बोकाको बिलौना

३ कार्तिक २०७५

banner

डिल्ली राम अम्माई / बेल्जियम 

 म्याँयाँ...याँ.म्याँयाँ...याँ
दशैं बोकेपाठोसँगै कराउँदै आयो
बाको पुरानो आस्कोट खोल्यो
स्टकोट पहिर्यायो,
आमाको गुन्यु चोलीले जुनी फेरे 
केटाकेटीका पुराना खोलिए
नाङ्गो पारीए
बैंशले जोर्नी दुखेकाहरुको
जोर्नी उधारेर
खुकुलो पार्न
ठाउँ ठाउँमा फोरियो 
देश र माटो उही भएपनि 
रुप फेरियो मन फेरियो 
स्वभाब फ़ेरिएन
 केवल,
रुचि बदलियो।

यो दशैंमा
नबिनताको आह्वान गरियो 
झुसकिरी जस्ता जुनकिरी देखिए
आमा झुल्किन लालिमा
कोइली काँठे दिदी
भिनाजुको पसिनाले
मुन्द्री र चन्द्रमा
तिल बुट्टे सारी
आहा !
गुलाबी आंगहारी। 

खोपीका जमरा 
अलिकति 
मन्दिरको अक्षता 
अलिकति 
बा बोले, 
“गोबिन्द हरे मुरारे..
प्रेमकी देबी दुर्गा मैयाँ 
यादेबी सर्व भुतेशु...
सदैब भक्ति छ माता 
परिवार, धरती रख्क्षे गर 
जीव जिबात्माको कल्याण गर“ 
फेरी बाले डाँको छोडे, 
“बुद्धम शरणं गच्छामी 
तिम्रै शरणमा छौँ हामी 
तिम्रो भुमि पबित्र छ परमेश्वर...
बोकेपाठोलाई जमरा लगाए 
खान खोज्यो 
सकेन, 
अलिकति दिदीको थाली 
बा नेर पुग्न तन्कियो
बोके पाठो पुन लम्कियो  
बाको हात निधारमा पुग्यो 
पाठोको मुखमा पुगेन
तै पनि  
भोकले होलाकि 
बाको सम्मानले होला 
बोके पाठो करायो 
म्याँ म्याँ। 

हातमा जमरा देखेर आहार सम्झे होला 
डेक्ची देखेर पानि सम्झे होला
ताहुलो देखेर दाना 
अनि  
मान्छे देखेर मालिक सम्झे होला 
नारी देखेर भगवान !
बोके पाठो फेरी करायो 
म्याँ म्याँ !
उफ्रने मन थियो पाठोको 
शिरमा पानि खन्याए 
बालाई देखेर ऊ तर्सियो 
पानिको चिसो नभिज्दै  जिउमा 
अन्जानमै पर्सियो,
मानब भित्रको भगवान सम्झियो 
मन बुझायो 
फेरी कताकता डर जाग्यो 
चुप लाग्नै सकेन ऊ 
तर्साउने गरि करायो 
म्याँ म्याँ !
 
अगाडी मोठ 
पछाडी मन्दिर 
घरको ढोकामा नाग 
खोपीमा बुद्ध 
बुद्धको देश,
र उनकै पदछाप  
जन जनमा भगवान 
मन मनमा करुणा 
के के सम्झेर हो 
 पाठोले आभार पोख्यो 
केहि मागेझैँ गरि
बोके पाठो बोल्यो  
म्याँ म्याँ। 

मन कपटी भएपनि 
सरिर बुद्धको उठ्यो 
हातमा हँसिया 
पबित्र पिपलको मुढा 
भगवानलाई अर्पित अक्षता 
बोके पाठो तानियो 
आँखा जुधेर पनि तर्सिए  
बुद्धको शरीर काँप्यो 
बुद्धकै नामको हातबाट 
बुद्धको देशमा 
हँसिया बर्षियो
निरिह गर्धनमा !
आधि सकियो 
आधि जिबले 
बुद्ध सम्झियो 
मालिक सम्झेको मान्छे 
बुद्ध सम्झेको उसको मन 
आधि जीवबाट श्रापित बन्यो 
आवाज चर्कीयो 
म्याँ...म्याँयाँ...याँ,
 
“करुणा निधान !
तिम्रो बिश्वास 
ऊमाथि किन पोख्यौँ ?
उसलाई जे गर्छौ गर 
त्यो तिम्रो कुरा हो 
तर 
मलाई न्याय गरेनौ 
तिम्रो भूमिमा 
तिम्रै जीव सन्तानको 
युबा रगत 
तिमीलाई पुज्दै 
तिमी माथि छर्कंदै छन् 
मलाई न्याय नगर 
ठिकै छ 
तर माफ गर 
किनकी म तिम्रो आश गरेँ 
र 
मान्छेको भर परें। 
एकै छिनमा म बोल्ने छैन 
अब म चल्ने छैन 
र 
तिम्रो वरिपरि 
तिम्रो भजन सुन्दै 
मन्दिरमा डुल्ने छैन 
मलाइ पिडा भो भगवान !

अति पिडा भो 
किनकि, 
मेरो अगाडिको तिम्रो मन्दिरमा 
रगतका छिटा पोखिंदा 
हिँसाको चित्कार गुन्जिंदा 
किन बोलेनौं  भगवान ?
प्रतिकार किन नगरेको ?
मेरो आत्माले सोधी रहने छ 
युगान्तर यहि प्रश्न ,
अन्तिम इच्छा छ 
मेरा सन्ततिले 
श्रापित मुर्तिमा 
बिश्वासको अभिमत 
कदापि नपोखुन 
जुन मैले भोगेँ 
त्यो उनले नभोगुन
कर्म युगको शुरुवात होस् 
कर्म माथि नै बिस्वास होस्  
बिदा भगवान!
मेरो लासमा 
बिलो बनाउँदा 
तिम्रो नाम 
कहियै अपमानित नहोस 
भगवान !
तिम्रो मन्दिर पबित्र होस् 
मन्दिरभित्र आत्मदाह नहोस 
भगवान,
 हत्या नहोस 
निर्मल मनलाई शंका नहोस !“
स्वास नली 
धड्कन अगाडीबाट 
बजी रह्यो,
.उस् मानब..स्वाँ स्वाँ स्वाँ स्वाँ.... 

Leave a reply

HTML Tags are not supported

Post My Comment »