सन्दर्भ बुद्धजयन्तीः चिनियाँ संस्कृतिका सुनौला पाटाहरु

४ जेठ २०७६
banner

लालबहादुर खत्री
करिब ९७ लाखवर्ग कि.मी क्षेक्रफलको विशाल भूगोलमा फैलिएको चीन र यसको बिशालताका अनेक रंग, तरेली र बान्कीहरु छन् । संसारको सबैभन्दा प्राचीन मानव सभ्यताको इतिहास बोकेको चीनले आफ्नो  सभ्यता र संस्कृतिगत महानताका सबै आयामहरुलाई आजपर्यन्त संरक्षित र संबर्धित राखेको छ, घट्न खिईन दिएको छैन बरु त्यसमा चमत्कारिक बढोत्तरी गरेको छ । चीनले हालसम्म हासिल गरेको भौतिक तथा अध्यात्मिक उन्नयनको पछाडि चिनियाँ बिशाल आकाशमुनि हुर्केको सिर्जनशिलता, तार्किकता र स्वभाविकताको प्रमुख हात रहेको पाईन्छ।

चीनको सानतोङ प्रान्तमा रहेको एक हजार बुद्धको पहाडनजिक बसेर चिनियाँ सांस्कृतिक आयामकोे जिवन्तता, बिशालता र निरन्तरता जस्ता केही सुनौला पाटाहरुको छोटोे चर्चा गरिदैछ । प्रस्तुत आलेख चाहिँ अपार विषयको समष्टीगत पस्काइ होइन तरउत्तरीे छिमेकतर्फ नेपाली मनमा अलिकति कौतुहलता जगाउदै आफ्नो जन्मभूमिमा समेत हालसम्म सर्वसम्मत आत्मसात नगरिएका भगवान बुद्धका सद्वाणीहरुले चीनियाँ जीवनलाई  अबिरल मार्गदर्शन गरिआएको यथार्थतालाई स्मरण गर्दै बुद्ध जयन्तिको पावन अवसरमा आफ्नो चेतनालाई बुद्धमा समर्पण गर्नु हो ।

हजारौ फूलहरुसाथ फक्रिएको बसन्त बहारले मन बरालिदिएपछि नेपाली बिद्यार्थीहरु केही दिनअघि चीनको सानतोङ प्रान्तस्थित दक्षिण पूर्वी पहाडतिर एक दिवसीय भ्रमणमा निस्केका थियौं। बैशाख पूर्र्णिमाको आगमन कुरी बसेको त्यो हजार बुद्धको पहाड (छियानफूसान) को शिखरमा पुग्ने रहर मनमा भरेर प्रवेश पास लिने लाईन बसियो । मूल गेटमा लाईन बस्दा नै डेढ घण्टा बितिसकेको पत्तो भएन । प्रवेशपास पाई उत्तरद्धारवाट वगैचाभित्र प्रवेश गरेपछि करिब सय मिटर पुग्दानपुग्दै बिशाल बगैचाको सुगन्धित माहोलले बुद्धको जन्मस्थल लुम्बिनीको सौराई लगाउने रहेछ ।

करिब दुई घण्टाको अवलोकनसहित कछुबा गतिमा उक्त पहाडको शिरमाथि पुगेपछि नेपाली मन भावुकताको शिखर चुम्ने रहेछ । हाम्रो स्वयम्भूनाथमा उकालो चढे जस्तै लाग्ने त्यो घना हरियाली र तीर्थयात्रीहरुको खचाखचीले मन ध्यानस्थ भैगयो । पहाडको टाकुरामा पुगेपछि राजधानी जिनान सहरको क्षितीजीय दर्शन भयो । छियानफूसान पहाड चढी समग्र पक्षको दृष्यावलोकन गर्दा खुशीले हरक्क भएको मन उक्त पहाडको टाकुरावाट तल झर्दै गर्दा आत्मग्लानीको गहिरो भावले फेरि तरंगीत भैहाल्यो । नेपाली पर्यटक भएको हुनाले पनि सायद त्यो ग्लानी भावको झड्का झन बढी महशुस गरियो । पहाडको तल फेदीमा लमतन्न पल्टेका बुद्धको शरणमा आएर मनमनै  “बुद्धम शरणम् गच्छामि, संघम् शरण गच्छामि । धम्मम् शरणम् गच्छामि”भनेर ग्लानीभाव अलि कम भयो, मानसिक शान्ति मिल्यो ।

हजार बुद्धको पहाड चढीसकेर फेदीमा फर्कदा जुन ग्लानीभाव मनमा आयो,त्यो भाव चाहि सबै नेपाली यात्रीहरुमा आउदो हो । आफ्नो जननी जन्मभूमिमा मान सम्मान र आदरभाव गुमाएका बुद्धले चिनियाँ माटोमा सुवासित भएर पुजित भएको प्रत्यक्ष थाहा पाएपछि हामी अध्यात्मिक चेतनाका आधारमा कतिसम्म गरिब रहेछौ भन्ने महशुस हुन्छ । बुद्धको गरिमा उचो बनाउन र उनको मार्ग पछ्याउन नसकेको पश्चात्तापले हामीलाई पोल्ने ढस्ने अनि सनातनदेखि अध्यामिक र धार्मिक रुपले सम्पन्न माटोमा जन्मेर पनि जन्मथलो भन्दा अलि परको बिरानो माटोका मानव हृदयमा स्थायी पाहुना बनेर अमरत्व प्राप्त गरेका बुद्धप्रतिको श्रद्धा र भक्तिभावले हामीलाई द्रबित बनाउने गर्छ । 

त्यो पहाडको अवलोकनपछि लाग्छ, मानवजातिले आफू विकसित हुने क्रममा जन्माएका अध्यात्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई  संरक्षण, सम्बर्धन र प्रबर्धन गर्न चीन सरकारले गरेको लगानी, लगाव र समर्पणले नै आज चीनियाँ सभ्यताले जिवन्तता र निरन्तरता पाएको रहेछ । सभ्यता र संस्कृतिलाई हार्दिक रुपमा आत्मसात गरेकोले नै प्रकृति र संस्कृति घुलन भई चिनियाँहरु भौतिक गतिशिलता र उन्नतिका प्रयाय बन्दैछन् ।

संसारका सबै संस्कृतिको जगेर्नास्थलको रुपमा पहिचान बनाउन सफल आधुनिक चीन अहिले “किनारा र सडक”का नयाँ अभियानसहित रेशममार्गको प्राचीन सभ्यतालाई नविकृत गर्ने तथा बहुसाँस्कतिक सामन्जस्यता र सहकार्यका उपायहरु पहिल्याउदै सबै हिस्सेदार हुने खालको आर्थिक विकासको मोडेल निर्माणमा ठोस योजनासहित क्रियाशिल छन् । हरित अनि दीगो विकासको मार्गदर्शनमा सन् २०५० सम्म अतिसम्पन्न देश बनाउने महाअभियानमा मौरीझै अहोरात्र खटेका सबा एक अर्ब चिनियाँहरु प्राचिन बौद्धिकता र आधुनिक सिर्जनशिलता र आविष्कारलाई  विश्व मानवजातिको उन्नयनको आधार बनाउदैछन् ।

यति ठुूलो जनसंख्याको सोचाई र काम गराईको वीचमा समरुपता, एकात्मकता र सामञ्जस्यताले चीनको आधुनिकीकरणलाई तिब्रता दिएको छ । आज विश्व चकित पार्ने विकासपथमा चीन लम्किरहेको छ । रेशममार्गको चिनियाँ सपना आजको विश्व व्यवस्थामा रुपान्तरणकारी नतिजा ल्याउने मार्गचित्र हो । गत अप्रिल २५देखि २७ सम्म बेजिङले आयोजना गरेको दोश्रो अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले दिएका धेरै सन्देशहरुमध्ये सांस्कृतिक समुन्नतिका लागि बिश्व भाईचारा र सहकार्य पनि एक हो ।


सत्र लाख वर्ष पहिले शुरु भई चार हजार वर्षको अभिलेखकृत ईतिहास रहेको चिनियाँ सभ्यतामा आधुनिक कार्यसंस्कृतिको जग बसाउन धेरै पुस्ताहरुको हात रहेको छ । त्यसमा मूलतः प्रकृतिवादीहरु, बैद्यहरु, खुराकशास्त्रीहरु, रहस्यदर्शीहरु, सौन्दर्यशास्त्रीहरु, दार्शनिकहरु र साहित्यकलाकर्मीहरुको अद्धितिय योगदान रहेको छ । बेजिङनजिकको चौखाउदियन क्षेत्रमा बसेको मानिने  “पेकिङमेन” लेआगोको आविष्कार गरेको, उभिएर हिड्न जानेको र सामान्य औजार अनि हतियार बनाउन सकेको ईतिहास रहेछ ।

५ हजार वर्ष पहिले नै फलाम लगायतका खनिज धातुहरु पगाल्ने बैज्ञानिक बिधिहरु थाहा पाएका चिनियाँहरुले पुख्र्यौली ज्ञान, सीप र कलालाई आफ्नो प्राण जस्तै प्यारो ठान्दै अगाल्दै आएको पाईन्छ  । हालसम्म पनि आफूभन्दा बरिष्ठ र जेष्ठका अर्ति तथा आशिकलाई  सम्मान गर्ने असल संस्कृति चीनमा आत्मसात गरिएको छ । ईतिहासका सबै कालखण्डमा विशिष्ट योगदान दिएका बौद्धिक अग्रजहरुको ज्ञानभण्डारमा सधै आश्रित भएर अगाडि बढेको चिनियाँ शैक्षिक सांस्कृतिक जीवनशैलीले आधुनिक शिक्षाको क्षेत्रमा समेत नयाँ मानक स्थापित गर्दै नयाँ बैज्ञानिक आष्किार र अध्ययन अनुसन्धानमा गहनता हासिल गरेको देखिन्छ । 

बिशाल चिनियाँ आकाशमा चम्किएको भगवान बुद्धको अध्यात्मिक प्रकाशले धेरै लामो समयदेखि सम्पन्नता, शान्ति र खुशीको खोज यात्रालाई  बाटो देखाएको हो । आफ्नो जन्मभूमिमा तत्कालिन समाजले पचाउन नसकेर उत्तरतर्फ सरेको बुद्ध जीवनमार्ग हिमालयभन्दा पर तर निकै उचो बनेर हजारौ माईल परको जीवनजगतलाई समुन्नत बनाउन सफल भयो । बुद्ध भिक्षुहरुलाई बाटो देखाउने रेशमका ध्वजापताकाहरु  लुम्बिनीबाट उत्तरतर्फ छरिदैै संसारका सबै कुनामा पुगे । मुर्ति नबनाउनू नपुज्नू भनी अर्ति दिने भगवानबुद्धका  नै लाखौ लाखमूर्तिहरु बने, बनाईए र सारा धर्तिलाई बुद्धमय पारे ।

एक हजार बुद्धको पहाडमा पनि यही संस्कृतिको विस्तार भएको छ र कम्तीमा बुद्ध जन्मेको देशका तीर्थालुलाई यो स्मरण गराउछ कि बुद्धहरुले देहत्याग गरेपछि पनि बुद्धका सच्चा अनुयायीहरुले आफ्ना गुरुको योगदान र शिक्षालाई  जिवन्त राख्न हजारौ मूर्ति बनाई राख्छन् र विश्वास गरिरहन्छन् कि शाक्यमूनि बुद्धले झैं सबै मानव देहधारीले ध्यान तथा साधनाको बलमा बुद्धत्व  प्राप्त गर्ने ईच्छालाई निरन्तरता दिई रहन सक्छन्  । 

सांस्कृतिक, दार्शनिक तथा सौन्दर्य चेतनाले जागृत सबै अग्रजप्रति आदर र सत्कार गर्नु,  जेष्ठ र बरिष्ठ प्रति बिश्वास, सम्मान र भरोसा राख्नु र अनुयायीप्रति अग्रजहरुको अगाध प्रेम र अविभावकत्व दिनु नै चीनको सांस्कृतिक बहुलता वीचको एकताको आधार हो । वर्तमान समयको महत्वर आफ्नो कामको नतिजाप्रतिको प्रतिबद्धता अटूट राखेर सम्पूर्ण सामथ्र्यसहित एकाग्रतापूर्वक लक्ष्यमा अविचलित भईरहनु अनि आँखा अगाडिको असम्बन्धित विषय वा पक्षप्रति तटस्थ रहन सक्नु चिनियाँ संस्कृतिको अनुकरणीय पक्ष हो ।

अर्काको प्रगतिमा ईष्र्याभाव राखेर होईन आफूमा नै सबै खालको पूर्णताको सम्भावनाहरु खोजेर आफनो गौरवमय परम्परा, संस्कृति अनि सम्पदालाई जिवन्त बनाउदै त्यसको प्रर्बधन, संरक्षण र उन्नयनमा सबै पुस्तालाई सांस्कृतिक मालामा उनेर राख्नु र कडा मेहनतवाट प्राप्त गरेको भौतिक सांस्कृतिक धनदौलतलाई सबैको खुशीका लागि परिचालन गर्ने चाहाना राख्नु नै  चिनियाँ कार्य संस्कृतिका सुनौला पाटाहरु हुन् । 

बसन्तमा फक्रेको पोनी (चीनको राष्ट्रिय फूलं) को रंगिन जीवनलाई सेतो प्यागोडा अगाडि ध्यानस्थ भएर हेर्दे चीनियाँ नेतृत्वले चीन र चिनियाँहरुहरुको भविष्यको लागि जे योजना बनाउछ, जे सोचेर निश्कर्ष निकाल्छ त्यसलाई आफनो समयको महामन्त्र मानेर सवा एक अर्ब चिनियाँहरुले आफ्नो रगतलाई पसिनामा परिणत गरिहेका छन् र पछाडि परेको विश्व समुदायलाई समेत उन्नतिको शिखरतर्फ लैजाने गरी आर्थिक भौतिक तथा सामाजिक सास्कृतिक विकासको नयाँ रेशममार्ग खोजीरहेका छन् ।

यसलाई आत्मसात गरेर अघि बढेको चिन आज सबैको आशाको केन्द्र बनेको छ । भगवान बुद्धको जन्मभूमि नेपाल चीनको दक्षिण काखमा बसेर आज २५६३ औं बुद्ध जयन्ती मनाई रहेको छ र चिनमा एक हजार बुद्धको पहाड बनाउने पौरखी चिनियाँहरु बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा पर्यटक बनेर आउने आशामा प्रतीक्षारत छ  ।                                 
 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli