संगीतमा लयबद्ध वैदेशिक रोजगारीका शब्द

२३ आश्विन २०७५

banner

काठमाण्डौ । दशैं  नजिकिँदै छ, लाखौं नेपालीहरु विदेशी भूमिबाट स्वेदश फर्कन पाएका छैनन् । उनीहरु विदेशी भूमिमा आफन्तविहीन दशैं मनाउने सुरसारमा छन् । पक्कै पनि यो नेपाली छोराछोरीका लागि खुसीको क्षण होइन । तर हरेक महिना थापिने तलबले भने वैदेशिक रोजगारीमा रहेका छोरा र घरमा बसेका आमाहरु खुसी बन्छन् । सुख र दुखका यिनै शब्दलाई संगीतबद्ध बनाएर गीत बनिरहेका छन् । यस्ता गीतहरुले वैदेशिक रोजगारीका पीडाका कथा बोकेका हुन्छन्, र बाध्यताका व्यथा पनि । 

वर्तमान सरकार समृद्ध नेपालको नारा लिएर अगाडि बढिरहेको छ । श्रममन्त्री गोकर्ण विष्ट अब ५ वर्षपछि वैदेशिक रोजगारीमा जान नपर्ने वातावरण बनाउँछु भनिरहेका छन् । यहीबीचमा गीतबाटै वैदेशिक रोजगारीमा नजान आग्रह गरेका छन् कलाकार तथा सर्जक दुर्गा रायमाझीले ।

दैनिक हजारौँको संख्यामा विदेशिने नेपालीहरुलाई नेपालमै जाँगर गरी श्रम गरे विदेशिनु पर्दैन भन्ने दृढता व्यक्त गर्दै नेपालमै फर्किएर श्रमको सदुपयोग गर्न हौसला बढाउने ‘फर्क दाई फर्र्क’ बोलको गीत सोमबार सार्वजनिक गरेका हुन् । सर्जक तथा लोककलाकार दुर्गा रायमाझीले आफूले ६ वर्ष अगाडि नै लेखेको गीत अहिलेको समयसँग पनि मिल्दोजुल्दो भावमा रहेकोले बजारमा ल्याएको बताएका छन् ।

दुर्गा रायमाझीको स्वर, शब्द तथा लय रहेको गीत ‘फर्क दाइ फर्क, हाम्रै नेपाल जापान हुन्छ दुईचार वर्ष पर्ख’ बोलको गीतले विदेशिएका नेपालीहरुलाई नेपालमै फर्किएर आफ्नै देशमा पौरख गर्न प्रोत्साहन गरेको छ । गीतले विदेशमा घण्टौँ खटेर पसिना बगाए जस्तै नेपालमै खट्नसके हाम्रै खोरियामा मोती फल्ने भाव व्यक्त गरेको छ । 

जापान, अमेरिका, अस्ट्रेलिया लगायतका विभिन्न विकसित मुलुकमा जाने शिक्षित युवावर्ग तथा मलेसिया, साउदी, कतार, लगायत खाडी मुलुकमा जानेको संख्या बढेपछि नेपालमा भने बुढाबुढी केटाकेटीमात्रै हुने वास्तविक समस्यालाई गीतमार्फत समेटिएको छ ।

वैदेशिक रोजागारको क्रममा ६० लाखभन्दा बढी नेपाली कामदार प्रवासमा रहेको सरकारी अनुमान छ । जसमा पनि प्रत्येक दिन प्रवासमा १० जनाभन्दा बढी नेपालीहरुले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार कल्याणकारी कोषले जनाएको छ । प्रत्येक दिन ४ जना भन्दा बढी नेपालीहरु कोमामा पुग्छन् कल्याणकारी कोषका संयोजक सोमनाथ सापकोटाका अनुसार विभिन्न देशका जेलमा २३ सयभन्दा बढी नेपाली कामदार विभिन्न देशका जेलमा छन् । 

विदेशमा नेपाली कामदारहरुले निकै दुःख कष्ट गरेर काम गर्न बाध्य छन् । हरेक घरबाट १ वा दुईभन्दाबढी नेपाली युवाहरु वैदेशिक रोजगारमा जान बाध्य छन् । नेपालका युवाशक्ति यसरी पलायन हुने क्रम बढिरहेको अबस्थामा सर्जक दुर्गा रायमाझीले नेपालीहरुलाई नेपालमै केही इलम गर्न आग्रह गरेका छन् । हेर्नुहोस् गीतको भिडियो – 

गीतमा वैदेशिक रोजगारीको विषयलाई उठान गरिएको हुनाले उक्त गीतको लोकार्पण कार्यक्रममा वैदेशिक रोजगारसँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रममा श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, गैह्रआवासीय नेपाली संंगठन (एनआरएन) का अध्यक्ष भवन भट्ट, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, वैदेशिक रोजगार कल्याणकारी कोषका संयोजक सोमनाथ सापकोटा लगायत विभिन्न स्रष्टासर्जकहरुको समेत उपस्थिति थियो । 

श्रममन्त्री विष्टले रायमाझीको गीत सुनिसकेपछि गीतले विदेशिएका नेपालीलाई स्वदेश फर्कन दरिलो र आशापूर्ण भूमिका खेल्ने बताए । मन्त्री विष्टले मन्त्री वा नेताहरुको भाषणले भन्दा गीतसंगीत वा कलासाहित्यको माध्यमबाट आह्वान गरिएका कुराहरुले व्यक्ति, सिंगो समाज वा राष्ट्रलाई नै सकारात्मक प्रभाव प्रभाव पार्ने बताए । कार्यक्रममा बोल्दै विष्टले आफूपनि बाध्यकारी वैदेशिक रोजगारको अन्त्य गर्न सक्दो प्रयास गरिरहेको जानकारी दिए ।

वैदेशिक रोजगार कल्याणकारी कोषका संयोजक सोमनाथ सापकोटाले कार्यक्रमा बोल्दै वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारहरुले भोग्नुपरेका दर्दनाक अबस्थाको चित्रण गर्दै, रायमाझीको गीतजस्तै प्रवासबाट नेपालीहरुलाई स्वदेश फर्कन र देशमै भएका नेपालीहरुलाई विदेश नगइ नेपालमै श्रम गर्न प्रोत्साहन हुनेखालका गीतसंगीत तथा रचनाहरु अझै धेरै सिर्जना गर्न समेत आग्रह गरेका थिए । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत स्वर्ग झैँ नेपाल छाडेर विदेश नजान गीतले प्रोत्साहन गरेको भन्दै राम्रो गीत ल्याएकोमा गीतका सर्जकलाई बधाइ समेत ज्ञापन गरे । उनले वैदेशिक रोजगारबाट आजै सबै फर्किहाल्नु भन्दा फर्किने अबस्था नभएको तर नेपालमा रोजगारीका अबसरहरु सिर्जना गरेमा लाखौँको संख्यामा नेपालीकामदारहरुलाई स्वदेशमै परिचालन गर्न सक्ने समेत बताए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष