लाल गोपाल सुवेदीलाई राजमित्र प्रज्ञा पुरस्कार

२१ भाद्र २०७५

banner

अमेरिका । राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष कवि लालगोपाल सुवेदीलाई दिने भएको छ। 

पुरस्कारका लागि गत हप्ता गठित तीन सदस्यीय निर्णायक समितिले यो वर्षको पुरस्कार कवि लालगोपाल सुवेदीलाई दिने घोषणा गरेको हो। साहित्यकार भारती गौतम, साहित्यकार गोवर्धन पूजा र संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले शैवको आज भएको छलफलले उक्त निर्णय गरेको हो।

नेपाली साहित्यमा तीस दशकदेखि निरन्तर सक्रिय कवि लालगोपाल सुवेदी अहिले भर्खरै सम्पन्न अनेसासको निर्वाचित सचिव हुन् भने बोष्टन च्याप्टरका अध्यक्ष पनि हुन्। एक दर्जन कृति प्रकाशित गरिसकेका सुवेदी  छन्द कविता र गद्य कविता दुवैमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत  छन्। 

नेपाली भाषा साहित्यमा राम्रो दख्खल भएका सुवेदीका बारेमा प्रायः सबै समालोचक एवं साहित्यकार परिचित छन्। यस राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानबाट यस अघि पुरस्कृत भारती गौतम, दीनेश राजभण्डारी र गोवर्धन पूजा बोष्टनमा बसेर नेपाली भाषा साहित्यका लागि सक्रिय व्यक्तित्व हुन्।

बोष्टनमा बसेर नेपाली भाषा साहित्यमा सक्रिय व्यक्तिलाई प्रदान गरिने उक्त पुरस्कार अब विस्तारै बोष्टनभित्र र बोष्टन बाहिर गरी दुई व्यक्तित्वलाई  सम्मान गर्ने योजना रहेको छ। 

साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्धारा स्थापित उक्त पुरस्कारको राशि २५१ डलर र सम्मान पत्र छ। पुरस्कार हरेक वर्ष मोतीजयन्तीको सुअवसरमा अनेसास बोष्टनसंग संयुक्त रुपमा कार्यक्रम गरी प्रदान गर्ने पूर्व निर्णय अनुसार  यस पटक अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्यमा आउँदो अगष्ट ९ तारिखका दिन शनिबार बिहान एघार बजे राजमित्र प्राङ्गणमा हुने आयोजकले जनाएको छ। 

यस कार्यक्रमका संयोजक समाजसेवी तथा यस संस्थाका उपाध्यक्ष यम पौडेलका अनुसार कार्यक्रम ठीक समयमा सुरू भएर दुई घन्टामै सकिनेछ। पुनः बोष्टनवासी तथा बोष्टन नजिकका राज्यहरूबाट आउने अतिथिलाई  बस्ने समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ। 

अनेसासका आजीवन सदस्यलाई प्रमुख अतिथिबाट प्रमाणपत्र र अनेसासको ब्याच प्रदान गरिने छ। कार्यक्रममा उपस्थित हुनका लागि आयोजकले सबैमा अनुरोध गरेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »