जलवायु परिवर्तन: यो दशक सबैभन्दा गर्मी दशक हुने अनुमान

२७ माघ २०७५
banner

लण्डन (बीबीसी)  । सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको संघारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन् । ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ । आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको वर्ष पनि हुन सक्नेछ ।

जलवायु परिवर्तनको मुद्दामा १.५ डिग्री सेल्सियसलाई महत्त्वपूर्ण सङ्घारको रूपमा लिइन्छ । यदि तथ्याङ्कसँग प्रक्षेपण मिलेमा सन् २०१४ देखि सन् २०२३ सम्मको दशक १५० वर्ष यताको सबैभन्दा गर्मी दशक हुनेछ ।

ब्रिटेनको मौसम विभागका अनुसार औद्योगिक युगको औसतमा एक डिग्री सेल्सियस तापक्रम बढी भएको पहिलो वर्ष सन् २०१५ थियो । त्यसयता प्रत्येक वर्ष विश्वको तापक्रम औसतमा एक डिग्रीको वरपर नै रहेको छ ।

आगामी पाँच वर्षमा यो बढ्न सक्ने विभागको प्रक्षेपण छ । ‘हामीले सन् २०२३ सम्मका लागि तापक्रम प्रक्षेपण गरेका छौँ। त्यो प्रक्षेपणले तापक्रम नराम्ररी बढिरहेको देखाउँछ’, प्राध्यापक एडम स्काइफले भने, ‘प्रत्येक वर्षको तापक्रम हेरेर हामीले प्रक्षेपण गरेका हौँ, र पहिलो पटक अस्थायी रूपमा भएपनि हामीले पेरिस सहमतीले राखेको महत्त्वपूर्ण १.५ डिग्री सेल्सियसको सङ्घार नाध्ने देखिएको छ ।’ 

गत अक्टोबरमा संयुक्त राष्ट्रसंघले सो संघार नाध्दा हुने असरहरूको बारेमा व्याख्या गरेर एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनले सन् २०३० सम्ममा त्यो संघार नाध्न नदिनका लागि विश्वभरि व्यापक रूपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने देखाएको थियो । ब्रिटेनको मौसम विभागले आगामी पाँच वर्षमा त्यसो हुनसक्ने सम्भावना १० प्रतिशत रहेको देखाएको छ ।

ब्रिटेनको मौसम विभागले आफ्नो प्रक्षेपणमा आफू ९० प्रतिशत विश्वस्त भएको जनाएको छ । सन् २०१९ देखि सन् २०२३ सम्ममा तापक्रम औसत १.०३ देखि १.५७ डिग्री सेल्सियससम्म बढ्ने र पृथ्वीका ध्रुवीय विन्दुहरूमा ज्यादा तातो हुनेछ । आफ्नो विगतका प्रक्षेपणहरू मिलेको आधारमा यो प्रक्षेपण पनि मिल्ने दावी अध्ययन समूहले गरेको छ । 

मौसम विभागको प्रक्षेपण अन्य जलवायुसम्बन्धी कार्य गर्ने संस्थाहरूले सन् २०१८ को तापक्रमको प्रतिवेदन निकालिरहेको बेला आएको छ । ती प्रतिवेदनहरूका अनुसार सन् २०१८ हालसम्मको चौथो सबैभन्दा गर्मी वर्षका बनेको थियो ।

विश्व मौसम विज्ञान संगठनले प्रकाशित गरेको तथ्यांकमा हालसम्मका सबैभन्दा गर्मी २० वर्षहरू सबै गएको २२ वर्षको अवधिमा भएको बताएको छ । ‘तापक्रम मुद्दाको एक अंश मात्रै हो। यसको असरले धेरै देशका लाखौँ मानिसलाई असर गर्छ जसको सन् २०१८ मा अर्थतन्त्र र प्रकृतिमा नराम्रो प्रभाव पर्यो’, संगठनका महासचिव पेटेरी तालसले भने ।

जलवायु परिवर्तन विज्ञहरूले ब्रिटेनको मौसम विभागको प्रक्षेपण आशातीत नै भएको बताएका छन् । ‘दुर्भाग्यवश मौसम विभागको प्रक्षेपण आश्चर्य होइन,’ ब्रिटिस अन्टार्टिक सर्भेकी डा. अन्ना जोन्सले भनिन्, ‘हामीले कार्बन उत्सर्जन कम नगरेसम्म औसत तापक्रम बढ्ने क्रम रोकिन्न ।’

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l