के मानव जातिले अर्को शताब्दी देख्न पाउँछ?

३० चैत्र २०७५
banner

बीबीसी । अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्।

दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्।

सबैभन्दा ठूलो खतरा

अक्सफर्डका फ्यूचर अफ ह्यूम्यानिटिज इन्स्टिट्यूटसँग जोडिएका शोधकर्ता एन्डर्स स्यान्डवर्गका अनुसार ‘मानव जातिको अगाडि त्यस्तो खतरा छ जसले पुरै कथा सिध्याउँछ’।

बीसौं शताब्दीसम्म हामी सोच्थ्यौँ कि हामी एकदमै सुरक्षित छौँ तर अहिलेको अवस्था परिवर्तन भइसकेको छ। मानव जातिको विनाशको खतरा चिन्ताजनक रुपमा बढिरहेको छ।

सन् १९८० को दशकसम्म आकाशबाट झर्ने उल्का पिण्डका कारणले धर्तीमा विनास हुनसक्छ भन्ने सोच थिएन्। तर त्यही दशकमा वैज्ञानिक बाबु(छोरा लुईस र वाल्टर एवारेजले उल्का पिण्डको कारणले डाइनोसर लुप्त भएको अवधारणा अगाडि सारे।

जब मेक्सिकोको यूकटान प्रायस्द्वीपमा एउटा ठूलो खाल्डो पत्ता लाग्यो, त्यसपछि वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूहले पनि हालै त्यो अवधारणाको समर्थन गरेका छन्। उल्का पिण्डसँग ठोक्किएर हुने विनाशको सम्भावना टाढा भए पनि तुलनात्मक रुपमा हामी आफैँले त्यसको खतरा निम्त्याइरहेका छौँ।

जनसङ्ख्याको अतिवृद्धि, स्रोतको क्षय र जलवायु परिवर्तन

जलवायु परिवर्तनका कारण आउने खतरासँग हामी परिचित छौँ तर लण्डन विश्वविद्यालयका शोधकर्ता करिन हुल्हेमनले जनसङ्ख्या वृद्धिमाथि आफ्नो ध्यान लगाएकी छन्।

घट्दो प्राकृतिक संसाधनबारे सायदै चर्चा छ किनभने हामीलाई त्यो नराम्रो लाग्छ र नराम्रा कुराहरू हामी सोच्नै चाहदैनौँ। करिनका अनुसार जलवायु परिवर्तनमा जनसङ्ख्या वृद्धिको खास असर छ। किनभने संसाधन दोहन पनि बढिरहेकोले त्यो सकिँदै छ। जनसङ्ख्या वृद्धि नरोकिएसम्म जलवायु परिवर्तन रोक्नु भनेको असम्भव कुरा हो।

जैविक विविधताको विनाश

केही शोधकर्ताका अनुसार यो शताब्दीको मध्यतिर पुग्दा व्यवसायिक माछा पालनका लागि समुद्रमा पर्याप्त माछा बाँकी रहने छैनन्। यसको मतलब पसलहरूमा किन्नका लागि माछा वा त्यसको तरकारी पाइने छैन। किरा फट्याङ्ग्रा पनि तीव्ररूपमा हराइरहेका छन् र आहारका लागि किरा फट्याङ्ग्रामा निर्भर चराका प्रजातिहरू पनि कम हुँदैछन्।

करिन भन्छिन्ः ‘नासिँदै गएका जैविक विविधताको असर के हुन्छ भन्ने बारेमा हामीलाई थाहा छैन तर यस्तो लाग्छ यसको सबैभन्दा नराम्रो असर हामीलाई पर्नेवाला छ।’

माहुरीको सङ्ख्यामा आएको कमीले खतराको सङ्‍केत गरिसकेको छ

महामारी

क्याम्ब्रिजको सेन्टर फर एक्सटेन्सियल रिस्कसँग जोडिएकी ललिथा सुन्दरम् जैविक विविधताको खतराबारे अध्ययन गरिरहेकी छन्। उनी भन्छिन्ः सन् १९१८ मा स्प्यानिश फ्लूको महामारीका बेला गरिएको एउटा अनुमान अनुसार करिब आधा जनसङ्ख्या यसको चपेटामा परेका थिए र पाँचदेखि १० करोड मानिसको ज्यान गएको थियो।

महामारी त्यतिबेला हुन्छ जब ठूलो स्तरमा मानिसहरू विस्थापित हुन्छन्। त्यो समयमा पनि मानिसहरूलाई युद्धबाट फर्काइँदै थियो र उनीहरू एकदमै नजिकै बस्थे। यद्यपि हामी खोपहरू विकास गर्न सक्षम भइसकेका छौँ तर विश्वव्यापीकरणले खतराहरू निम्त्याएको छ।

स्प्यानिश फ्लूका बेला मानिसहरू रेल र डुङ्गाबाट यात्रा गर्थे। तर अहिलेको हवाईयात्राको युगमा विनाशकारी असरहरूसहित रोग अझै छिटो फैलिन सक्ने आशङका गरिएको छ।

फ्लू भाइरसमा लगातार प्रतिरोधी शक्ति बढ्दै जानु वैज्ञानिकहरूका लागि चुनौती बनेको छ

व्यक्ति व्यक्तिबाट खतरा

मानव निर्मित धेरै विनाशहरू अन्जानमै भएका हुन्छन् तर विज्ञान र प्रविधिको विकासको युगमा विनाशकारी हमलाहरूको सम्भावना बढी हुन्छ।

उदाहरणका लागि ‘सिन्थेटिक बायोलोजी’ प्रयोग गरिने प्रयोगशालाले ज्यानै लिनसक्ने भाइरस बनाउँछ। फ्यूचर अफ लाइफ इन्स्टिट्यूटका शोधकर्ता फिल टोरेजका अनुसार यदि कुनै विनाशकारी बटनले सबै कुरा नष्ट गरिदिनसक्छ भने त्यस्ता मानिसको कमी छैन जो त्यस्तो बटन थिच्न चाहन्छन्।

त्यसरी बटन थिच्ने जापानमा जस्तै धार्मिक कट्टरपन्थी हुनसक्छन्। यद्यपि फिलका अनुसार सार्वजनिक ठाउँमा अन्धाधुन्ध गोलाबारी गर्नेहरू जस्ता मानिसबाट पनि खतरा हुन्छ जो मानव जातिको विनाशलाई लिएर आफ्नै कारणले प्रेरित हुन्छन्।

त्यस्तो बटन थिच्नेहरूको सङ्ख्या कति होला?

एक अनुमान अनुसार अहिलेको समयमा दुनियाँमा मानसिक विरामीको सङ्ख्या ३० करोड हुनसक्छ जसमध्ये धेरैजना खतरा बन्न सक्छन्।

परमाणु युद्ध

परमाणु युद्धले सम्भवत हामीलाई खत्तम गर्न सक्दैन तर त्यसपछिको असरले गर्न सक्छ।

ग्लोबल क्याटास्ट्रोफिक रिस्क इन्स्टिट्यूटका सेथ बामका अनुसार परमाणु विस्फोटबाट जलेको शहरमाथि उड्ने धुलो वायुमण्डलको धेरै माथि जानसक्छ। यो धुलो दशकौंसम्म त्यहाँ बस्छ र सूर्यका किरणलाई रोक्न सक्छ।

परमाणु युद्धका कारण पहिला ठूलो स्तरमा विनाश हुनसक्छ। त्यसपछि आर्थिक बाधाहरू अनि अन्तत विश्वव्यापीरूपमा पर्यावरणीय असरहरू पर्नसक्छ।

सन् १९७१ मा फ्रान्समा परमाणु बम परीक्षण गर्दाको दृश्य।

आर्टीफिसियल इन्टेलिजेन्स

कृत्रिम खतरा विभिन्न तरिकाबाट निम्तिन सक्छ। कम्प्यूटरको गणनामा खराबी भएर पुरै दुनियाँको शेयर बजार धराशायी हुनसक्छ जसका कारण आर्थिक व्यवस्था नष्ट हुन्छ र मानिसको नियन्त्रणबाट बाहिर जान सक्छ।

तर एउटा कुरा जसका कारण विज्ञ चिन्तित बनेका भनेको डीप फेक भिडिओ हो जसमा जो कसैको पनि साँचो जस्तो लाग्ने भिडिओ बनाउन सकिन्छ। कसैले एउटा एक विश्व नेताले अर्कोलाई धम्की दिएको मिथ्या भिडिओ बनाउन सक्छ र दुई परमाणु शक्तिबीच तनाव बढाउनसक्छ।

यस्तो खालको प्रविधि छ र मिथ्या सामग्रीको पहिचान थप कठिन बन्दै गइरहेको छ।

हाम्रो सभ्यता कति सङ्‍कटमा छ?

यसको उत्तर कुन खतराको कुरा भइरहेको छ भन्ने कुरामा भर पर्छ। तर करिन ठान्छिन् जनसङ्ख्या वृद्धि सबैभन्दा ठूलो समस्या हो। उनी भन्छिन्, ‘परिवारसँग जोडिएको सामाजिक तरिका बदल्न आवश्यक छ। र, हामीलाई चाहिए जति बच्चा जन्माउन र मन लागेको गर्न स्वतन्त्र छौँ भन्ने सोच बदल्न जरुरी छ।’

यसरी हामी विश्व विनाश रोक्नलाई आफ्नो भूमिका निभाउन सक्छौं। यो शताब्दी हाम्रो जातिको अन्तिम शताब्दी नहोस् भन्नका लागि हामीले यी खतराहरूलाई गम्भीर रुपमा लिन आवश्यक छ। भविष्य ढुङ्गामा लेखिएको अक्षर होइन। यस्ता धेरै चीज छन् जुन हामी गर्न सक्छौँ र अब हामीले त्यो कदम उठाउने बेला आएको छ।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |