सिके राउतको चंगुलमा फसेको हो सरकार ?

२७ फाल्गुन २०७५
banner

काठमाडौं। स्वतन्त्र मधेसको माग परित्याग गरेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएको दाबी गरेको स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतका कार्यकर्ताले आइतबार जनकपरुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन्। 

सरकारले गत शुक्रबार राउतसँग ११ बुँदे सहमति गर्दै मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको जनाएको थियो। प्रधानमन्त्रीसहित उपस्थित भएको कार्यक्रममा गृहमन्त्री र राउतबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए

तर हस्ताक्षर हुनु अगाडि नै राउतले आफ्नो फेसबुक पेजमा सरकार स्वतन्त्र मधेस गठबन्धनको मागका विषयमा जनमत संग्रह गर्न तयार भएको उल्लेख गरेका थिए। सरकारसँग भएको सहमतिको दोस्रो बुँदा पनि जनमत संग्रहकै अर्थ लाग्ने शब्दको प्रयोग भएको थियो।

सरकारले राउतसँग जनमत संग्रह गर्ने सहमति गरेको भन्दै आइतबार संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले चर्को विरोध गरेका थिए। प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थाहाले राउतसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्टिकरण दिएका थिए। तर गृहमन्त्रीले जनमत संग्रह गर्ने सहमति नभएको भन्दै संसदमा स्पष्टिकरण दिएको केही समयपछि नै राउतका कार्यकर्ताले जनकपुरमा  स्वतन्त्र मधेसको नारा लगाएका थिए। 

बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए। 

राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले जनकपुर विमानस्थललाई चारैतिरबाट घेरा हालेका थिए। रौतहट जान जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्न पुगेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र मधेस चाहियो भनेर नाराबाजीसमेत गरेका थिए । राउतका कार्यकर्ताले स्वतन्त्र मधेस माग गर्दै सम्झौता मात्रै उल्लंघन गरेनन्, संविधानका विभिन्न धारामाथि समेत आक्रमण गरेका छन् ।

संविधानको धारा २७४ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने उल्लेख छ। राउतका कार्यकर्ताले संविधानको सो धाराविपरीत हुने गरी छुट्टै मधेस राज्यको माग गरेका छन् । राउतले दुई दिनअघि सरकारसँग गरेको सहमतिमा स्वतन्त्र मधेसको माग त्याग्ने र मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डता स्विकार्ने प्रतिबद्धता जनाएका थिए । 

प्रधानमन्त्री केपी ओलीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको दाबी गरेका थिए। सरकारले राउतसँग गरेको सहमतिको बचाउ गरिरहेपनि राउतले भने सरकारलाई प्रयोग गर्न खोजेको देखिएको विश्लेषण गर्न थालिएको छ। 

आइतबार जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा राउतका कार्यकर्ताले नारावाजी गरेपछि सत्तारुढ दल नेकपाका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्। श्रेष्ठले आइतबार ट्विट गर्दै लेखेका छन्, ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको विरुद्ध खुलम्मुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछ? यो हद भो, असैह्य भयो। बिखण्डनकारी गतिविधि अन्त्यका निम्ति सम्झौताकी विखण्डनबादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नैं नपाउने गरी सरकारले तुरन्त कदम चाल्नुपर्छ। गम्भीर बनौं।’

शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच भएको ११ बुँदे सम्झौताको व्याख्या गर्दै सम्झौता भएकै दिन प्रधानमन्त्री केपी ओलीकै अगाडि सरकारले जनमतसंग्रह स्वीकार गरेकाले आफ्नो जित भएको बताएका थिए ।

राउतसँग सरकारले गरेको सहमतिको ६ नम्बर बुँदामा सहमति र संविधान प्रतिकूल हुने गरी राउत समूहले प्रचार सामग्रीहरू उत्पादन तथा वितरण गर्न नपाइने उल्ल्ेख छ तर सो प्रावधानविपरीत राउतका कार्यकर्ताले जनकपुरमा बुलेट पु्रफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झन्डा बाँधेर सहमति उल्लंघन गरेका छन्। 
 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |