एसिया प्यासिफिक समिटको सरकारद्वारा ‘धुवाँधार’ बचाऊ

२० मङ्सिर २०७५

banner

काठमाडौं । काठमाडौंमा हालै सम्पन्न भएको एसिया प्यासिफिक समिटमा सरकार र प्रधानमन्त्री केपी ओली स्वयमको भूमिकालाई लिएर चर्को विवाद भइरहेका बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले त्यसको बचाऊ गरेका छन् । 

समिट ठिक थियो भनेर बचाऊ गर्नुभन्दा पनि उनले मिडियाले तथ्य तोडमोड गरेको भन्दै समिटको बचाऊ गरे । उनले पूर्वप्रधानमन्त्रीहरु गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टारईले पनि त्यस्तो समिटमा सहभागिता जनाइसकेको भन्दै ओलीले सहभागिता जनाउँदा कसरी ‘अपवित्र’ भयो भनेर प्रश्न गरे । 

सञ्चारमाध्यमप्रति निकै आक्रमक देखिएका मन्त्री बाँस्कोटाले केही सञ्चारमाध्यले मिसन नै बनाएर खेदेको बताए। यद्यपी सरकार स्वतन्त्र प्रेसको पक्षमै रहेको भने भन्न छुटाएनन् । बिहीबारको नियमित पत्रकार सम्मेलनको शुरुमै बाँस्कोटाले क्याविनेटका निर्णयबाहेक अरु पनि भन्नु छ भनेर सञ्चारमाध्यमप्रति आक्रमक हुने संकेत गरेका थिए । 

निर्मला पन्तबारे प्रश्न उठ्नासाथ उनी सञ्चारमाध्यमप्रति खनिए । निर्मला पन्तको पोस्टर च्यातेको विषय र प्यासिफिक समिटको विषयलाई जोडेर उनले सरकार अब जता पनि भेटिने बताए । उनले भने, ‘सरकार कहाँ छ भनेर प्रश्न उठिरहेको छ, अब सरकारले मिति तोकर त भन्न सक्दैन, तर सरकार भेटिन्छ ।’ 

सरकारको बचाउ गर्न प्यासिफि समिटमा पूर्व प्रधानमन्त्रीहरुले पनि सहभागिता जनाएको विषय उठाएका मन्त्रीले सञ्चारमाध्यमले तोडमोड गरेको विषय पुष्टि गर्न भक्तमान श्रेष्ठ र दिलशोभा प्रकरणलाई उदाहरण बनाए । यी दुबै विषयमा एक सञ्चारमाध्यम चुकेको थियो । मन्त्री बाँस्कोटाले सञ्चारमाध्यम पनि जवाफदेही हुनुपर्ने बताए । 

उनले सञ्चारमाध्यमले तथ्य तोडमोड गरेर अरुलाई पीडा दिएको भन्दै त्यस्तो पीडा दिँदा केहीलाई खुसी लागे पनि भविश्यमा आफै खस्किने बताए । 

प्रधानमन्त्री ओलीले बुधबारको एक टेलिभिजन अन्तर्वार्तामा ‘बुद्धिजिवीलाई थला पार्ने’ अभिव्यक्ति दिएको भए पनि मन्त्री बाँस्कोटाले त्यसलाई ठाँडै अस्वीकार गर्दै बहसमा थला पार्ने भनेको बुद्धिजिवीलाई थला पार्ने नभनेको बताए । 

यही मंसिर १४ र १५ मा राजधानीमा यूनिभर्सल पीस फेडरेसनको आयोजनामा राजधानीमा सम्पन्न भएको एसिया प्यासिफिक समिटमा सरकारको भूमिका र प्रधानन्त्रीले ग्रहण गरेको अवार्डका विषयमा चर्को आलोचना भइरहेको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष