बाढी पहिरोमा परी १६ जनाको मृत्यु

७ बैशाख २०७४

बोगोटा (कोलम्बिया) । कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । 

बाढी पहिरोकै कारण सयौँ जनाको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ । 

मनिजल्स सहरमा भिषण वर्षापछि आएको यस बाढी पहिरोका कारण अरु कम्तीमा सात जना हराइरहेका जनाइएको छ । 

यसअघि मोकोअ सहरको पहाडी इलाकामा पर्ने तीन वटा नदीमा गत महिनाको ३१ तारिखमा आएको भीषण बाढीमा परी कम्तीमा ३२३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा मारिएका व्यक्ति एक सय जना बालबालिका रहेका थिए । 

मनिजल्सका मेयर जोसे अक्टाभिओ कार्डोनाले स्थानीय एक रेडियोलाई दिएको अन्र्तावार्तामा ढुङ्गा माटोसहितको बाढी पहिरो गएको बताए । 

भीषण वर्षाभएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आह्वान गरिएको उनले जानकारी दिए । 

राष्ट्रपति जोन म्यानुअल सान्तोषले आफ्ना अन्य कार्यक्रम रद्द गरेर घटनास्थलको निरिक्षण गर्ने योजना बनाएका छन् । घटनास्थल मोकोअ जस्तै पुग्नका लागि निकै अप्ठ-यारो र दुर्गम क्षेत्रमा पर्दछ । 

“यो जलवायु परिवर्तनको प्रभाव हो,” उनले समाचारदातालाई भने, “म यस बारेमा सतर्क रहन सबैलाई आह्वान गर्दछु ।

उनले ट्विटरमा लेख्दै घटनास्थलमा तत्काल उद्धार तथा सहयोगका लागि सक्रिय हुन सरकारका सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । 

बाढी पहिरो गएको मनिजल्स क्षेत्रको जनसङ्ख्या झन्डै चार लाख रहेको छ । घटनास्थलमा अहिले पानी, विजुली, सञ्चारलगायतका सेवाहरु अवरुद्ध भएका छन् ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »