
काठमाडौं । मधेस केन्द्रित ६ वटा पार्टीबीच एकता गरेर घोषणा भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) अर्कैको नाममा दर्ता भएको खुलेको छ। एक महिनाअघि नै निर्वाचन आयोगमा यहि नामको पार्टी दर्ता भएको भेटिएको छ।
नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको भेटिएपछि नयाँ दल गठन नहुँदै नामका कारण अप्ठेरोमा पर्ने देखिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम गरेर नयाँ पार्टीको गठन भएको हो।
महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकीकृत भएका हुन्।
धुमधामले सार्वजनिक गरिएको नयाँ पार्टी अप्ठेरोमा पर्ने देखिएको छ। पहिलो गासमै ढुंगा भन्या जस्तो पार्टीले पूर्ण आकार ग्रहण गर्न नपाउँदै नामका कारण समस्यामा पर्ने देखिएको छ। यस अगाडि अर्कैले दर्ता गरेको हकमा नयाँले सोही नाम नपाउने नियम छ।
Leave a reply