सात सय बढी आरोही  हिमालतिर प्रस्थान

२१ बैशाख २०७४

banner

काठमाडौँ। अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतुको यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् ।

यीमध्ये ४० वटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् । आरोहण अनुमति लिने क्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो सङ्ख्या बढ्ने पर्यटन विभागले जनाएको छ । 

पर्यटन विभागको विवरणअनुसार वैशाख २९ बाट सुरु भएको २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो । 

विभागका निर्देशक एवम् प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममा भन्दा आरोही बढ्ने बताए । 

उनका अनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन्।त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »