सिक्का छाप्ने ‘खोटो’ मेसिन

२७ माघ २०७५
banner

काठमाडौं । पर्याप्त सीप र प्रविधि रहेको भए पनि पछिल्ला केही वर्षयता नेपालले चलनचल्तीमा रहेका एक र दुई रुपैयाँ दरका सिक्का विदेशमा बनाएर ल्याउने गरेको राष्ट्र ब्याङ्कले जनाएको छ।

स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महङ्गो पर्ने लगायतका कारणले नेपालमा सिक्का बनाउन प्रयोग भएका करोडौँ मूल्यका मेसिन ठप्प प्रायः बनेका छन्।

तर राष्ट्र ब्याङ्कको सिक्का छपाइसम्बन्धी टक्सार महाशाखामा रहेका नयाँ तथा पुराना मेसिन एवम् जनशक्ति, स्मारिका सिक्का र तक्मा तथा पदकहरू छपाइमा सीमित बनेका छन्।

सिक्का बनाउने खोटो मेसिन
त्यस्तो छपाइ विषेश वर्ष, घट्ना, पर्व वा अवसरमा सरकारी तथा निजी क्षेत्रका लागि समेत माग अनुसार गरिने राष्ट्र ब्याङ्कको भनाइ छ।

जीर्ण
प्रतिमिनेट एउटाका दरले तीन सयभन्दा बढी सिक्का बनाउन सक्ने मेसिनहरू देखि १०० वर्षभन्दा पुराना मेसीनहरू धरहरा नजिकैको टक्सार महाशाखाको जीर्ण भवनमा थन्किएका छन्।

अचेल उक्त महाशाखा मातहतका केही मेसिनहरू र सम्बद्ध जनशक्ति धातु गाल्नका लागि मात्रै प्रयोग हुँदै आएका छन्।

महाशाखाका निर्देशक अनुज दाहाल भन्छन्, ‘सिक्कामा लेखिएको मूल्यभन्दा धातुको मूल्य बढी पर्ने भएपछि उक्त सिक्काको दुरुपयोग हुने सम्भावना निकै धेरै हुन्छ। हाल कायम सिक्काको तौल घटाइए गुणस्तर खस्किने र प्रयोग नहुने खतरा हुनसक्छ।’

२५ र ५० पैसा दरका सिक्काको छपाइ झण्डै एक दशकअघि देखि नै बन्द भएको हो।

विगतमा पनि कम तौलको सिक्काहरूको छपाइ गर्दा उक्त सिक्काहरूलाई चलनचल्तीमा ल्याउन निकै कठिन भएको राष्ट्र ब्याङ्कको अनुभव छ।

कठिन
जसका कारण ब्रिटेन, जर्मनी लगायतका मुलुकहरूबाट विभिन्न समयमा आयात गरिएका दर्जनौँ मेसिनहरू हाल काम नलाग्ने अवस्थामा पुगेका हुन्।

झण्डै दुई महिना अघिसम्म केही पाटपूर्जाहरुको मर्मत गरेर चलाइएको भए पनि हाल उक्त मेसिनहरू समेत कामविहीन बनेको महाशाखामा कार्यरत प्राविधिक कर्मचारीले बताएका छन्।

‘हामीले जेनतेन पाटपूर्जाहरूको मर्मतसम्भार गरि केही मेसीन चलाउँदै आएका थियौं। तर अब त्यो पनि सम्भव छैन,’ झण्डै दुई दशकयता महाशाखामा कार्यरत मेकानिकल इन्जिनियर श्यामकुमार श्रेष्ठले बताए।

कतिपय मेसिन निर्माण गर्ने कम्पनीहरू नै बन्द भइसकेको र कतिपय मेसिनका पाटपूर्जा पाउन समेत कठिन भएको उनको भनाइ छ। 
‘विगतमा सबै दरका खाली चक्कीमात्र नेपालमा ल्याएर छपाइ गर्ने प्रचलन रहेपनि पछिल्लो एक दशकयता एक र दुई दरका सिक्का चीन, दक्षिण अफ्रिका, फिनल्याण्ड लगायतका मुलुकमा बनाइँदै ल्याइने गरिएको छ,’ श्रेष्ठले भने।

नेपालमा सिक्का छाप्ने क्रम घट्दै गएपछि सिक्का छाप्ने सीप भएका जनशक्तिसमेत विस्तारै कम हुँदै गएको उनको चिन्ता छ।

विस्थापित
पुरानो मेसिन चलाउन जान्ने र सिक्कामा माग अनुसारको आकृति बनाउनसक्ने दक्ष मानिसहरू समेत पाउन कठिन हुँदै गएपनि आवश्यकता अनुसार कामका लागि बाहिरका कालिगढ खटाउने गरिएको बताइन्छ।

हाल प्रयोगमा रहेका तथा विदेशमा छापिएका एक र दुई रुपैयाँ दरका सिक्का पर्याप्त मौज्दात रहेको महाशाखाका निर्देशक दाहालले बताएका छन्।

२०७२ सालको भूकम्पले टक्सार महाशाखाको भवनमा क्षति पुर्‍याएपछि हाल मौज्दात सिक्काको संरक्षणमा समेत समस्या रहेको बताइएको छ।

धरहराको पुनर्निर्माणसँगै टक्सार विभाग समेत उक्त स्थानबाट विस्थापित हुने अवस्थामा पुगेको बताइएको छ। तर ठूला र पुराना मेसिन बाहिर सार्न नमिल्ने अवस्थामा रहेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणसँगै हालको टक्सार महाशाखालाई सानो आकारको टक्सार सङ्ग्रहालय बनाउने योजना अघि सारेको बताइएको छ।

प्रयोग
‘तर लामो इतिहास बोकेका पुराना मेसीनलाई कसरी प्रदर्शनीमा राख्ने र तिनको दीर्घकालीन संरक्षण कसरी गर्ने भन्ने बारेमा भने कुनै छलफल आरम्भ भएको छैन,’ मेकानिकल ईन्जिनियर श्रेष्ठले भने।

महाशाखामा थन्किएका कतिपय मेसिनहरू विदेशीहरूले सङ्ग्रहालयमा राख्ने प्रयोजनका लागि माग गर्दै आएको भएपनि नदिएको अधिकारीहरूले जनाएका छन्।

उक्त पुराना मेसिनहरू बेच्न नमिल्नुका कारणबारे पनि श्रेष्ठले भने, ‘मेसिन पुराना भएपछि लिलाम गरि बेच्ने प्रचलन रहेपनि दुरुपयोग हुनसक्ने खतरा रहने भएकोले सिक्का छाप्ने मेसिन नबेचेका हौं।

विगतमा भोजपुर, गुल्मी लगायतका जिल्लामा समेत सिक्का छाप्ने टक्सार रहेका थिए।

हाल सिक्काको प्रयोग कम हुँदै गएको भएपनि तुलादान जस्ता विभिन्न धार्मिक कार्य एवं मन्दिरमा भेटी चढाउन र सार्वजनिक सवारी साधन तथा खुद्रा साट्न बढी प्रयोग हुने गरेको राष्ट्र ब्याङ्कको भनाइ छ। (BBC)

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l