काठमाडौंमा एमालेका फराकिलो मतान्तर

६ जेठ २०७४

banner

काठमाडौं। पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत तीन प्रदेशका ३४ जिल्लाको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार एमालेले आफ्नो अग्रता कामयै राखेको छ भने एमालेलाई पच्छाउँदै कांग्रे दोस्रो स्थानमा छ। माओवादी केन्द्रले तेस्रो स्थान सुरक्षित गरेको छ। एमालेले हालसम्म १०५ स्थानमा जित हात पारेको छ भने कांग्रेसले ९८ स्थानमा आफ्नो जित दर्ता गराएको छ। 

माओवादी केन्द्रले ४६ स्थानमा जित हासिल गरेको छ।  यसैगरी मुलुकका चार महानगरपालिकामध्ये एमालेले तीन महानगरमा अग्रता लिएको छ भने कांग्रेस एक महानगरपालिकामा अगाडि रहेको छ।

काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ। काठमाडौं महानगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य कांग्रेसका मेयरका उम्मेद्वार राजुराज जोशीभन्दा ४ हजार ६ सय ८२ मतअन्तरले अगाडि रहेका छन्।

एमालेका शाक्यले १५ हजार ५५ मतसहित अग्रता कायमै राखेका छन् भने एमालेलाई पच्छाइरहेका कांग्रेस उम्मेद्वार जोशीले १० हजार ३ सय ७३ मत पाएका छन्। यसैगरी माओवादी केन्द्रका उम्मेद्वार सर्वोत्तम डंगोलले १ हजार ७ सय ३७ मत पाएका छन्। 

विवेकशील नेपाली दलका तर्फबाट मेयरका उम्मेद्वार रञ्जु दर्शना ६ हजार ४७ मतसहित तेस्रो स्थानमा रहन सफल भएकी छन्। उनी साझा पार्टीका उम्मेद्वार किशोर थापा भन्दा १ हजार ४ सय ६६ मतले अगाडि रहेकी छन्। साझा पार्टीका उम्मेद्वार थापाले ४ हजार ५ सय ८१ मत पाएका छन्।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »