सोमबार डीपीएल शुरु हुँदै, यी हुन् उपाधि दाबेदार

२७ माघ २०७५
banner

काठमाडौं । सोमबार कैलालीको फाप्ला मैदानमा धनगढी प्रीमियर लीग (डीपीएल) को तेस्रो संस्करण शुरु हुँदै छ । देशकै सर्वाधिक पुरस्कार राशीको यो टी ट्वान्टी लीगमा विभिन्न ६ वटा फ्रेन्चाइजी टीमले प्रतिस्पर्धा गर्दै छन् ।  

शुक्रबार धनगढीमा ट्रफी सार्वजनिक कार्यक्रममा धनगढी स्टार्स, महेन्द्रनगर यूनाइटेड, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र रुपेन्देही च्यालेन्जर्सले उपाधिमाथि आ–आफ्नो दाबी प्रस्तुत गरे । 

टोलीका प्रतिनिधि, प्रतियोगिताका गुडविल एम्बास्डर तथा पूर्व दक्षिण अफ्रिकाका लिजेण्ड जोन्टी रोड्स र आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले एक कार्यक्रमकाबीच शुक्रबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।

सुरुका लगातार दुई सिजनको उपाधि उचालेको टोली धनगढीका कप्तान सोमपाल कामीको यसपटक पनि उपाधि उचाल्ने आत्मविश्वास छ। 

‘ताज जोगाउँन गाह्रो त भैहाल्छ,’ सोमपालले भने, ‘अघिल्ला दुईवर्ष राम्रो प्रदर्शन गरेर उपाधि जितेका थियौं। यसपटक त्यसलाई जोगाउने चुनौती छ तर हामीमा आत्मविश्वास छ। हामी ताज जोगाउन सक्नेछौं।’

विदेशी खेलाडीका रुपमा यूएईका कप्तान रोहन मुस्तफासहित यूएईकै तीव्रगतिका बलर आमिर हायतले धनगढीको उपाधि रक्षा गर्ने अभियानमा साथ दिदैँछन्। रोहन डीपिएल दोस्रो सिजनको सर्वोत्कृष्ट खेलाडी समेत हुन् भने आमिरल नेपालको यूएई भ्रमणका बेला उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै टोलीमा सुनिल धमला, पवन सर्राफ, सौरभ खनाल, अमित श्रेष्ठ, राजु रिजाल, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, विपिन खत्री, रोविन क्षेत्री जस्ता घरेलु क्रिकेटमा नाम चलेका खेलाडीहरु छन्।

सोमपाल आफ्नो टोली बलियो भएको र आफूहरु प्रदर्शन गर्न आतुर भएको बताउँछन्। ‘टि–२० मा टिम जति बलियो भएपनि प्रतिस्पर्धा उत्तिकै हुन्छ,’ सोमपाल भन्छन्, ‘सानो, फास्ट फम्र्याट भएकाले तीन चारजनाले प्रदर्शनले खेल पल्टाइदिन्छ। युवाहरुले भरिएको हाम्रो टिम बलियो छ। हामी प्रदर्शन गर्न आतुर छौं।’

सिवाइसी अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरी विदेशी प्रशिक्षक र मेन्टरको आगमनले टोलीको हौसला बुलन्द भएको बताउँछन्। सिवाइसीले प्रशिक्षकमा पूर्व अफगानिस्तान तथा वेस्ट इण्डिजका फिल्डिङ प्रशिक्षक समेत रहिसकेका दक्षिण अफ्रिकाका रायन मारोन र मेन्टरमा पूर्व दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सलाई टोलीसँग अनुबन्ध गरेको छ।

उनीहरुले टोलीलाई नियमित प्रशिक्षण गराइरहेका छन्। भर्खरै सम्पन्न यूएई टूरको डेब्यू खेलमै अर्धशतकीय पारी खेलेका सन्दीप जोरोसँगै टोलीमा कमलसिंह ऐरी, भुवन कार्की, जितेन्द्रसिंह कार्की, रित गौतम, प्रेम तामाङ, सुवेन्दु पाण्डे, रामनरेश गिरी जस्ता घरेलु क्रिकेटका युवा अनुहारहरु छन्। 

यस्तै विभिन्न नेपाली फ्रेन्चाइजी क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका भारतीय सन्नी पटेल र जयकिशन कोल्सावालालाई टोलीले विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ।

‘मेन्टर तथा प्रशिक्षक पनि विदेशी भएकाले त्यसले टिमको हौसला बढेको छ,’ दीपेन्द्रले भने, ‘विदेशी खेलाडीहरुले पनि यसअघि नेपाली घरेलु क्रिकेटमा राम्रै छाप छाडेका छन्। उनीहरुसँगै युवा टोली भएकाले राम्रो प्रदर्शन हुने अपेक्षा राखेका छौं।’

पहिलो संस्करणको डीपिएलको उपविजेता टोली विराटनगर किंग्सको कप्तानी यसपटक राष्ट्रिय टोलीका तीव्रगतिका बलर करण केसीले गर्दैछन्। करण टोली ब्यालेन्स भएको र विदेशी खेलाडीहरु बोनसका रुपमा रहेको बताउँछन्।

‘वर्षाका कारण तीनदिन अघि धनगढी आएपनि एकदिन मात्रै अभ्यास गर्न पायौं,’ करणले भने, ‘खेलाडीहरुले आ–आफ्नो ठाउँमा राम्रो प्रदर्शन गरिहेका छन्। विदेशी खेलाडीमा निर्भर नभएपनि सन्तुलित टिम छ। दुईवटा विदेशी खेलाडी बोनस हुनेछन्।’ 
टोलीमा करणसँगै आसिफ सेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशान भारी, हरिशंकर शाह, सम्सांद शेख, राजेश पुलामी जस्ता खेलाडीहरु छन्। विदेशी खेलाडीका रुपमा विराटनगरले भारतका रणजी खेलाडीहरु बायाँ हाते ब्याट्सम्यान शुभाकान्त शुक्ला र स्पिनर अविनाश यादवलाई अनुबन्ध गरेको छ।

डीपिएलको तेस्रो संस्करणको अर्को दाबेदार टोली हो, रुपेन्देशी च्यालेन्जर्स। नेपालको भर्खरै सम्पन्न यूएई टूरमा यस टोलीका कप्तान बसन्त रेग्मीसँगै भीम सार्की, प्रदीपसिंह ऐरी र विनोद भण्डारीले खेलेका थिए।

त्यसमध्ये टोलीमा विक्रम सोब, ललितसिंह भण्डारी, सन्दीप सुनार, कृष्ण कार्की, पुरन विक जस्ता नाम चलेका खेलाडीहरु छन्। रुपेन्देहीले हङकङका कप्तान बाबर हायतलाई अनुबन्ध गर्दै टोलीलाई थप बलियो बनाएको छ।

ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित टोलीका खेलाडी विक्रम सोबले भने, ‘बसन्त रेग्मी, प्रदीप ऐरी, भीम सार्की र विनोद भण्डारीले भर्खरै यूएईविरुद्धको शृंखला खेलेर आएका छन्। हामीले भैरहवामा हप्ता दशदिनको क्याम्प पनि गरेयौं । विदेशी खेलाडीका रुपमा हङकङका कप्तान बाबर हायातको आगमनले पनि टोली बलियो बनेको छ। टोली तीनवटै डिपार्टमेन्टमा बलियो छ। हाम्रो लक्ष्य उपाधि उचाल्ने हो।’

शरद भेषावकरले आफूले खेलेका सम्पूर्ण फ्रेन्चाइजी क्रिकेटमा आफ्नो टोलीलाई फाइनलसम्म डोर्याएका छन्। यसपटक डीपिएलमा उनले महेन्द्रनगर यूनाइटेडको कप्तानी गरेका छन् र कागजमा उनको टोली बलियो देखिन्छ।

शरदसँगै टोलीमा रोहितकुमार पौडेल, अविनाश बोहरा, अमरसिंह रौटेला, सागर ढकाल, दीलिप नाथ, सिद्धान्त लोहनी, साहब आलम, कुशल मल्ल जस्ता नाम चलेका खेलाडीहरु छन्। त्यसमाथि महेन्द्रनगरले विदेशी खेलाडीका रुपमा यूएईका कप्तान तथा तीव्रगतिका बलर मोहम्मद नाभिदलाई अनुबन्ध गरेको छ।

टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका आरिफ सेख टोली सन्तुलित रहेको र आफूहरुको उदेश्यपनि उपाधि उचाल्ने रहेको बताउँछन्। ‘हाम्रो युवा र सन्तुलित छ। शरददाई पनि फिट भैसक्नु भएको छ,’ उनले भने, ‘वर्षाले टोली मैदानमा गएर अभ्यास त गर्न पाएनौं तर व्यक्तिगत रुपमा सबै खेलाडीले राम्रै तयारीमा छन्।’

गतसंस्करणको उपविजेता टोली काठमाडौं गोल्डेन्सको यस संस्करणको लक्ष्य नै एक स्टेप अघि बढ्दै उपाधि उचाल्नु हो। टिमका ओपनर अनिलकुमार साह आफूहरुले प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्दै उपाधिका लागि खेल्ने बताए।

‘टोली सन्तुलित छ, अनुभवी र युवा खेलाडीहरु छन्,’ अनिलले भने, ‘बलरहरुमा पनि भेराइटिज छ। ज्ञानेन्द्र मल्ल दाईको कप्तानीमा खेलाडीहरु खेल्न उत्साहित छन्।’

राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंमामा ललितनारायण राजवंशी, रासिद खान, विक्रम भुषाल, योगेन्द्र कार्की, सोनु तामाङ, मोहबुब आलाम, नन्दन यादव छन्। यस्तै काठमाडौंले भारतका गौरव तमोर र अंकित दाबसलाई टोलीसँग अनुबन्ध गरेको छ।

देशकै सर्वाधिक पुरस्कार राशीको रुस्लान डीपिएल ३ को विजेताले ३० लाख तथा उपविजेताले १२ लाख पाउँनेछ। नेपालमा अक्सनमार्फत खेलाडीहरु टोलीमा अनुबन्ध गराउँने तथा शहरहरुको फ्रेन्चाइजी टोली बनाउँने इतिहास डीपिएलको नाममा छ।

खराब मौसमका कारण रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण दुईदिन पछि धकेलिएको छ। फाप्ला क्रिकेट मैदानमा शनिबारबाट हुने तय भएको प्रतियोगिता अब सोमबारबाट हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ। लगातार परेको वर्षाका कारण शुक्रबार साँझसम्म फाप्ला मैदानमा पानी जमेको थियो। पीच भने सुरक्षित राखिएको छ।

आइतबार भने धनगढीमा घाम लागेको छ। नयाँ खेलतालिका अनुसार सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डन्स भिड्नेछन्। यस्तो दोस्रो खेलमा रुपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l