फ्रान्सेलीहरु किन विद्रोही हुन्छन्?

२५ पौष २०७५
banner

प्यारिस (बीबीसी) । सात हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन नरोकिएपछि फ्रान्सका प्रधानमन्त्री एडवार फिलिपले अनधिकृत प्रदर्शनमा सहभागी हुने मानिसहरूलाई दण्डित गर्ने योजना अघि सारेका छन्।

प्यारिसमा नोभेम्बर महिनादेखि प्रत्येक सप्ताहान्त हुने गरेको सरकारविरोधी प्रदर्शनले गत साता पनि निरन्तरता पायो। प्रदर्शनमा सहभागी हुने अधिकांश व्यक्तिहरूले पहेँलो भेस्ट लगाउने गरेका छन्। यसपालि प्रदर्शनकारीहरूले एउटा सरकारी कार्यालयको प्रवेशद्वारमा तोडफोड गरे।

अनधिकृत प्रदर्शनहरू रोक्न र प्रदर्शनमा अनुहार छोपेर सहभागी हुन प्रतिबन्ध लगाउन सरकारले कानुन बनाउन लागेको फिलिपले बताए। उनले आउने सप्ताहअन्तमा हुने सम्भाव्य प्रदर्शन रोक्न ८० हजार सुरक्षा फौज परिचालन गरिने बताएका छन्।

आखिर फ्रान्सेलीहरू किन विद्रोह गरिरहन चाहन्छन्? पहेँलो भेस्टधारीको आन्दोलन किन चलिरहेको छ? प्यारिस निवासी फ्रान्सेली मानवशास्त्री मरी लकम्टी टिलौनको विचार।

फ्रान्सको राजधानी प्यारिसमा जारी रहेको एलो भेस्ट मुभ्मेन्ट नोभेम्बर २०१८ मा सुरु भयो। सुरक्षाका लागि लगाइने पहेँलो भेस्टलाई प्रदर्शनकारीहरूले प्रयोग गरेको हुँदा उक्त आन्दोलनको नाम समेत पहेँलो भेस्ट आन्दोलन रहन गयो जसको अग्रपङ्क्‍तिमा न कुनै पार्टी छ न त कुनै नेता।

आन्दोलनकारीका लागि सामाजिक सञ्जालले सञ्चारमाध्यमको भूमिका खेलेको छ र यसले विशेषतः ग्रामीण फ्रान्सेलीहरूलाई परिचालित गरेको छ।

आन्दोलनकारीहरूका मूलतः दुईवटा विषयमा चासो देखिएको छ।

पहिलो – क्रयशक्तिमा सुधार।

उनीहरूको विचारमा न्यून ज्यालादर, सरकारले लगाएको अत्यधिक कर र धनीहरूलाई दिइएको करसुविधाका कारण सर्वसाधारण पीडित भएका छन्।

दोस्रो – राज्यकोषमा पारदर्शिता नभएको र शासनमा नागरिकहरूको प्रत्यक्ष सहभागिता नभएको भन्दै उनीहरू असन्तुष्ट छन्।

विरोधको पृष्ठभूमि के हो
अहिले जारी आन्दोलनको उत्पत्तिबारे जान्न सन् २०१७ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनतर्फ फर्कनुपर्ने हुन्छ।

उक्त निर्वाचन हुन लाग्दा फ्रान्सका दुई ठूला दल – सोसलिस्ट पार्टी र रिपब्लिकन पार्टी – कमजोर अवस्थामा थिए।

सोसलिस्ट पार्टीलाई उसले नेतृत्व गरेको अघिल्लो सरकारले कमाएको अलोकप्रियताले सताएको थियो। र चुनावको ठिक अघि उसको निवर्तमान राष्ट्रपतीय उम्मेदवारले गरेका भ्रष्टाचारहरू खुलासा भएका कारण रिपब्लिकन पार्टी अप्ठेरोमा परेको थियो।

त्यसकारण निर्वाचनको परिणाम दक्षिणपन्थी पार्टीका उम्मेदवार र एम्मानुएल माक्रोँबीच गर्नुपर्ने चयनबाट प्रभावित थियो।

माक्रोँको जित त भयो तर असाध्यै धेरै मानिसहरु मतदानमा सहभागी नभएकाले उनको जित धमिलिएको थियो।

कुल २० प्रतिशत मानिसहरूले भने फ्रन्ट न्याश्नलको बाटोमा तगारो बन्नकै निम्ति र केही अन्यले भने आर्थिक सुदृढीकरणको आशामा माक्रोँलाई मत दिएका थिए।

सत्तामा आएपछि पहिलो वर्षमा सरकारले थुप्रै अलोकप्रिय निर्णयहरू गर्‍यो।

तीमध्ये सम्पत्तिकर उन्मूलन, सहायक सडकमा साबिकबाट घटाएर कायम गरिएको प्रतिघण्टा ८० किलोमिटर को गति, पेन्सनमा लगाइएको अतिरिक्त कर लगायतका थिए। फ्रान्सेली राष्ट्रपतिले फ्रान्सेलीहरूप्रति आपत्तिजनक टिप्पणीसमेत गरे।

निर्वाचन सकिएको एक वर्षपछि राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षा अधिकारीहरूमध्येका एकमाथि नामाङ्कन गरिएको बेनेला अफेयरले मानिसहरूलाई थप क्रुद्ध बनायो।

त्यसलगत्तै एक लोकप्रिय दार्शनिकमाथि राष्ट्रपति माक्रोँले आफूप्रतिको सद्भावनाको फाइदा उठाएको विषयमा निन्दा गरेपछि उनीमाथि प्रतिबन्ध लगाइयो जसले पनि जनतालाई थप चिढ्यायो।

लगत्तै अक्टोबरमा प्रधानमन्त्री जेरार्ड कोलम्बले राजीनामा गरे। त्यसको केही दिनपछि पर्यावरण मामिलाका लोकप्रिय मन्त्री निकोलस हुलोटले पनि राजीनामा गरे। उनले सरकारले आफूलाई सहयोग नगरेको आरोप लगाएका थिए।

फ्रान्सको अवस्था अहिले कस्तो छ?

हाल फ्रान्समा बेरोजगारी नघटेको तर मुद्रास्फीति भने दुई प्रतिशतले बढेको बताइन्छ।

सरकारी कर्मचारीहरूको तलब रोकिएपछि र आंशिक रूपमा पेन्सन रोकिएपछि फ्रान्सेलीहरूको क्रयशक्ति थप बिग्रिएको थियो। सरकारले विश्वव्यापी तापमानवृद्धिका कारण ऊर्जा खासगरी डिजेलमा कर बढाएको छ।

यो विरोधप्रदर्शन सुरु गराउने कारक बन्यो।

पहेँलो भेस्टधारीहरूले आफूहरूलाई संसारको भन्दा महिनाको अन्त्यमा के खाने भन्ने चिन्ता रहेको र गाडी प्रयोग गर्नुको विकल्प आफूहरूसँग नरहेको बताएका छन्।

अक्टोबर महिनाको अन्त्यतिर र नोभेम्बर महिनाको बीचतिर गरिएको एउटा विरोध अपिलमा १० लाखभन्दा बढी मानिसहरूले समर्थन व्यक्त गरेका छन्।

राष्ट्रपतिले राष्ट्रिय ढुकुटीलाई के गरिरहेका छन् भन्ने प्रश्न गरिएको एक महिलाले राखेको भिडियो इन्टर्नेटमा निकै चर्चित हुन पुग्यो।

सरकारको विरोधमा नोभेम्बर १७ शनिवारका दिन सुरु गरिएको सडक, चोक र नाका अवरुद्ध गर्ने काम सामाजिक सञ्जाल फेसबुकका विभिन्न समूहमा फैलिएको थियो। त्यस दिन सम्पन्न भएको विरोधप्रदर्शनको कार्यक्रम नै पहेँलो भेस्ट आन्दोलनको पहिलो दृश्य बन्न पुग्यो।

त्यसपछिका केही साताका हरेक शनिवार प्रदर्शनकारीहरूले प्यारिसका धनी मानिसहरू बस्ने क्षेत्रहरूमा आक्रमण गरे।

हिंसात्मक बन्दै गएका दोस्रो र तेस्रो दृश्य सरकारलाई हल्लाउन सफल भए।

आन्दोलन यति धेरै हिंसात्मक थियो कि सरकारले प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न बख्तरबन्द गाडीहरूको प्रयोग गर्नु पर्‍यो।

चौथो प्रदर्शनको क्रममा सरकारले १७ सयभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गर्‍यो।

हिंसात्मक आन्दोलनका कार्यक्रमहरू नरोकिएपछि र उक्त आन्दोलन राष्ट्रपतिनिकट व्यक्तिहरूप्रति लक्षित हुन थालेको चार शनिवार पछि माक्रोँले राष्ट्रको नाममा सम्बोधन गरे जसलाई दुई करोड जनताले हेरेका थिए।

उक्त भाषणमा माक्रोँले पहिला दुःख व्यक्त गर्नमा खर्चे भने त्यसपछि केही योजनाहरू सार्वजनिक गरे।

त्यसमा पहिले जस्तै सबैभन्दा थोरै निवृत्तिभरण बुझ्नेहरूलाई करमा छुट दिने, गरिबहरूका लागि क्रिस्मस बोनसमा कर छुट दिने र अवसर नपाएकाहरूलाई राहत बढाउने योजना समाविष्ट थिए।

राष्ट्रपतिको घोषणामा एउटा विषय भने नयाँ थियो।

उनको प्रस्तावमा नागरिकहरूको सक्रियतामा जनमत सङ्ग्रह भनिएको छ जसले सहभागितामूलक प्रजातन्त्रको ढोका खोल्न नागरिकहरूबीच एउटा महत्त्वपूर्ण बहस गराउन सक्छ।

पहेँलो भेस्टधारीहरूको पनि यही माग छ।

त्यसपछि डिसेम्बर १५ तारिखका दिन भएको पाँचौँ प्रदर्शनमा सहभागीहरू केही कम भए।

के यसको मतलब राष्ट्रपति माक्रोँले गरेको प्रस्तावले आन्दोलनकारीहरूलाई थामथुम पार्न सफल भएको हो? वा स्ट्रास्बर्गमा डिसेम्बर १३ मा भएको आतङ्कवादी आक्रमणपछि प्रदर्शनकारीहरूलाई प्रदर्शन नगर्न गरिएको आग्रह मानिसहरूले सुने? वा क्रिस्मस पर्व आएकोले त्यसो भएको हो? के त्यो आन्दोलन फ्रान्सेली सीमाभन्दा बाहिर जाला?

यसबारे कसैलाई थाहा छैन।

तर के कुरा निश्चित हो भने यस आन्दोलनले पहेँलो रङ्गको नयाँ प्रतीक बनाएको छ, जसलाई सजिलै देख्न सकिन्छ।

त्यसैले यो पहेँलो भेस्टका अनेक गुण छन्। भेस्ट लगाएरै ठूलो सङ्ख्यामा मानिसहरू अभियानमा जुट्न सक्छन् अथवा अभियानको समर्थनमा आफ्नो कारको अगाडि यस्तो भेस्ट टास्न सक्छन्।

फ्रान्सेली क्रान्तिको झझल्को
जक्रेरीसमेत भनेर चिनिने किसान आन्दोलनले १७८९ को फ्रान्सेली क्रान्तिको सम्झना दिलाउँछ।

उक्त क्रान्तिले फ्रान्समा राजतन्त्रको अन्त्य गरेको थियो। सो क्रान्तिजस्तै हालको आन्दोलनले नयाँ किसिमको अभिजात वर्ग, विश्व अर्थतन्त्र र राजनीतिक रूपमा कुलीन वर्गको विरोध गर्दछ।

हालको आन्दोलनले फ्रान्सेली क्रान्तिको सम्झना किन पनि गराउँछ भने प्यारिस कम्युनबाट आरम्भ भएको मार्क्सेली क्रान्तिविपरीत यसलाई न त कुनै श्रमिक वर्गले नेतृत्व गरेका छन्, न त कुनै पार्टी वा मजदुर सङ्गठनले पर्यवेक्षण।

त्यो अभिजात वर्ग विश्वव्यापी रूपमा आर्थिक र राजनीतिक सम्भ्रान्त वर्ग हो जसले पुरानो पुरानो शासनकाल सम्झाउँछ, जसको सञ्जाल प्रभाव युरोपभरि छरिएर रहेको छ।

आन्दोलनले पुराना क्रान्तिहरूको सम्झना पनि गरेको छ। एलो भेस्टको फेसबुकमा १७८९–२०१९ उल्लेख गरिएको छ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l