उद्योग मन्त्रालयले माग्यो १४ अर्व बजेट

२८ बैशाख २०७४

banner

काठमाडौं। उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कम्तिमा १४ अरव ६१ करोड बजेट माग गरेको छ। अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेका बेला उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट विनियोजन गर्न माग गरेको हो। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा उद्योग मन्त्रालयका लागि ८ अरव २६ करोड सिलिङ तोकेको छ।

आर्थिक समृद्धिका विभिन्न कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउन सो बजेट अपुग हुने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए। उनले बिहीबार पत्रकार सम्मेलन गरी १० वर्ष भित्र मुलुकलाई समृद्ध बनाउने योजना पूरा गर्न अव कम्तिमा १४ अरव ६१ करोड रकम विनियोजन हुनुपर्ने माग गरे।

मन्त्री जोशीले साना उद्योगलाई प्रमोशन गरेर नेपाललाई समृद्ध बनाउने मन्त्रालयको योजना रहेको बताए। मन्त्रालयले एकल बस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र, काठमाडांै औद्योगिक टावर निर्माण, काठमाडौंमा मनोरञ्जन उद्योगको स्थापना लगायतका कार्यक्रमका लागि तोकिएको सिलिङ भन्दा बढि रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गर्नु परेको जनाएको छ । 

मन्त्री जोशीले दश वर्ष भित्र मुलुकमा रोजगारी समस्या समाधान हुने गरी उद्योग स्थापना गर्न सरकार लागि परेको दावी गरे। उद्योग मन्त्रालयले पूर्वाधार विकास, साना उद्योगको स्थापना, पर्यटन उद्योगहरुको स्थापना गरी नेपाललाई समृद्ध बनाउने योजना अघि सारेको छ ।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »