पाकिस्तान आर्थिक संकट : आईएमएफले राख्यो कडा शर्त

२६ आश्विन २०७५

banner

एजेन्सी। आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई ऋण दिने विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्ना शर्त पूरा गरेमात्र ऋण दिने बताएको छ । 

आईएमएफसँग पाकिस्तानले करिब १० अर्ब डलर बरारको सहुलियत ऋण सहायता मागेको छ । सो विषयमा जानकारी दिँदै आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टीन ल्यागार्डले भनिन्, ‘पाकिस्तानको वर्तमान विदेशी ऋणको अवस्थाबारे हामीलाई जानकारी दिनुपर्छ ।’ उनले ऋण लिने देशको आर्थिक अवस्थाबारे आईएमएफलाई जानकारी हुनुपर्ने बताइन् । 

उनको यस्तो भनाईलाई ऋण चुक्ता गर्ने अवस्था रहेको भेटिएमात्र ऋण दिइने आईएमएफको संकेतका रुपमा बुभिएको छ ।

पाकिस्तान हाल गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । इमरान खान सरकारले खर्च कटौतीलाई व्यापक बनाउँदै आर्थिक संकटसँग संघर्ष गर्ने बताइरहेका छन् । उनले यो विषयमा केही आवश्यक निर्णय पनि गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले आईएमएफसँग ऋण सहायता लिने बताएका थिए । 

पाकिस्तानी करेन्सीको अवस्था नाजुकसमेत बनेकाले पाकिस्तानको व्यापारघाटा निकै बढेको छ । यस्तै पाकिस्तानमा संचित डलर पनि निकै कम भएको र सो डलरले दुई महिनाका लागि पनि वस्तु तथा सेवा आयत गर्न सक्ने क्षमता रहेको विभिन्न संचारमाध्यमले जनाएका छन् । 
आर्थिक रुपमा संकटमा परेपछि पाकिस्तानले आईएमएफको ढोका घचघच्याएको हो ।

तर, आईएमएफको शर्तपछि भने पाकिस्तानको संकट थप बढ्ने अनुमान गरिएको छ । किनभने चीन र पाकिस्तानबीचको सम्बन्धलाई भारत तथा पश्चिमाहरुले अपारदर्शी र नकरात्मक ढंगले बुझ्ने गर्छन् । आईएमएफको शर्तअनुसार पाकिस्तानले चीनसँगको ऋणबारे पनि जानकारी दिनुपर्ने हुन्छ । जुन कुरा उसका लागि समस्या हुनसक्छ ।

एक अनुमानका अनुसार चीनको वन रोड एन्ड बेल्ट  परियोजनाअनुसार चीनले पाकिस्तानमा करिब ६० अर्ब डलर बराबरको ऋण लगानी गरेको छ । तर, पाकिस्तानले सो ऋणलाई घटाएर २ अर्ब डलरमा झारेको सूचनाहरु पनि सार्वजनिक भएका छन् ।

तर, चीन र पाकिस्तानबीचको सम्बन्ध सँधै अपारदर्शी मानिएकाले वास्ताविक ऋणबारे कसैलाई जानकारी छैन ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »