टोपीको इतिहास र महत्व

१३ पौष २०७५
banner

सुरेन उप्रेती  अटवा

टोपीको बारेमा धेरै जनाले कलम चलाएको पाइन्छ। तर टोपीको जन्म कहिले भयो, यसको नामाकरण  टोपी भनेर कसले गर्यो, कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाण प्राप्त हुन सकेका छैनन्। संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शीरमा लगाउने वरिपरि जालिदार घेरा भएको टोपीलाई बुझाउँछ। वशन्त शर्मा नेपाल, नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ ५६४) ।  टोपी प्राकृत नाम शब्द शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाइ सिलाइएको पहिरनलाई टोपी भनिन्छ ( नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४) । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ। टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी भएको पनि हुन सक्छ। 

नेपाली भाषामा शरिरका अंगहरु संग जोडिएर प्रयोग हुने  थुप्रै बस्तुलाई पनि त्यही अंगसँग जाडेर नामाकरण गरिएका उदाहरणहरु पाइन्छन्। जस्तो औंलामा लगाउँनेलाई औंठी, कानमा लगाउनेलाई कुन्डल, घाँटी अथवा कण्ठमा लगाउनेलाई कण्ठी,  नाकमा लगाउनेलाई, नत्थु ,नथिया आदि। यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा  लगाउने भएकोले हुनाले टोपी भनिएको हुन सक्छ।

त्यस्तै हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरु शिरमा लगाउने, शिरफुल, शिरबन्दी शिरपोस गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टी गर्दछन। 

टोपी बिभिन्न आकार र प्रकारमा पाइन्छन्। टोपीलाई फरक फरक बनोट र बन्ने बस्तुको आधारमा  फरक प्रकारका  नामाकरण गरिएको पाइन्छ। १. कानेटोपी, २. माक्कले टोपी, ३. बिर्के टोपी, ४. भादगाउँले  टोपी, ५.पाल्पाली ढाका टोपी , ६.तेह्रथुमे ढाका टोपी,  ७. छत्रे टोपी आदि।
१. कानेटोपीः
कानेटोपी प्रायः साना बालवालिकालाई लगाई दिने टोपी हो। कानलाई छोप्ने या ढाक्ने गरी बनाइएको हुनाले यसलाई काने टोपी भनिएको हो। वालवालिकालाई चिशोबाट बचाउनका लागि बाक्लो र न्यानो कपडाबाट तयार गरिन्छ। भित्रीहालेर दुई पत्रमा बनाइने हुनाले यो न्यानो हुन्छ।

लेखक : सुरेन उप्रेती  अटवा

शिशुलाई ढाकाको काने टोपी लगाइ दिएको शहरमा देखिन्छ भने गाउँमा अरुनै न्याना कपडाहरुबाट बनेका कानेटोपी लगाएको पाइन्छ। केही बर्षदेखि ऊनबाट बनेको काने टोपीको प्रयोग प्रौढले पनि जाडो याममा गरेको पाइन्छ। टाउको देखि घाँटी र कान सम्म ढाक्ने र चिउँडोको तल दुई तर्फबाट झरेका तुना बाँधिन्छ। जसले गर्दा टोपी झर्न पाउँदैन भने हावा पनि टोपी भित्र छिर्न सक्दैन।

२. माक्कले टोपीः
    यस टोपीलाई ढेडु टोपी पनि भनिन्छ। कति मानिसहरुले मङकीक्याप समेत भनेको सुनिन्छ। यसले टाउकाको पुरैभाग निधार ,कान देखि घाँटीसम्मको भाग ढाक्दछ। सबै तिर ढाकेर अगाडि मुख मात्रै देखिने भएको हुनाले यसलाइ माक्कले टोपी या ढेडु टोपी भनिएको हो। ढेडुकोे टाउकोको सबै भाग शरिर जस्तै कमेरे रंगको भए पनि मुख चाँही कालो हुन्छ।

यो टोपी लगाए पछि ढेडुको टाउको जस्तै देखिने हुनाले ढेडुटोपी भनिएको हो।  यसलाई उनबाट बनाइने भएको हुनाले धेरै तातो हुन्छ। जाडो महिनामा प्राय प्रौढ पुरुष र महिलाले समेत लगाउने गरेको पाइन्छ। यसलाई खराब नियत भएका मानिसले समेत पहिचान लुकाएर अपराध गर्न प्रयोग गरेको भेछिन्छ।  
३. बिर्केटोपी
यो बिर्केटोपी वरिपरि एउटा घेरा भएको र घेरा माथि अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ। यसको बीच भागमा एउटा डल्लो समेत हुन्छ। कुनै भाँडाको बिर्कोको आकारमा भएको हुनाले यसलाई बिर्केटोपी भनिएको हुन सक्दछ। यसलाई आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टले लगाएको देखिन्छ। भारतको हिमान्चल र गडवालतर्फ पनि यस्तै आकारको टोपी लगाएको पाइन्छ।

यो बाक्लो उनी कपडाबाट तयार भएको पाइन्छ। तर हिमान्चल र गडवालमा प्रयोग हुने ढोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो हाम्रो बिर्के टोपी भन्दा अग्लो पनि हुन्छ। बिर्केटोपीलाई साहित्यकर्मीहरुले भानुजयन्ती र मोतिजयन्ती जस्ता समारोहमा लगाएको देखिन्छ।
४. भादगाउँले  टोपी
भादगाउँ भक्तपुरको पुरानो नाम हो। यही भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले यो गाँउको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको हो । दुईइन्च देखि चारइन्च सम्म  टोपीको उचाइ हुन्छ। कालो गोलाकार माथि तीनकुने ढकनी लागाइ टोपी तयार गरिन्छ। यसलाई तयार गर्दा दह्रो  बनोस भनेर सिलाई सके पछि माडमा पकार तयार गरिन्छ।

गाढाकालो बनाउनका लागि विषेश रंगको पनि प्रयोग गर्ने चलन छ। खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरुले राष्ट्र पोशाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ। राष्ट्रवादी राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रिय पोशाकको प्रचलन शुरुगरे पछि यसको प्रयोगले व्यापकता पाएको देखिन्छ। 
५.पाल्पाली ढाका टोपीः
 पाल्पामा बुनिएको ढाकाबाट तयार गरिएको टोपी भएको हुनाले पाल्पाली ढाका टोपी नामाकरण भएको हो। तीन चार इन्च जति गोलो बनाइ सिलाइएको ढाकामाथि तीनकुने आकारको अर्को टुक्रा राखी यो टोपी तयार गरिन्छ। यो टोपीलाई सम्म भाग भएको टेवलमाथि राखेर हेर्नुहोस। यसले हिमालका चुचुराहरु रपहाडका टाँकुराको आकार ग्रहण गर्दछ। भित्रि सादा कपडा र बाहिर बिभिन्न बुट्टा भएको पाल्पामा बुन्न शुरुवात भएको कपडाबाट तयार भएको हुनाले पाल्पाली ढकाटोपी भनिएको हो।
 

६. तेह्रथुमे ढाका टोपीः
भारतमा अंग्रेजहरुले शासन गरेको समयमा नेपाल प्रति पनि अंग्रेजको गिद्धे दृष्टि पर्यो। फलस्वरुप नालापानी, किल्ला र काङगडाका युद्धहरु भए । बहादुर गोरखालीहरुको नाङ्गो खुँडा, खुकुरी, तरवार र भाला, धनुकाँड,घुँयत्रो बोक्नेसँग अंग्रेजका बन्दुक र तोपले हारखानु पर्यो । यसरी नेपालीको वीरता र साहससँग अंग्रेज परिचित भयो ।

त्यस बेलादेखिनै  नेपालीलाई भारतीय सेनामा भर्ना गर्ने र नेपालीको साहस र बहादुरीलाई उपयोग गर्ने अंग्रेजले नीति लियो। पूर्वी नेपालका बिभिन्न ठाउँबाट अंग्रेजका सेनामा नेपाली युवाहरु भर्ना भए । कालान्तरमा भारतमा अंग्रेज बिरोधी युद्ध बढ्दै गयो। माहात्मा गान्धीले चर्खा आन्दोलन चलाए।  घर घरमा चर्खा चलाएर धागो बाढ्ने अनि खादी कपडा  बुन्ने अभियान चलाए। यसैको प्रभावबाट तीनै लाहुरे मार्फत नेपालमा पनि चर्खा ऐंटो र कपास खेतीले प्रवेश पायो।  ती लाहुरेहरुबाट भित्र्याइएको कपास खेती निकै लोकप्रिय हुँदै तेह्रथुम ताप्लेजुङ पाँचथर इलाम संखुवासभा भोजभुर जस्ता पहाडी जिल्लामा फैलियो।  

तेह्रथुम जिल्लामा बहुसंख्यक रुपमा लिम्बु जातिको बसोवास रहेकोछ। ती जातिबाट कपास खेती गर्ने, कपासलाई टिप्ने ऐंटिने। चर्खाको प्रयोगबाट प्यूरी र धागो बनाउने र खाँडी कपडा बुन्ने कामको शुरुवात भयो। राजा महेन्द्रको शासनकालमा दौरा सुरुवाल र टोपीलाई कर्मचारीमा तथा सांसदलाई अनिवार्य राष्ट्र पोशाकको रुपमा लागू गरियो।

यस समयसम्म कम रुपमा मात्रै उत्पादन हुने गरेको तेह्रथुमे ढाका टोपीले व्यापकता पायो। आसपासका भेगमा पनि यसको प्रभाव पर्यो । खाँडी कपडाका दौरासुरुवाल र ढाका टोपीको अत्यधिक माग हुन थाल्यो । सरकारी प्रयोजनमा प्रयोग हुने फोटोमा अनिवार्य टोपीको व्यवस्था भयो। चाड पर्व जस्तो दसैं तिहारमा टोपीको उपहार दिने चलन शुरुभयो। तेह्रथुमे ढाका टोपी चार देखि ५ इन्च उचाइ सम्मको पाइन्छ। बिभिन्न रंग र आकारका बुट्टा राखेर हातले टोपी बुनिन्छ। यसको आकार पनि पाल्पाली ढाका टोपीको जस्तै हिमालका चुचुरा र पहाडका टाकुरालाई बिम्वित गर्दछ। 
टोपीको महत्वः 
नेपालीहरुका लागि टोपीले विशिष्ट स्थान लिएको छ। परम्परालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझ्ने चलन थियो। माता पिताको वियोगमा कपाल खौरिएर तेह्रदिन सम्म काजक्रिया गर्ने र वर्ष दिनसम्म शोक बार्ने चलन अहिले पनि छ। काज किरिया गरेको समयमा सेतो कपडालेमात्र टाउको ढाक्ने चलन छ।

यसरी आफ्ना श्राद्धेय र पितृ सम्मान र दुख व्यक्त गर्ने प्रतिक टोपी हो। राजा महाराजाको शोकमा पनि कपाल खौरने र टोपी झिक्ने प्रचलन थियो । कोही मानिसका आफन्त  रहेनछन् र मृत्यु भयो भने टोपी झिक्ने कोही रहेनछन्  भन्ने चलन छ। पंचायतकालमा सिंहदरवार भित्र प्रवेश गर्न टोपी अनिवार्य थियो । नेपाली नागरिकता पासपोर्ट परिचय पत्रहरुमा टोपी अनिवार्य छ। 

टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्वित गर्दछ। टोपीले हिमालका चुचुराहरु त्यस्तै गरी पहाडका टाकुराहरुको आकार दर्शाउँछ। निधारमाथि बस्ने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ। यो भूगोलको उच्च हिमालको प्रतिक हो हाम्रो टोपी ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझैं चार जात र छत्तिस बर्णको फूलवारी नेपाल हो भने टोपी सबै फूलहरुलाई एउटै मालामा गुथ्न सफल धागो हो। के जात, धर्म, सम्प्रदाय टोपी सबैको प्रिय हो। टोपी नेपालीको गौरव हो शान हो। एकताको प्रतिक हो टोपी। साँस्कृतिक सम्पदा हो टोपी।  संसारको जुन सुकै ठाउँमा रहेका नेपालीबीचको आत्मीय भाव हो टोपी। दशैंको टिका थाप्न र आशीर्वाद लिन टोपी अपरिहार्य छ। 

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l