प्रिया, मेरो लागि उपवास नबस !

२६ भाद्र २०७५

banner

भूमिराज पिठातोली

प्रिया, चारैतिर तीजको लहर चलेको छ। यसै तीजमा तिमी पनि अनेक सपना बोकेर उपवास बस्ने निधो गरिरहेकी छौ हौली। विशेष गरी मेरो आयु लामो हुने र हाम्रो जीवन खूशी हुने सपना बोकेर तीजको उपवास बस्ने तयारी गरिरहेकी हौली। तर मैले पहिलेदेखि भन्दै आएको छु नी उपवास नबस भनेर। तिम्रो र मेरो सोचाई नै फरक छ। ‘तिमी धर्मशास्त्रमा विश्वास गर्छौं म चिकित्सा विज्ञानमा विश्वास गर्छु।’

तिमी मेरो आयुको लागि पानी नै नपिएर उपवास बस्ने योजनामा छौ। तर त्यो तिम्रो गलत बुझाई हो। तिमीले उपवास बस्दैमा मेरो आयु लामो हुनेहोइन। आयुको भविश्य कसलाई थाहा छ र ? केही बढी वर्ष लम्ब्याउनका लागि त मैले नै नियमित स्वास्थ्यको ख्याल गर्नुपर्छ।

आफ्नो ज्यानलाई माया नै नगरी मेरो लागि भोको कहिल्यै नबस। त्यो बुझाई तिम्रो भ्रम हो। तिमी भोको बसेमा स्वास्थ्यलाई कति घाटा हुन्छ ? थाहा छ तिमीलाई, ग्याँस्ट्रिक हुनेहरुलाई त झनै कठिन हुन्छ। फेरी पानी नै नपिएर उपवास बस्नुपर्छ भन्छ हाम्रो धर्मले। पानी नपिउँदा पत्थरी जम्ने समस्या हुुनुका साथै बिभिन्न किसिमका रोगहरुले समात्न सुरु गर्छन। अँझ तिम्रो रक्त चाप पनि कम छ। दिनभरी पानी पनि नपिउँदा मेरो आयु बढाउन तिमिले आफ्नो आयु घटाइरहेकी हुनेछौ। जति बाँच्छौ दुबै सँगै बाँच्नुमा पो रमाइलो हुन्छ। मलाई तिम्रो आयु घटाएर मेरो आयु बढाएको हेर्न मन छैन।

प्रिया, उपवास बस्नु खूशी हुनको लागि हो। नाच्न, गाउन, हाँस्नका लागि पेट खाली छ भने कसरी त्यो रमाईलो प्राप्त गर्न सक्छौं ? रमाइलो त तिम्रो बाध्यताको हुन्छ।

बरु मेरो खूशीको लागि नै हो भने, मैले हेर्न चाहे जस्तै गर। सामान्य लुगा कपडा भएपनि सफा गरेर लगाउ। नयाँ कपडा कुर्ता सुरुवाल किन। एक त तिमी राम्री नै छौं त्यसैमा रातो टिका लगाऊ। सिउँदो देखिने गरी कपाल सम्याउ। पेटभरी खाएर नाचगान गर। त्यो नै मेरा लागि खूशी क्षण हुनेछ।

मलाई थाहा छ तिम्रो हिजोको अवस्था। जुनबेला तिमी बेशाहारा त्यसैमा जिम्मेवारीपन तिमीले नै निभाउनु परेको थियो। तिम्रो त्यो ‘प्रताडित’ भएको मन रुमल्लिएर टोलाईरहेको रहन्थ्यो। अहिले पनि समाजअनुसार कर्जा गरेर चल्ने निधो गरिरहेकी छौ। त्यसरी चल्नु भनेको थप पीडा थप्नु हो।

तिम्रो समाजमा बस्नेहरु सबै गन्यमान्य छन्। तिम्रो त्यो बेशाहारा भएको छाप्रोमा कसैले नजर पनि लगाँउदैन होला। किनकी सबैले उज्यालै तिर हेर्ने गर्छन्। अँध्यारोतिर कसैले हेर्न चाहाँदैन। तिमीले पनि उज्यालो तिर लम्किन नचाहेकी पनि हैनौं होली। त्यो तिम्रो समय परिस्थितिको खेलले बीचमै भत्कायो।

घरको दैलोमा बसेर भाइ बहिनीको भोक मेटाउने सपना मात्र बोकिरहन्छौं तर के गर्नु पर्वको बेला समाज अनुसार चल्न नसेकेमा समाजले पनि होच्याइरहने डरले उनीहरुको अगाडी पनि ऋण जोख गरेर खूशी हुन चाहान्छौं। त्यसैमा मेरो चिन्ता छ तिमीलाई। मेरो भविश्य फलदायी होस् भन्ने कामना गरिरहेकी छौं। तर मैले भने एक धर्सो माया पनि दिन सकिरहेको छैन। प्रयास भने गरिरहने छु।

कहिले काँही त लाग्छ होला तिमीलाई। मेरो नजरबाटै पर्वहरु टाढा जाउन् भनेर। समाजमा बसेपछि सबैको जसरी हिड्नै पर्यो, खानै पर्यो, लगाउनै पर्यो। त्यो जुटाउन तिमीले दश ढोक अठार सलाम गर्नुपर्छ।

आमा बाउको मुख हेर्ने दिनमा तिम्रो मनमा आँधिहुरी आउँछ होला, सबैले सामाजिक सञ्जालदेखि आफ्नै आँखा अगाडि प्राण भन्दा प्यारा माता पिताको सम्मान गर्छन् तर त्यो क्षण तिम्रा लागि कहिल्यै नआउने गरी तिमीले सानै छँदा गुमाइ सक्यौ।

निर्दयी कालले पनि तिमीलाई चौबाटोमा पछारेर माता पिता खोस्यो। कहिल्यै फिर्ता नगर्ने गरी। आफ्नो र आफ्नो भाइ बहिनी पाल्न खेतबारी बनाएकी थियौं त्यो पनि पल्लो घरको काकाले ‘तेरो बाउले मेरो ऋण खाएको थियो’ भन्दै खोस्यो।

मामा घरबाट ३ वटा बाख्रा दिएका पनि एउटा स्यालको मुखमा पर्यो र अरु दुईवटा पनि आफन्तैले चामल र गहुँ तिर्न नसकेको भन्दै खोसे।

कतै काम गर्न खोज्छौं मालिकले महिनौं काम गराउँछ अन्तिममा पैसा नदिएरै पन्छ्याँउछ। त्यो सबै तिम्रो भाग्यको खेल हो। तैपनी तिमीले हिम्मत हारिनौं। संघर्ष गरिरह्यौ। तिम्रो संघर्षलाई सबैले सम्मान गर्नुपर्छ। भाइ बहिनीलाई आफूसंगै पढायौ। हुर्कायौ। अब त भाइ बैनीले पनि सक्दो सहयोग गर्ने भैसके।

राम्रो खाने, लगाउने कसलाई रहर लाग्दैन होला तर परिस्थितिले नाङ्गो पार्छ। हुन त समाजको सिकाई सिक्नुपर्छ तर आत्मविश्वास भएको कुरालाई अगाडि बढाउनु पर्छ त्यसैले अबदेखि कुनै उपवास नबस । बरु त्यो उपवास बस्ने बेलाको खर्च बचाएर कापी कलमको जोहो गर।

अहिले चारैतिर हरितालिका तीजको रौनक सुरु भइरहेको बेला समाजमा हुने खाने र हुँदा खानेहरु पनि व्याप्त रुपमा चिनिदै आएका छन्। बजारमा हुँदा खानेका सपिङ गर्ने बजारहरु पनि भिन्नै छन्, (जो सस्तो बजार) र हुने खानेहरुका लागि प्रतिस्पर्धात्मक नयाँ मोडेलका महंगा बजारहरुमा सपिङ गर्नेहरुको घुँइचो नै देखिन्छ।

देश तीब्र गतिमा अगाडि बढीरहेको छ। महिला, अनाथ, अपाङ्गहरुले अधिकार पाइरहेका छन् तर जो उत्पीडित छन् उनीहरुलाई कुनै सहजता भएको छैन।

प्रिया, यो समाज स्वार्थी छ। देश नै स्वार्थी हो आफूले पाएपछि कसैले पनि कसैलाई देख्दैन। यति देख्ने नै भए त प्रमुख प्रमुख पदमा महिलाहरु नै छन्। उनीहरुले त तिमी जस्ताहरुको पीडालाई बुझ्नु थियो। तर कराडौंको पार्टीमा मस्त हुन्छन् । त्यसरी खर्च गर्नुभन्दा अनाथ, अपाङ्गहरुलाई सहयोग गरौं भन्ने भावना हुँदैन।

अहिले कम्युनिष्ट सरकार छ । जो कम्युनिज्म नै नबुझेजस्तो। सिद्धान्त भन्दा निकै फरक । समाजबादको परिकल्पना गरिरहेको सरकार उल्टै सामन्तबादी समाज स्थापना गर्ने जस्तो छाँट देखिदैछ। त्यसले प्रिया तिमीहरुजस्तालाई सहयोग गर्ला नै भन्न सकिन्न।

मेरो नजरमा त हिन्दु धर्मालम्बीहरुलाई हरितालिका तीज भनेको एक उत्सव नै हो। त्योसंगै विकृति पनि हो। ‘उत्सव’ परम्परादेखि कै हो भने ‘विकृति’ पछिल्लो समयको हो। अहिले यो संगसंगै चलिरहेको छ। जति आस्था छ त्यति निराशा पनि छ। नेपालको सन्दर्भमा विदेशी संस्कार भित्रिएसंगै हुँदा खानेहरुका लागि पर्व नै पीडा बन्दै आएको छ।

विदेशी संस्कारमा प्रतिस्पर्धाको भावना हुन्छ, नेपालमा पनि त्यहि प्रतिस्पर्धा भित्रियो। तर उनीहरुको कर्मले संस्कार नै डोर्याउँछ भने हाम्रो कर्म बिनाकै संस्कार पछि पछि आयो। त्यसैले प्रिया अरुको लहलहमा लागेर आफ्नो स्वास्थ्यको वेवास्ता नगर।

समाजमा देखावटी काम नगर। लहलहमा नलाग। सबैको सल्लाह लेउ आफ्नो निर्णय गर। त्यसैले प्रिया उपवास बसेर केही हुँदैन। मेरो लागि मात्र होइन कसैको लागि पनि उपवास नबस।।

उही तिम्रो...............

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »