पर्यटकीय क्षेत्र आलितालको प्रचारका लागि ३ युवा साइकल यात्रामा

७ कार्तिक २०७५

banner

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको डडेल्धुराको आलितालसम्म तीन युवाले साइकल यात्रा शुरु गरेका छन्।

गोदावरी नगरपालिका कैलालीका भरतविक्रम शाह, डडेल्धुराका तीर्थराज अवस्थी र कास्की पोखराका युधिर गुरुङले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाबाट आइतबार डडेल्धुरासम्मको साइकल यात्रा सुरु गरेका हुन्।

उनीहरु बुधबार डडेल्धुरा सदरमुकाम पुगेका छन् । सुदूरपश्चिममा साइकल पर्यटनको सम्भावना अध्ययन तथा प्रचारप्रसारका लागि डडेल्धुरा पुगेका साइकलयात्रीहरुलाई नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वागत समेत गरेको छ । उनीहरुलाई डडेल्धुराका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण समेत गराएको छ ।

साइकलयात्रीहरुले जिल्ला सदरमुकाममा रहेको अमरगढी किल्ला र सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरको समेत भ्रमण गरेका छन् ।

उनीहरुले अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझासंग पनि अमरगढीका पर्यटकीय सम्भावनाको बारेमा छलफल गरेका छन् । बिहीबार (भोलि) उनीहरु डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका–३ मा रहेको आलितालको यात्रामा निस्किने छन् ।

आलिताललगायत डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि साइकल यात्रामा निस्किएको साइकलयात्री भरतविक्रम शाहले बताए। साथै सुदूरपश्चिममा साइकल पर्यटनको सम्भावना अध्ययन तथा प्रचारप्रसारका लागि पनि साइकलयात्रामा आएको उनको भनाइ छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »