सुशासन र जवाफदेहिता अभिवृद्धि ३ दिने तालिम सम्पन्न

२० मङ्सिर २०७५

banner

सिन्धुपाल्चोक । सेसी नेपालको साझेदारी र सहयोगमा टुकी संघ सुनकोशीले आयोजना गरेको सुशासन र जवाफदेहिता सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ।

स्थानीय सरकारलाई पारदर्शी र जवाफदेहिता अभिवृद्धि गर्न नागरिकहरुको क्षमता विकासका लागि जिल्लामा सुशासन परियोजना सञ्चालनमा रहेको छ। महिला तथा सिमान्तकृत समुदायहरुको सहभागीतालाई प्रविधिको प्रयोग मार्फत् सुशासन र जवाफदेहिता संयन्त्रमा स्थानीय सरकारको नीति निर्माण, योजना तर्जुमामा नागरिक संलग्नता गराउनुपर्ने जोड दिएर सुशासन परियोजनाले तालिम सञ्चालन गरेको हो।

सुशासन परियोजना अन्तर्गत वाह्रविसे नगरपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न नागरिक समाज संस्थाबाट सहभागी भएका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको हो। स्थानीय सरकारको काम कारवाहीलाई पारदर्र्शी बनाउन स्थानीय सरकारको सहयोगमा तथ्यांक (डाटा) पोर्टलको विकास गरिएको छ।

तालिममा खुल्ला तथ्यांक, स्थानीय सरकारको तथ्यांक पोर्टल, लैङ्गिक तथा गरिबमुखी (समावेशी) बजेट, स्थानीय सरकारको नीति तथा कार्यक्रम को विश्लेषण सहित अभ्यास, सामाजिक जवाफदेहिताका संयन्त्र, सार्वजनिक सुनुवाईको अभ्यास, गुनासो सुनुवाईका संयन्त्र र स्थानीय सरकारले अवलम्बन गरेका गुनासोको सुनुवाइका बारेमा जानकारी गराइयो।

निर्णय प्रक्रियामा वृहत नागरिक सहभागितालाई प्रोत्साहन गर्ने, व्यापक सहमतिमा आधारित भएर निर्णयमा पुग्न प्रयत्न गर्ने, निर्णय प्रक्रियामा सबै खाले जाँचबुझका लागि खुल्ला रहने र नागरिकहरुका आवश्यकतालाई सुन्ने र सम्बोधन गर्ने विशेषतामाथि सुशासन परियोजनाका फिल्ड संयोजक निर्मल राउतले छलफल गराए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष