गिजा सुन्निने, रगत आउने समस्या छ, अपनाउनुहोस् यी उपाय

८ बैशाख २०७४

banner

बाहिरबाट हेर्दा मानिस जतिसुकै स्वस्थ भए पनि दाँतको समस्याका कारण सास गन्हाउँछ भने व्यक्तित्वमै नकारात्मक प्रभाव पर्न सक्छ। यो समस्याले जुनसुकै उमेर समूहका महिला, पुरुष तथा बालबालिकामा असर गरिरहेको हुन्छ । त्यसैले मुख तथा दन्त स्वास्थ्यलाई बेवास्ता गरी सामान्य रुपमा लिनुहँदैन । सामान्य दाँतको दुखाइलाई ध्यान नदिँदा पछि गएर किराले खाने, गिजा सुन्निने, गिजाबाट रगत आउने, पिप आउने, संक्रमण हुने जस्ता समस्या देखिन्छन्।

 सुरुमै उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ। मुख स्वास्थ्यमा धेरै देखिने समस्या मध्ये गिजाबाट रगत आउनु पनि एक हो। गिजाबाट रगत आउनुको मुख्य कारण व्यक्तिको मुख स्वास्थ्य कमजोर हुनु हो। दाँत तथा गिजाको सतहमा लेउ बसेको हुन्छ। यदि राम्रोसँग सतहबाट लेउ सफा नभएमा माइक्रो अर्गाजिनम व्याक्टेरीयाका कारण गिजामा संक्रमण सुरु हुन्छ। जसका कारण गिजा सुन्निने, रगत आउने हुन्छ। त्यसपछि विस्तारै गिजाले दाँतको भाग छोड्दै जानुका साथै दाँत सतहबाट तल झर्दै जान्छ।

पछि गएर दाँत हल्लिने, रगत आउने, पिप आउने, संक्रमण हुने तथा मुख गन्हाउने जस्ता समस्या देखिँछ। यस बाहेक सूर्तिजन्य पदार्थ चुरोट, खैनी, पान, गुठ्खाको सेवनले पनि गिजामा संक्रमण हुनसक्छ। जसले गर्दा गिजाबाट रगत आउनसक्छ। कहिलेकाहीँ डिप्रेसन, मानसिक तनावमा प्रयोग गर्ने औषधिको सेवन, राम्रोसँग मुख स्वास्थ्यलाई ध्यान नदिने, रगत पातलो बनाउने औषधिका कारण पनि गिजाबाट रगत आउँछ । साथै शरीरलाई आवश्यक पर्ने भिटामिनको कमी, पोषणको कमी, तथा गर्भवती महिलाको हर्मोनमा हुने परिवर्तनका कारण पनि गिजाबाट रगत आउँछ।

दाँत र गिजामा हुन सक्ने किटाणुको संक्रमणबाट बच्न तथा स्वस्थ मुखका लागि मुख्यत यसको सफाईमा ध्यान दिनुपर्छ । दैनिक बिहान र बेलुका मन्जनले दाँत माँझ्ने गर्नाले दाँतको सतहमा जम्मा हुने डेन्टल प्लाग रहन पाउदैन, जसमा विभिन्न प्रकारका व्याक्टेरिया हुन्छन्। दाँतमा अड्केका खाद्य पदार्थहरु पनि ब्रस गर्नाले त्यहाँ रहन पाउँदैनन् । डेन्टल फ्लस (विशेष किसिमको धागो) को प्रयोगले दाँतका विचमा अड्केका खाद्य पदार्थ तथा दाँतको सतहमा वा ब्रसले सफा गर्न नसक्ने ठाँउको सफाइ गर्न मद्दत गर्छ। साथै मुख कुल्ला गर्ने विशेष प्रकारको झोल औषधिको प्रयोग गर्नले गिजाको समस्या तथा गिजाबाट रगत आउने समस्याको रोकथाम गर्छ । साथै सूर्तिजन्य पदार्थ पान सुपारी, गुठ्खाको प्रयोग गर्नहुँदैन। नियमित रुपमा दन्त चिकित्ससको सल्लाह र वर्षमा कम्तिमा दुई पटक दाँच जाँच गराउनु पर्छ।

डा. हरिश जोशीको सहयोगमा 

Leave a reply

HTML Tags are not supported

Post My Comment »