तनहुँमा रुघाखोकी र झाडापखालाको प्रकोप, अस्पताल बिरामीले खचाखच 

८ बैशाख २०७४

दमौली । एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।  दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे ।  दमौली अस्पतालका डा कुलदीप केसीले रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । अत्यधिक गर्मी बढेसँगै त्यस्ता बिरामीको सङ्ख्या बढेको हो, डा केसीले भने।

आकस्मिकमा समेत दैनिक ३५/४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी अहेब रामकला पन्थले बताईन् ।  बिरामीको अवस्था हेरेर एन्टिबायोटिकसमेत दिने गरिएको उहाँले बताउनुभयो । बिरामीलाई पानी उमालेर खान, बासी सडेगलेका खानेकुरा नखान, वरपरको वातावरण सफा राख्न, शौचालय गएपछि साबुन पानीले हात धुन, सफा सुग्धर भएर बस्न सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकले बताए। 

ब्यास नपा, जामुने, रिसिङ, म्याग्देलगायतका गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »