका टोपी ।   
कसले बोकायो      
यि बुढा भरियाहरुको पिठ्युमा    
गरिबीको यत्रो पहाड ।    
को हो त्यो स्वाभिमानी    
जसले हिमालको शीर उठ्नै दिएन ।  
 को हो त्यो यतिबिघ्न द्रुतगामी   
जसले नदीको पानी बग्नै दिएन ।   
गाईको रगत चुसेर ढाडिएको जुकाजस्तो   
उ त्यो पर उभिएको मान्छे   
के साँच्चि त्यही मान्छे हो त किसान र मजदुरको नेता ?     
कस कसले देश बेचेर सुनको जुत्ता लगाएका छन् ?      
कस कसको हातमा छ कालो धन?  
 कस कसको हातमा छ आलो रगत ?     
के तिमीले देखेका छौ?    
झण्डाको माथि उभिइरहेको जुनलाइ सोधें    
देख्या छैन भन्यो ।   
झन्डाको तल उभिईरहेको  घामलाई सोधें   
 देख्या छैन भन्यो ।   
आँखामा पट्टी बाँधेर    
न्यायलयमा उभिइरहेको प्रतिमालाई सोधें     
अहँ देख्या छैन भन्यो ।  
 फेरि सोधें     
त्यसो भए तिम्रो तराजुले आलु जोख्छ कि चामल ?   
 न्याय जोख्छ कि पैसा ?  
अँह कुनै जवाफ दिएन !   
बस्  म निरुत्तर फर्कें   
बस् म निरुपाय फर्कें ।  
शिब पलाँस   , स्याङ्जा    
 हाल -  अमेरिका

Leave a reply

HTML Tags are not supported

Post My Comment »