दोस्रो निर्वाचनको तयारी, ४४ निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था

६ जेठ २०७४

banner

धनगढी । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७ नं प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ चुनाव चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ। 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लाका हकमा उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको बताए।

सात नं प्रदेशकै बाजुरा र डोटी जिल्लाका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेको जनाइएको छ। कार्यालयका प्रमुख आर्यालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समयको अभाव भएको, चुनावमा सहभागी दलले केवल मत मात्रै माग्ने तर मतदान गर्ने तरिका नसिकाउने र मतपत्रको आकार पनि ठूलो भएको जस्ता कारणले पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर भएको हुनसक्ने बताए।

मतदाता शिक्षाका लागि शुक्रबारदेखि कैलालीमा पुनः चार सय ९० स्वयम्सेवी परिचालन गरिएको छ। सात नं प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन्। 

एक उपमहानगरपालिका धनगढी, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको ७ नं प्रदेशमा मतदाता सङ्ख्या १३ लाख तीन हजार चार सय १४ छ। कैलाली जिल्लामा सबैभन्दा बढी १३ स्थानीय तह छन्। यस्तै बझाङमा १२, अछाम र बैतडीमा १०/१०, डोटी, बाजुरा, कञ्चनपुर र दार्चुलामा ९/९ र डडेल्धुरामा सात स्थानीय तह छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »