शक्तिशाली भूकम्प थेग्न सक्छ लस एन्जलसले? 

२२ अषाढ २०७६
banner

क्यालिफोर्निया (एजेन्सी) । दुई दिनभित्रै दुईवटा ठूला भूकम्पले धक्का दिएपछि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अमेरिकाको संघीय सरकारसँग सहयोग मागेका छन् । गभर्नर न्युजोमले महत्त्वपूर्ण पूर्वाधारहरूमा उल्लेख्य क्षति पुगेको भन्दै वासिङ्टनको सहयोग मानिसहरूको जीवन र सम्पत्ति रक्षा गर्नुका साथै सार्वजनिक स्वास्थ्यलाई चलायमान गराइराख्न आवश्यक रहेको बताएका छन् । सबैभन्दा नराम्रो असर लस एन्जलस शहरभन्दा झण्डै दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको क्षेत्रमा परेको थियो ।

ती दुई भूकम्पको केन्द्रविन्दु नजिक रहेको रिजक्रिस्ट भन्ने नगरको अस्पताल बन्द गरिएको थियो र स्वास्थ्यकर्मीहरूले विरामीहरूको उपचार कार पार्किङ् गर्ने ठाउँमा गरेका थिए । क्यालिफोर्नियाका अधिकारीहरूले भनेका छ, ‘बिजुली आपूर्ति चाँडै नियमित भएको छ र सडक अनि पसलहरू समेत छिट्टै खुलेका छन् – अर्थात् क्षति अपेक्षा गरिए भन्दा निकै कम भएको छ ।’ तर क्यालिफोर्निया राज्यका थुप्रै बासिन्दाहरूले त्यहाँ ठूलो भूकम्प आउनसक्ने भय पालेर बसेका छन् । लामो समयदेखि त्यहाँ ठूलो भूकम्प नआएको भन्दै थुप्रै भूकम्पविद्हरू समेत उक्त भयमा सहमत छन् ।

नयाँ नयाँ प्रविधिका साथ शहरहरू फैलिरहँदा सिर्जित बढ्दो जटिलताले भूकम्पका बेला हुनसक्ने जोखिमको अवस्था देखाउँछ । दक्षिणी क्यालिफोर्नियाको स्यान एन्ड्रियाजको धाँजा फाट्ने कुरा निश्चित नै जस्तो छ । प्रश्न त केवल कहिले भन्ने मात्र हो । त्यो अमेरिकी भूगर्भसम्बन्धी निकाय (युएसजीएस)का वैज्ञानिक डा लुसी जोन्सले अमेरिकन जियोफिजिकल युनियनको बैठकमा दिएको सन्देश थियो । बीस हजार भन्दा बढी विश्वभरका भूगर्भ वैज्ञानिकहरू जुटेको कार्यक्रममा डा जोन्सले ‘अर्को ठूलो’ कम्पन पर्खिरहेको दक्षिणी क्यालिफोर्नियाले सामना गर्नसक्ने चुनौति औँल्याएकी थिइन् ।  

नयाँ नयाँ प्रविधिका साथ शहरहरू फैलिरहँदा सिर्जित बढ्दो जटिलताले भूकम्पका बेला हुनसक्ने जोखिमको अवस्था देखाउँछ । उक्त क्षेत्रले लस एन्जलस र स्यान डियागोको धेरै क्षेत्र समेट्छ । स्यान फ्रान्सिस्कोलाई ठूलो क्षति पु¥याएको सन् १९०६ को भूकम्पका बेला प्रत्येक तीनजना अमेरिकीमध्ये एकजनाभन्दा कम मात्र शहरमा बस्थे । तर अहिले अमेरिकी जनसंख्याको ठूलो बाहुल्य शहरमा छ र जोखिम बहन गर्ने शहरी मानिसहरूको क्षमताको प्रश्न एउटा मुख्य विषय बनेको छ । भूकम्पसँग जुझ्नका लागि बनाइएका योजना धेरैजसो भवन संहिताको कार्यानन्वयन मार्फत् गरिएको छ । क्यालिफोर्नियाका निर्माण आचारसंहिता भूकम्पले भवन भत्कन नदिने ९० प्रतिशत सम्भावनासँग मेल खानेगरी बनाइएका छन् । अर्को शब्दमा महाभूकम्प आएको खण्डमा भवनहरू भत्कन सक्ने १० प्रतिसत सम्भावना बाँकी नै रहन्छ। त्यस्तो भूकम्प क्यालिफोर्नियामा प्रत्येक तीन शताब्दीको हाराहारीमा एकपटक आउने गरेको छ ।

तर त्यसरी भूकम्प जाँदा कतिपय भवनहरू ध्वस्त नभए पनि त्यसपछि आउने परकम्पका बेला ध्वस्त हुन सक्ने जोखिमका कारण मानिसहरू बस्न अयोग्य हुने भन्दै तिनमा ‘रातो स्टीकर’ लगाइन्छ । विगतका अनुभवहरूले त्यस्तो क्रम बढिरहेको देखाउँछ । लस एन्जलसभन्दा २० माइल उत्तर पश्चिममा पर्ने क्षेत्रमा सन् १९९४ मा आएको ६.७ म्याग्निच्युडको भूकम्पले २३० वटा भवनलाई ध्वस्त पारेको थियो तर झण्डै २३०० वटाका लागि रातो स्टीकर जारी गरिएका थिए । त्यसैगरी स्यान फ्रान्सिस्कोको मरिना जिल्लामा सन् १९८९ मा आएको भूकम्पमा प्रत्येक एक भवन ध्वस्त हुँदा अन्य दशवटाले रातो स्टीकर पाएका थिए । यी नजिरहरूलाई निकै खराब हुनसक्ने अवस्थासँग दाँजेर हेर्दा भवन संहितालाई मानेका भए पनि लस एन्जलसका लगभग सबैजसो भवनहरू बस्न योग्य नहुन सक्छन् ।

एउटा कम्युटर प्रणाली (मोडेल) को अनुमानमा स्यान एन्ड्रियाजको धाँजा, जसले प्रशान्तिय र उत्तर अमेरिकी टेक्टोनिक प्लेटबीचको सीमाको रूपमा काम गर्छ, मा अर्को ठूलो कम्पन ७.८ म्याग्निच्युडको हुनसक्छ । त्यहाँ सिर्जना हुने एउटै घटनाको कम्पन साल्टन समुद्र नजिकैको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएर उत्तरतर्फ फैलँदै लस एन्जलससम्म पुग्नेछ । उक्त प्रणालीले देखाउने नतिजा अनुसार त्यस क्षेत्रका आधाजसो भवनहरू प्रभावित हुनसक्छन् । त्यसले सबैभन्दा चिन्ता उत्पन्न गराएको विषय चाहिँ भवन बाहेक समेत एकआपसमा सम्बन्धित पूर्वाधारमा उल्लेख्य असरहरू पर्ने अवस्था हो । जसमा यातायात, ग्यास तथा विद्युत आपूर्ति, ढल प्रणाली, पानी र सञ्चारको सञ्जाल पर्छन् ।

सन् १९०६ मा स्यान फ्रानसिस्को भूकम्पले नभई त्यसपछि भएका आगलागीले बढ्ता ध्वस्त भएको थियो । त्यहाँको जलप्रणाली संवेदनशील छ । दक्षिणी क्यालिफोर्नियाका ७० प्रतिशत पानीका पाइपहरू पातलो कंक्रिटले बनाइएका छन् जुन ठूला भूकम्पका बेला बिग्रन सक्छन् । लस एन्जलसको पानी आपूर्ति प्रणाली स्यान एन्ड्रियाजको धाँजा भएकै क्षेत्रमाथिबाट जान्छ । यदि पानी, ऊर्जा, यातायात र अन्य पूर्वाधारसेवा मुख्य लस एन्जलसमा कम्तीमा ६ महिनासम्म अवरुद्ध भए त्यहाँ रहेका धेरैजसो व्यवसाय चल्न नसकेर विफल हुनेछन् । परकम्पले थप मनोवैज्ञानिक तनाव सिर्जना गर्दा त्यसभेगबाट मानिसहरू अन्य बसाइसराइ गर्न खोज्दा अर्को तरिकाबाट समेत त्यहाँको स्थानीय अर्थतन्त्र ध्वस्त हुनसक्छ । भूकम्पप्रतिरोधी भवन संहिताले मोबाइल फोनका टावरहरूलाई समेट्न सकेको छैन । 

सन् २०१० मा ८.८ म्याग्नेच्युडको भूकम्प आउँदा चिलीमा सबै विद्युतिय सञ्चार तीन दिनसम्म अवरूद्ध भएको डा जोन्सले बताए । अन्य जोखिमहरू समेत छन् । लङ् बिच र लस एन्जलस अमेरिकाका निकै ठूला बन्दरगाह हुन् । अमेरिकामा हुने कुल कन्टेनर ओसारपसारको ८० प्रतिशत अनि कुल आयातको ४० प्रतिशत यिनै बन्दरगाहको पूर्वाधार प्रयोग गरेर हुने गर्छन् । 

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l