अमेरिकी निर्वाचनमा विजयी ह्यारी भण्डारीको विगतदेखि वर्तमानसम्म

२१ कार्तिक २०७५

banner

खेम भट्टचन / कविन्द्र सिटौला 


वाशिंगटन डिसी। अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। स्टेट डेलिगेट पदमा पहिलो पटक नेपाली मुलका भण्डारी निर्वाचित भएका हुन्।   

नेपालीहरुको बाक्लो बस्ती भएको म्यारिल्याण्ड राज्यको बाल्टिमोर निर्वाचन क्षेत्र नम्बर ८ को स्थानीय सांसद स्टेट डेलिगेट पदमा मंगलबार भएको निर्वाचनमा अमेरिकन उम्मेद्वारलाई पराजित गर्दै नेपाली मुलका भण्डारीले २० हजार ९ सय ७७ मत ल्याएर निर्वाचित भए।  अमेरिकी प्रतिपक्ष दल डेमोक्र्याटिक पार्टीबाट  उम्मेद्वार भएका भण्डारी विजयी भएका हुन्।

१३ वर्ष पहिले सन् २००५ सालको आदि कवि भानु जयन्तीमा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक पुरुष्कार थाप्न अमेरिका प्रवेश गरेका ह्यारी भण्डारी साहित्य समाजका खेम भट्टचनको सहयोगमा भर्जिनियाको उडब्रिजबाट अमेरिकी बसाइ शुरु गरेर पछि म्यारिल्याण्डको बाल्टिमोरलाई कर्मथलो बनाएका हुन्।   तिक्ष्ण दिमाग भएका भण्डारीले अमेरिकाको नागरिकता पाएपछि  डेमोक्र्याटिक पार्टीमा सक्रिय भएका थिए।

    

 

नेपालमा पर्बत जिल्लाको कार्की नेटा नजिकै थापाथना भन्ने गाउँका भण्डारी अमेरिका जानु अघि नेपालमा एक बोर्डिङ हाईस्कुलको प्रिन्सिपल र नेशनल प्याब्सनको महासचिव थिए।  

त्रिभुवन विश्वविद्यायलयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका  भण्डारीले म्यारिल्याण्ड युनिभर्सिटीबाट पनि अंग्रेजीमै मास्टर्स गरेका छन्।  पेशाले बाल्टिमोरको होमल्याण्ड सेक्युरिटी हाईस्कुल र बाल्टिमोर कम्युनिटी कलेजमा अंग्रेजी साहित्य पढाउँ छन्।  अमेरिकनलाई अंग्रेजी साहित्य पढाउने तिक्ष्ण बुद्धि भएका भण्डारी अमेरिकाको स्थानीय सांसद स्टेट डेलिगेट पदमा निर्वाचित हुने पहिलो नेपाली बन्न पुगेका छन्।  

 

 

अमेरिकाका अधिकांश राज्यमा एकसाथ भएको  प्रतिनिधिसभाको निर्वाचनको नतिजा घोषणा भएपछि  बाल्टिमोरको माउन्ट एभरेस्ट रेस्टुरेन्टमा मध्य रातमा आयोजित विजय सभामा भण्डारीका आमा बुवाले  छोरालाई टिका लगाइ दिएर आशीर्वाद दिएपछि उपस्थित नेपालीले लामबद्ध भएर भण्डारीलाई अबिर  र खादा लगाइ दिएर बधाइ दिएका थिए।  

 

 

चुनाव प्रचार प्रसार समितिका संयोजक अर्जुन हमालले चुनावको दिन म्यारिल्याण्ड, वाशिंगटन डिसी, देलावेर, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, भर्जिनियालगायत राज्यबाट आएर २५ वोटा मतदान केन्द्रहरुमा बिहानको ६ बजेदेखि राति ९ बजेसम्म खटेका डेढ सय नेपाली स्वयं सेवकको नाम पढेर सुनाएका थिए।  

बाल्टिमोरका वरिष्ठ  बुद्धिजिवी डा. श्याम कार्कीले चुनावमा सहयोग गरेका सबैलाई धन्यवाद दिएका थिए। विजय समारोह पत्रकार गौतम दाहालले संचालन गरेका थिए।  डिसी नेपालले मतदानको बिहानदेखि मध्येरात सम्मै प्रत्यक्ष प्रशारण गरेको थियो।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »