एउटा परदेशी बाबुको छोरालाई चिठी

१५ मङ्सिर २०७५

banner

प्यारो छोरा,

परदेशी बाबाको न्यानो माया अनि पलपलको मिठो सम्झना, तिमीलाई।

हुन त प्रविधिले दिनहुँ जसो स्क्रिनमा आमनेसामने गराई दिएकै छ। तर पनि कुरैकुरामा मेसो नपरेका केही मनका कुरा र केही भोगाइबाट सिकेका जीवन सिपका कुरा आज यो पत्र मार्फत तिमीसम्म पुगोस भन्ने सोँचले लेख्ने जाँगर बढेको छ। तिमी हुर्किरहेको समाजको प्रकृति र प्रवृत्तिसँग म र मेरो बुबाको जीवनशैली तुलना गर्दै अगाडीको गोरेटो ठम्याई दिँदो हुँ त तिमी प्रष्ट हुनसक्थ्यौ र म सन्तुष्ट। अफसोस त्यो सुनौलो समय हामीले गुमाएका छौँ। मलाई थाहा छ, तिमी प्रश्न गर्नेछौ, किन रु बाध्यता वा अवसर, लाचारी या महत्वाकांक्षी उत्तर छान्न तिमी स्वतन्त्र छौ। किनकी दोषी म र मैले बाँचेको परिवेश थियो।

सानो छँदा एकदिन स्कुल जाँदै थिएँ। बाटोमै चप्पलको तुना चुँडियो। चप्पल हातमा झुन्ड्याएर माथिसम्मै बाटोको छेऊछाउ ल्याक्टो चकलेटको खोल खोज्दै गएँ, फेला पारिन। कोहीसँग सलाई मागेर पोल्ने साहस त छँदै थिएन। स्कुल नजिकैको बनमाराको बुटोमा चप्पल लुकाएर म चुपचाप खालिखुट्टा कक्षाकोठा भित्र पसेँ र एकैपटक सातौँ घन्टी सकिएपछि अन्तिममा निस्किएँ। त्यो दिन दिसा र पिसाब रोक्न खर्चेको ताकत सम्झिँदा मैले टेकेको जमिन आज पनि थर्किए जस्तो लाग्छ। घर पुगेर पहिले चप्पल अनि पेटको बोझ हल्का पारे। आमासँग पेट सन्चो नभएको र अब दुई दिन स्कुल जान नसक्ने बताए।

आमाले बढो मायाले पेट मुसार्दै तातो तेल पेटमा दलिदिनुभयो। पेट हल्का भयो तर मन चाँही चप्पलको तुनामै अल्झिरह्यो। त्यसताका म सँग झेल्नका लागि अभावहरु प्रसस्तै थिए तर जुध्नका लागि साहस एकदमै कम थियो। पछि तिम्रा कलिला गोडाका स–साना औँलाहरु हेरेँ र ति दिनहरु सम्झिएँ। अनि मन अलि कठोर गरेर तिम्रा लागि राम्रो चप्पलको खोजीमा निस्किएँ। म धेरै भौँतारिएँ र निकै टाढा पुगेँ। आज तिमीलाई चप्पलको खाँचो छैन तर नयाँ चप्पलमा तिमी ठाँटिएर हिँडेको हेर्ने मेरो चाहाना अझै पुरा भएको छैन। तिमीले सोध्ने– किन रु भन्ने प्रश्नमा यसपटक मैले निकै राम्रो जवाफ तयार पारेको छु । “तिम्रो सुन्दर र सहज भविष्यको कल्पनामा, तिम्रै रहरलाग्दो वात्सल्य मैले खराब गरिदिएँ ।” तर यो जवाफ पनि गलत लाग्नसक्छ। जब तिमी यो पत्र बुझ्नेछौ, त्यतिबेला तिम्रो सुन्दर भविष्य अझै गर्भमै हुनेछ र म, मेरो विगत भन्दा कैयौँ गुणा स्तरीय जीवन बाँचिरहेको हुनेछु।

मेरी आमा जस्तै तिम्री आमा संसारकै सर्वोत्कृष्ट आमा हुन्। तिमीले मिमि (ममीलाई तिमि मिमि सम्बोधन गर्छौ जुन सुन्दै झन सुन्दर, प्यारो र मायालु लाग्छ) भनेर बोलाउँदा उनी झनै बिषेश भएकी छिन्। दुनियाँको उत्कृष्ट स्याहार र संस्कार तिमीले तिम्रो ममीबाट पाएका छौ र पाइराख्ने छौ। बाबा साथमा नहुँदा बाबा र ममी दुईजनाबाट पाउने माया, स्याहार र संस्कार ममी एक्लैबाट तिमीले पाएका छौ। त्यसैले तिमीलाई जन्माएर हुर्काउँदै एक लायक मानिस बनाउन ममीको कति लगन र मेहनत लागेको होला तिमी पक्कै अनुमान लगाउन सक्नेछौ। तिमीले एक अनुशासित र मेहनति व्यक्तित्व आफुमा विकास गरेर ममीलाई एक आदर्श आमा सावित गर्नु तिम्रो जीवनको पहिलो सफलता हुनेछ।

मानवजातीले जतिपनि परिवर्तन र विकास गरेका छन् ती सबै उनिहरुको खुःशी सँग जोडिएका छन्। ढुङ्गे युगबाट जंगल हुँदै सभ्यता विकासको चरम उत्कर्षमा आइपुग्दा मानवजाती सोचेभन्दा ठिक उल्टो– निकै अशान्त, बेचैन, एक्लो र अझै अमानविय हुँदै गएको छ। खुसीले मानिसलाई निकै दौडाएको छ र फेरी पनि मानिस त्यसकै पछाडी कुदिरहेका छन्। मेरो बुझाइमा खुसी आफैभित्र छ। यसलाई फेरि प्राप्त गर्नु पर्दैन। मात्र आफ्नो मन थोरै ठुलो गरेर हेर्ने हो भने आफ्नै वरिपरी कैयौँ खुसीका कारणहरु मिल्नेछन्, जो बाच्नका लागि पर्याप्त हुनेछन्। तिमीसँग उपलब्ध स्रोत र सामग्रीको सही प्रयोगले स(साना खुसीहरु संगाल्दै तिमी आफ्नो र आाफ्नो वरिपरीको माहोल सुखद बनाउन सफल हुनेछौ।

प्यारो छोरा, जब तिमी परिवारबाट हुर्किएर एक वयस्कको रुपमा समाजको हिस्सा बन्नेछौ, तिम्रो सामु एक निकै स्वार्थी, भ्रष्ट र तिमीले सोचेभन्दा अझै कुरुप मन भएका मानिसहरुको जमात पाउने छौ। समाज परिवर्तनशिल छ र यसले प्रशस्त समय लिन्छ। त्यसैले मैले र तिमीले बाँच्ने समाजको चरित्रमा धेरै भिन्नता हुनेछैन। तिमीलाई हाम्रो समाज नौलो नलाग्न सक्छ। तर मैले समाजको निकै सुन्दर रुप देखेको छु। कम स्वार्थी र कम भ्रष्टहरुको, अझ भनौ ईमानदार र मेहेनतीहरुको। तिमीले आफूमा बिकसित स्वार्थीपनाको धेरै हिस्सा त्याग्नुपर्नेछ। तिमीलाई गाह्रो लाग्नसक्छ। सबैभन्दा अलग रहन कसरी सम्भव हुन्छ रु कुनै कुराको निर्माण कहाँ सहज हुन्छ र रु तर तिमीले यो अफ्ठेरो चिरेर आफुलाई प्रमाणित गर्नेछौ भन्ने विश्वास गरेको छु। र तिमीबाट सुन्दर समाजको जगको आशा गरेको छु।

आज पनि केही मानिस छन् जो कम स्वार्थी र कम भ्रष्ट छन्। सबैजना खराब हुन्थे होलान् त यो जीवनचक्र बन्द भई सक्थ्यो होला। यस्तो म सोच्छु, जतिबेला तिमी आवश्यकतामा रहेकाको सहयोगमा खुसी भेट्छौ, अरु कसैको मुहारमा मुस्कान भरेर आफु रमेको आभास गर्छौ, त्यसदिन तिमीले वास्तविक खुसी भेट्नेछौ र म धन्य हुनेछु।

पाइलैपिच्छे भेटिने स्वार्थी र भ्रष्ट मानिसमा तिमीलार्इ दुई गुण सधै खट्किने छ। विवेक र उद्यमको खडेरीले आजको समाज जर्जर बनेको छ। यी दुई गुण तिमीमा विकास गर्नु मेरो जीवनको सबैभन्दा जटिल चुनौती मानेको छु। तिमीले गर्ने कामले तिम्रो भविष्य निर्धारण गर्छ। तिमीले सोचेभन्दा धेरै काम तिमीलाई थाहै नदिइ तिम्रो शरिरले गरिरहेको हुन्छ। जब एउटा भिडलाई तिमी पार गर्छौ भने अनेकौँ दृश्य र ध्वनि लगाएत लाखौँ लगत तिम्रो शरिरले संकलन र भण्डारण गरेको हुन्छ। बर्षौँपछि कोही मान्छेले तिमीसँग परिचय माग्दा तिमीलाइ त्यो मान्छे कतै देखे जस्तो र उसको बोली सुनेजस्तो लाग्छ। यो सानो उदाहरण भयो।

एक विद्वानले हाम्रो शरिरले गर्ने केही नगन्य कामसँग मात्र हामी जागरुक हुन्छौँ भनेका छन्। यस्तोमा तिमीलाई जीवन भाग्य र संयोगमा जकडिएको जस्तो लाग्न सक्छ, म यो भ्रमका बारे अझै तिमीलाई राम्रोसँग बुझाउन नसकुँला। तर तिमीले गर्ने हरेक कामले नै तिम्रो हालत र भविष्य निर्धारण गर्ने कुरा बुझ्नु एकदमै महत्वपुर्ण हुनेछ।

विवेक एक मात्र खुबी हो जो तिमीले आफ्नो चेतनाको भित्री तहबाट आफै खोजेर निकाल्नुपर्नेछ। उच्चस्तरको शिक्षा, ज्ञान, बुद्दि र सामर्थ्य हासिल गरेका विवेकहिन मानिस अनगिन्ती भेटेको छु समाजमा मैले। एक सोच र सानो व्यबहारले तिनमा निहीत सुन्य विवेकको स्तर प्रष्ट देखाइदिन्छ। विवेकले तिम्रो दिमागमा पैदा हुने सोच र तिम्रो व्यवहारलाई निर्देशित गर्दछ। तसर्थ सहि सोच र शालीन व्यबहारका लागि तिमीले विवेकपुर्ण व्यक्तित्व आफुमा विकास गर्नुपर्नेछ। विवेकशील उद्यमशीलताले समाज साँच्चै सुन्दर बन्नसक्छ। मैले तिम्रोलागि सोचेको सुन्दर भविष्य यस्तैयस्तै छ, सायद।

तिम्रो ममी तिमीलाई डाक्टर बनाउन चाहन्छिन्। तिम्रो ममी इच्छा चाहनालाई पुरा गर्न म हर सम्भव प्रयासरत छु। तर तिमी कुन पेसा गर्नेछौ, चयन गर्न तिमी स्वतन्त्र छौ। कमसेकम मेरो तर्फबाट। तिमीलाई यस धर्तीमा ल्याउने क्रममा तिम्रो मीमीले धेरै असहज र जटिल शारिरीक अवस्थाबाट गुज्रिनुपरेको थियो। मेरो कमजोर स्थितिको कारणले तिम्रो मीमीले पाउनुपर्ने सुलव र स्तरिय उपचार सहज हुन सकेन। जसले गर्दा उनको मनमा यो सोच पलाएको हुनुपर्छ, तिमीलाई डाक्टर बनाएर अफ्टेरोमा परेकाहरुको सहज उपचारमा टेवा पुर्याउने उनको यो चाहना साच्चै मनन योग्य छ। तिमी जुन काम गर्नेछौ, पुरा अनुशासन मिहेनत र लगनका साथ गर्नेछौ। काम गर्दै जाँदा सँधै सफल नहुन पनि सकिन्छ। तिमी अझै सिक्नेछौ र फेरि प्रयास गर्नेछौ। कहिल्यै हार नमानि निरन्तर काम गर्नेछौ। सफलता एउटा पाटो हो, जसले तिमीलाई अझै काम गर्ने जाँगर दिनेछ तर तिम्रो आत्मसन्तुष्टिलाई तिम्रो जीवनको गतिशिलताले तौलिने छ।

जीवनको उत्तरार्धमा मेरो जीवन कति सफल रह्यो भन्ने भन्दा म जीवनमा कति क्रियाशिल रहेँ भन्ने सवाल तिमीले आफुलाई गर्नेछौ। यसो भनिरहँदा सफल जीवनको प्रतिफल स्वरुप मर्सीडिजमा हुँइकिरहेको मान्छे आफ्नो साईकल अतितलाई सबैभन्दा सन्तुष्टिका साथ सम्झिरहेको दृष्य मेरो दिमागमा चलिरहेको छ। यो कुरा आजको साँझ आँगनको डिलमा म तिम्रो कपाल मुसार्दै तिमीलाई सुनाउन सक्थेँ। मेरो सफलताको भोकले  म बाट त्यो सन्तुष्टि खोसिदिएको छ। मेरो उतारचढावपुर्ण जीवन भोगाई र सिकाईबाट तिमीलाई म सफल भईकन सन्तुष्ट जीवन जीउन प्रेरित गर्नेछु।

हरेक सवालको तार्किक जवाफ दिने सामर्थ्य राख्ने आजको विज्ञान, समयको सवालमा अझै यसै हो भनेर परिभाषित गर्ने स्थितिमा आईसकेको छैन। समय अपरिभाषित र अपराजित छ। त्यसैले समयको वहावसँगै तिमी पनि हरेक सहज र असहज स्थितिको भागिदार हुनेछौ र सबै स्थितिको सामना गर्न सिक्नेछौ।

जीवनमा अनुभव हुने सुख–दुःख, हाँसो–रोदन, हारजीत र मिलन–बिछोड जस्ता प्रक्रियाहरु सामान्य हुन्। हरेक मानिसले अति सुखद् र अत्यन्तै दर्दनाक अवस्था आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा भोगेकै हुन्छ। आफ्नो दिनचर्या र आफ्नो वरिपरीको परिवेशमा घट्ने विभिन्न घटनामा तिव्र प्रतिक्रिया जनाउने बानीले समयचक्रमा आफुमाथि आईलाग्ने बिपद र सुखद परिस्थितिको समेत सहज सामना गर्नसक्ने क्षमता खियाईदिन्छ।

समझ एकमात्र यस्तो अश्त्र हो जसको प्रयोगबाट तिमीले आफ्नो जीवनका विषम अवस्थाहरुलाई सन्तुलित तवरबाट अवतरण गराउन सक्नेछौ। एक समझदार व्यक्तिले मात्र आफ्नो परिवार र सिंगो समाजलाई सहि दिशा दिनसक्छ। तिमीले यस्तै सोचसमझ पुर्ण व्यक्तिको रुपमा आफ्नो जीवन अघि बढाएको हेर्न चाहन्छु । बाँकी कुरा गर्दै गरौँला। अहिलेलाई बिदा।
   
                                                                                      तिमीलाई धेरै माया गर्ने उही तिम्रो
                                                                                                  परदेशी बाबा

 

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष