भारतमा किन गर्भाशाय फाल्दैछन् महिलाहरु?

२३ अषाढ २०७६
banner

नयाँ दिल्ली (बीबीसी) । भारतमा पछिल्ला महिनामा कामकाजी महिला र महिनावारीसँग सम्बन्धित दुईवटा चिन्ताजनक समाचार सार्वजनिक भएका छन् । लामो समयदेखि त्यहाँ महिनावारी एउटा प्रतिबन्धित विषयजस्तो रहिआएको छ । महिनावारी हुने बेला महिलाहरूलाई अपवित्र ठानिन्छ र उनीहरूलाई सामाजिक तथा धार्मिक कार्यक्रमबाट अलग राखिन्छ । हुन त शहरका महिलाहरूबाट पछिल्ला वर्षहरूमा यो पुरातनवादी सोचलाई निरन्तर चुनौती दिइँदैछ । 

तर यी दुई घटनाबाट महिनावारीसँग सम्बन्धित भारतको यो समस्या अझै कायमै रहेको स्पष्ट हुन्छ । खासगरी गरीब र अशिक्षित परिवारका महिलाहरूलाई यस्तो विकल्प रोज्न लगाइन्छ, जसको असर उनीहरूको जीवन र स्वास्थ्यमाथि लामो तथा स्थायी रूपमा पर्न जान्छ । पहिलो घटना महाराष्ट्रको हो जहाँ विगत तीन वर्षमा हजारौँ महिलाले गर्भाशय झिक्न शल्यक्रिया गराउनुप¥यो । उनीहरूले शल्यक्रिया यसकारण गराउनुप¥यो ताकि उखुबारीमा उनीहरूले काम पाउन सकून् । प्रत्येक वर्ष सोलापुर, साङ्ली, उस्मानाबाद र बीडजस्ता जिल्लाबाट दशौँ हजार गरीब परिवारका मानिस सम्पन्न पश्चिमी क्षेत्र पुग्छन्, जहाँ उनीहरू उखुबारीमा छ महिनासम्मका लागि काम पाउँछन् । त्यहाँ पुगेपछि उनीहरूको जिन्दगी लालची ठेकेदारहरूको हातमा हुन्छ, जसले उनीहरूमाथि शोषण गर्ने कुनै मौका छाड्दैनन् । 

उखु काट्ने काममा निकै मेहनत हुन्छ । अतः उनीहरूलाई काम दिन ठेकेदारहरू अनिच्छुक हुन्छन् । र, अर्को कारण महिनावारी हुने बेला महिला कामदारहरू एक–दुई दिन काममा जाँदैनन् । काममा एक–दुई दिन गयल हुँदा पनि उनीहरूले जरिवाना तिर्नुपर्छ । काम गर्ने ठाउँमा उनीहरू बस्ने सुविधा एकदम दयनीय छ, खेतनजिकै बनाइएका झुपडी अथवा पालमुनि उनीहरू बस्नुपर्छ । त्यहाँ शौचालय पनि हुँदैन भने कहिलेकाहीँ राति पनि उखु काट्नुपर्ने हुँदा सुत्ने र उठ्ने समय पनि निश्चित हुँदैन । र, महिनावारी हुने बेला महिलाहरूलाई झन् गाह्रो हुन्छ । राम्ररी सरसफाइ गर्न नपाउँदा अधिकांश महिलालाई संक्रमण हुन्छ । 

सो क्षेत्रमा काम गर्ने सामाजिक कार्यकर्ताहरूका अनुसार त्यस्ता महिलाहरू डाक्टरकहाँ पुग्दा लालची डाक्टरहरूले आवश्यक नै नभएको शल्यक्रिया गराउन भन्छन्, भलै औषधिले निको हुने समस्या किन नहोओस् । सो क्षेत्रमा अधिकांश महिलाको कम उमेरमै बिहे हुन्छ । २० देखि ३० वर्षको उमेरमा उनीहरू दुई–तीन बच्चाकी आमा भइसकेका हुन्छन् । गर्भाशय फाल्ने शल्यक्रियासँग सम्बन्धित समस्याबारे डाक्टरहरूले नबताउने भएपछि ती महिलाहरू गर्भाशयबाट मुक्ति पाउनुलाई नै उपयुक्त विकल्प ठान्न पुग्छन् । यो कारणले ती क्षेत्रका अधिकांश गाउँ ‘गर्भाशयविहीन महिलाहरूको गाउँ’ मा परिणत हुन पुगेका छन् ।

गत महिना महाराष्ट्रको विधानसभामा जब विधायक निलम गोरहेले यसबारे प्रश्न उठाए तब राज्यका स्वास्थ्यमन्त्री एकनाथ शिन्देले गत तीन वर्षमा बीड जिल्लामा मात्रै ४,६०५ जना महिलाले गर्भाशय फाल्न लगाएको स्वीकारे । हुन त उनले ती महिलाहरू उखुबारीमा काम गर्ने मात्रै नभएको दाबी गरे । मन्त्रीले घटनाहरूबारे छानबिन गर्नका निम्ति एउटा समिति गठन गरिएको पनि जानकारी गराए । बीड जिल्लाको वन्जारवाडी गाउँ पुगेकी बीबीसी मराठीकी प्रजाक्ता धुलप भन्छिन्, ‘प्रत्येक वर्ष अक्टोबरदेखि मार्च महिनाको बीचमा ८० प्रतिशत गाउँले उखुबारीमा काम गर्न आफ्नो गाउँ छाड्छन् । यो गाउँमा आधाजति महिलाको गर्भाशय निकालिसकिएको थियो । तीमध्ये अधिकांश ४० वर्षभन्दा मुनिका थिए भने केही ३० वर्षभन्दा पनि मुनिका थिए ।

एकजना महिलाले गर्दन, पिठ्यूँ र घुँडामा निरन्तर दुख्ने समस्या भइरहने र बिहान उठ्दा हातखुट्टा तथा अनुहारमा सुन्निने समस्या देखिएको बताइन् । अर्की महिलाले आफूलाई रिँगटा लाग्ने र टाढासम्म हिँड्दा गाह्रो हुने गरेको सुनाइन् । ती कारणले उखुबारीमा अब काम गर्न पनि असमर्थ भएको उनीहरूले दुखेसो गरे । 

अर्को समाचार पनि त्यति नै चिन्ताजनक छ र त्यो तामिलनाडुसँग सम्बन्धित छ । त्यहाँ अर्बौँ रुपैयाँको कारोबार गर्ने गार्मेन्ट उद्योगमा काम गर्ने महिलाहरूलाई महिनावारी हुने बेला छुट्टी दिनुको सट्टा ‘लेबल’ नभएका औषधि दिइन्छ । थम्सन रोयटर्स फाउन्डेसनको एउटा रिपोर्ट अनुसार ती औषधि कुनै अनुभवी चिकित्सकको परामर्श विनै दिइन्छन् ।

एक सयजना महिलासँगको अन्तर्वार्ताका आधारमा उक्त रिपोर्ट तयार पारिएको हो । अधिकांश महिला गरीब परिवारबाट हुन्छन् र उनीहरूका अनुसार महिनावारी हुने बेला पीडाकै कारण काम छाड्न सम्भव हुँदैन ।

अधिकांश महिलाले आफूहरूलाई औषधि दिइने बेला तिनको नाम नभनिएको अथवा त्यसका असरबारे जानकारी नगराइएको बताए । अधिकांश महिलाले औषधिका कारण बेचैनी हुने र पिसाबमा समस्यादेखि स्वास्थ्यमा कैयौँ असर देखिएको बताए । यी विवरणहरू सार्वजनिक भएपछि कारबाही गर्न स्थानीय प्रशासनमाथि दबाव सिर्जना भयो । राष्ट्रिय महिला आयोगले महाराष्ट्रमा महिलाहरूको स्थिति ‘निकै पीडादायी र दयनीय’ रहेको बतायो र त्यस्तो उत्पीडन रोक्न राज्य सरकारलाई निर्देशन पनि दियो ।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |