भिरबाट लडेका रनवीरको हेलिकप्टरबाट उद्धार

२९ भाद्र २०७५

banner

बाजुरा । हिमाली गाउँपालिकामा बिहीबार भिरबाट लडेर एक जना स्थानीयवासी सख्त घाइते भएका छन्। घाइते हुनेमा साबिक रुगिन बोर्ताका ३३ वर्षीय रनवीर भण्डारी रहेका छन्। घर नजीकैको जङ्गलमा दाउरा ल्याउन जाने क्रममा एक्कासि चिप्लेर भिरबाट लडेर गम्भीर घाइते भएको स्थानीयवासी छप्कीलाल बुढाले जानकारी दिए।

बुढाले भने गाउँले मिलेर घटनास्थलबाट त ल्यायौँ तर नजीक स्वास्थ्य संस्था नभएको र यातायातको समेत सुविधा नभएकाले थप उपचारका लागि प्रदेश ७ को पहलमा हेलिकप्टरमार्फत शुक्रबार साँझ नेपालगञ्ज मेडिकल कलेज दशबिगाहमा लगिएको छ। 

गृह मन्त्रालयको समन्वयमा रु तीन लाख भाडा तिरेर थप उपचारका लागि हेलिकप्टर चार्टर गरेको हो। प्रदेश ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्राललयका मन्त्री दीर्घ सोराडी र प्रदेश बलदेव रेग्मीको पहलमा हेलिकप्टरमार्फत घाइतेको उपचारका लागि सुर्खेतसम्म हेलिकप्टर र त्यहाँदेखि कोहलपुरसम्म एम्बुलेन्समार्फत घाइतेको उद्धार गरिएको प्रदेश ७ का कानूनमन्त्री शाहको निजी सचिवालयले बताएको छ। 

घाइते रनवीर भण्डारीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइतेको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनका आफन्तले बताएका छन्। यसरी राज्यले आफ्ना नागरिकप्रति देखाएको गम्भीरताप्रति स्थानीयवासीले खुशी व्यक्त गरेको दलित अधिकारकर्मी गोरख सार्कीले बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »